निषेधाज्ञा लागू नगर्ने ‘खोटाङ र मनाङ’ : कसरी गर्दै छ कोरोना नियन्त्रण ?

­नारायण ढुङ्गाना, काठमाडौँ, ९ जेठ ः विश्वयापी महामारीको रुपमा फैलिएको कोभिड­१९ सङ्क्रमण नियन्त्रणमा अहिले मुलुक नै केन्द्रित छ ।

प्राप्त विवरणमा आजसम्म ७५ जिल्लाले निषेधाज्ञा जारी गरी अत्यावश्यक बाहेकका गतिविधि रोक्दै सङ्क्रमणको साङ्लो तोड्ने प्रयास गरिरहेका छन् । त्यसबाट केही सकारात्मक परिणाम देखिएपनि अझै सङ्क्रमण दर नियत्रणमा आशातित उपलब्धि हुन सकिरहेको छैन ।

अहिले पनि दैनिक झण्डै आठ हजारको हाराहारीमा सङ्क्रमित फेला परिरहेका छन् । निको हुने दरमा केही वृद्धि भइरहेपनि मृत्युदर अझै घटन सकिरहेको छैन । मुलुकमा दैनिक १५० भन्दा माथि नै मानिसको ज्यान गइरहेको छ ।

कोरोनाको दोस्रो लहरको फैलँदो क्रमसँगै त्यसलाई नियन्त्रणका लागि निषेधको आदेश जारी गर्ने क्रम शुरु भएको एक महिना नाघ्यो । मुलुकका ७७ मध्य दुई जिल्लाले अझै आदेश जारी नगरी नियन्त्रणको प्रयास गरिरहेका छन् ।

आदेश जारी नगरी नियन्त्रणको काम गरिरहेको जिल्ला तेह्रथमले पनि शनिबार विहानबाट यही १४ गते राती १२ बजेसम्मका लागि जिल्ला भर नै निषेधाज्ञा लगाइसकेको छ ।

अब आदेश जारी नगर्ने जिल्लामा ‘खोटाङ र मनाङ’ छन् । ति जिल्लाले पनि नियन्त्रणको प्रयासमा भने अन्य जिल्लाको भन्दा कमि गरेका छैनन् । उक्त जिल्लाका अधिकारीहरुले स्व­अनुशासन र स्व­आइसोलेसनलाई जोड दिएर नियन्त्रणको प्रयास जारी रोखको जनाएका छन् ।

दोस्रो लहरको कोरोनासँग वैशाख ७ गते बाग्लुङबाट निषेधको आदेश जारी गर्न शुरु गरिएको थियो । वेशाख १६ गतेपछि यसरी आदेश जारी गर्ने क्रम बढेको थियो ।

खोटाङको यस्तो छ नियन्त्रण प्रयास

जिल्ला प्रशासन कार्यालय खोटाङले वैशाख ९ गते सूचना जारी गरेपछि अहिलेसम्म कोभिडसम्बन्धिका सूचना भने सार्वजनिक गरेको छैन । उक्त सूचनामा सरकारले दिएको निर्देशन पालना गर्दै भिडभाड हुन नदिने र आवश्यक स्वास्थ्य मापदण्ड पालनामा कडाई गर्न भनिएको छ ।

खोटाङका प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मा स्व­अनुशासनलाई कडाइका साथ लागू गरिरहेको बताउनुहुन्छ । “निषेधाज्ञा जारी गर्नुभन्दा स्व­नियमन र अनुशासन नै बढी प्रभावकारी देखियो, त्यसैले सबै स्थानीय तह सुरक्षा निकाय तथा सङ्घ सँस्थाको समन्वयमा रोकावटको काम भइरहेको छ”, प्रजिअ शर्माले रासससँगको कुराकानीमा भन्नुभयो । उहाँले परिस्थिति हेरेर अगाडिका कदम चाल्दै जाने समेत जानकारी दिनुभयो ।
खोटाङमा अहिलेसम्म ३३२ सङ्क्रमित पुगेका छन् । त्यसमध्य २४ निको भएर घर फर्किए भने अहिलेसम्म दुई जनाको मृत्यु भएको छ । हाल अस्पतालमा २१ जना मात्रै उपचारमा रहेको र अरु सबै होम आइसोलेसनमा छन् ।

आदेश जारी नगरे पनि कडा नियम लगाएर परिपालनमा जोड दिइएको छ । “दुई हप्तादेखि नै मठमन्दिर, पुजापाठ, भिडभाड हुने क्षेत्र हामीले सबै रोकेका छौँ, पसल ७­९ मात्रै खोल्न दिइएको छ, यातायात बन्द नै छ, अनुमतिमा मात्रै हिँडडुल तथा यातायात चल्छन्”, शर्माले थप्नुभयो, “ हामीले निषेधाज्ञ भने जारी गरेका छैनौँ ।” उहाँको भनाइलाई आधार मान्दा निषेधाज्ञा घोषणा नगरिए पनि प्रकृति भने उस्तैउस्तै देखिन्छ ।

खोटाङमा कोभिडका विरामी राख्न मिल्ने २२६ शैया रहेको छ । अक्सिजन ८८ वटा तयारी अबस्थामा राखिएको छ । दश स्थानीय तहसहित जिल्ला अस्पतालमा गरेर त्यहाँ ११ आइसोलेसन सेन्टर स्थापना गरिएको छ । तर जिल्लामा भने एउटा मात्रै भेन्टिलेटर रहँदा ममस्या हुने हो की भन्ने आशंका छ ।

मनाङ् के गर्दै छ ?

अर्काे निषेधाज्ञा जारी नगर्ने जिल्ला मनाङले पनि स्व­अनुशासन र स्व­आइसोलेसनलाई जोड दिँदै नियन्त्रण प्रयास जारी राखेको छ ।

मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछाने भन्नुहुन्छ, “निशेषाज्ञा जारी गर्नु मात्रै ठुलो कुरा होइन, व्यवस्थापन महत्वपूर्ण रहेछ, ओहोरदोहोर, पर्यटक आवागमन रोक्ने काम भएको छ, स्व­अनुसासन र स्व­आइसोलेसनलाई हामले जोड दिएका छौँ ।” उसले स्व आइसोलेसनमा बसौँ, कोभिड विरुद्ध संयुत्तः लडाईं लडौँ भन्ने नारा नै तय गरेर अभियान चलाएको छ ।

प्रजिअ लामिछानेका अनुसार जिल्लामा हालसम्म कुल ६३ जना सङ्क्रमित फेला परेका छन् । त्यसमध्य १४ जना निको भएर फर्किसकेका छन् । अहिलेसम्म मानवीय क्षति भएको छैन । यहाँका चार गाउँपालिकाको चार कोभिड अस्पतालमा ४७ शैया छ । कुल अक्सिजन सिलिण्डर २९ वटा रहेको उहाँले जानकारी दिनुभयो । अहिले गाउँगाउँमा परीक्षणको दायर बढाउँदै सङ्क्रमितको खोजी भइरहेको लामिछानेले बताउनुभयो । अक्सिजन प्लान्टका लागि रकम आएको र त्यसका लागि सामानहरु खरिद प्रक्रिया शुरु भएको जनाइएको छ ।

गृह मन्त्रालयले यही ५ गते पठाएको पत्रलाई आधार मानेर कोरोना नियन्त्रणका लागि आफुखुसी रकम सङ्कलन नगर्न भन्दै उसले पछिल्लो सूचना जारी गरेको छ । सूचनामा एकद्धार प्रणाली अनुसार सरकारी खातामा रकम उउलब्ध गराउन आग्रह गरिएको छ ।

त्यसअघि वैशाख २९ गतेको निर्णय अनुसार उक्त जिल्लाले कोरोना महामारीको दोस्रो लहर रोकथाम, तथा निन्त्रण सम्बन्धीको आदेश २०७८ बमोजिम जिल्लाका सबै स्थानीय तहमा आइसोलेसन र क्वारेन्टिनको व्यवस्थापन गर्ने र आवश्यकतानुसार थप्दै लैजाने, अत्यावश्यक सामग्री खरिद तथा जनशक्ति परिचालनका लागि आवश्यक तयारीका कामहरु गर्न थालेको उल्लेख गरेको छ ।

उक्त सूचनामा स्थानीय तहमा दुर्त प्रतिकार्य समुह गठन गरी तयारी अबस्थामा रहने, जिल्ला बाहिरबाट आउने व्यक्तिको हकमा १० दिन क्वारेन्टिनमा बस्ने व्यवस्था स्थानीय तहमार्फत मिलाउने, भिडभाड हुने गतिविधि नगर्ने र विवाह ब्रतबन्धमा १५ जना मात्रै सहभागि हुन पाउने, अत्यावश्यक काम बाहेक घर बाहिर हिड्डुल नगर्न अनुरोध गरिएको छ ।

आदेशपछि यस्तो छ तेह्रथुमको प्रयास

लामो समयसम्म निषेधको आदेश जारी नगरी नियन्त्रणको प्रयासमा जुटेको तेह्रथुम जिल्ला अन्ततः निषेधाज्ञा जारी गर्न बाध्य भएको छ ।

सङ्क्रमण दर बढ्दो क्रममा रहेकाले गएरातीदेखि आदशे लागू गरी कोभिड­१९ नियन्त्रणको काम भइरहेको प्रमुख जिल्ला अधिकारी जयराज भण्डारीले बताउनुभयो । उक्त आदेश १४ गते रातीसम्मका लागि छ । त्यसपछि अबस्था हेरेर पुन आदेश जारी गरिने छ । उहाँका अनुसार जिल्लामा कुल २२९ सङ्क्रमित मध्य ५३ जना निको भएका छन् । दुई जनाको मृत्यु भएको छ भने छ हाल सक्रिय सङ्क्रमित १७४ छ ।

“पहिलेदेखि नै सतेना र सावधानी अपनाइएकाले सङ्क्रमणको जालो तोड्न सकिएको छ,विगतदेखिनै स्थानीय तहसँग समन्वय गरी सचेतनामुलक काम भएरहेका छन्, छ वटा स्थानीयतहसँगको राम्रो समन्वय पनि छ, त्यसैले अहिलेसम्म हामी सफल छौँ”,प्रजिअ भण्डारीले भन्नुभयो ।

उहाँका अनुसार जिल्ला अस्पतालमा २८ सहित जिल्लामा ५३ वटा अक्सिजन सिलिण्डर छ । अस्पतालमा १० शैयाको आइसोलेसन सेन्टर छ भने थप १० वेडको बनाइदै गरिएको छ । जिल्लामा चार अस्पतालमा ४८ शैयामा कोभिडका विरामी राख्न सकिने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो । अक्सिजन प्लान्ट स्थापनाका लागि बजेट आएको जनाइएको छ ।
–––

 

IME Remittance