प्रधानमन्त्रीमा ओली र देउवाले प्रस्तुत गरे दावी , राष्ट्रपतिले आधारको अध्ययन गरी निर्णय दिने

जेठ ७ काठमाडौं । संविधानको धारा ७६ को उपधारा ५ वमोजिमको सरकार गठनका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले छुट्टाछुट्टै दावी प्रस्तुत गरेका छन् । राष्ट्रपतिले दिएको समयसिमा भित्रैमा दावी प्रस्तुत भएको हो ।

प्रतिनिधिसभाका दुई वा दुईभन्दा बढी दलको बहुमतसहित दावी पेश गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले आज साँझ पाँच बजेसम्मको समयसिमा दिएकी थिइन् । दुबैले बहुमत पुगेको दावी गरेका छन् ।

ओलीले नेकपा एमाले र जसपाका १५३ जना सांसदको समर्थन रहेको दाबी गरी जसपा अध्यक्ष महन्थ ठाकुर र संसदीय दलका नेता राजेन्द्र महतोको दलको समर्थन रहेको उल्लेख गर्दै लिखित पत्र दिएका छन् ।

देउवाले कांग्रेस,माओवादी,जसपाका अध्यक्ष उपेन्द्र यादव र एमालेका माधव नेपाल पक्षको समर्थनमा १४९ जना सांसदको हस्ताक्षर बुझाएका छन् । दुबैको दावीमाथि राष्ट्रपतिले आधार अध्ययन गर्ने राष्ट्रपति कार्यालयले जनाएको छ ।