राष्ट्रपतिद्धारा वैकल्पिक सरकारका लागि आव्हान, शुक्रबार साँझ पाँच बजेसम्म दावी पेश गर्नुपर्ने

जेठ ६ , काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ वमोजिम नयाँ सरकार गठनको प्रक्रिया शुरु गरेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले उपधारा ४ बमोजिम संसदबाट विश्वासको मत लिन नसक्ने भन्दै वैकल्पिक सरकारका लागि अनुरोध गरेपछि राष्ट्रपतिले उपधारा ५ बमोजिम प्रक्रिया अघि बढाएकी हुन् ।
राष्ट्रपति कार्यालयले आज साँझ विज्ञप्ति जारी गर्दै भोलि जेठ ७ गते साँझ ५ बजेसम्म विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गर्न समय दिएको जनाएको छ।

उपधारा ३ बमोजिम प्रतिनिधिसभाको सबैभन्दा ठूलो दलको नेताको हैसियतमा प्रधानमन्त्री बनेका केपी शर्मा ओलीले विश्वासको मत प्राप्त नहुने देखी मार्ग प्रशस्त गरेकाले अब उपधारा ५ बमोजिम शुक्रबार साँझसम्म वैकल्पिक प्रधानमन्त्रीले बहुमत सदस्यको विश्वास प्राप्त गर्ने आधार पेश गर्नुपर्नेछ ।

प्रतिनिधिसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा बहुमत पाप्त गर्न सक्ने कुनै सदस्यले प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गरेमा राष्ट्रपतिले त्यस्तो सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था उपधारा ५ मा छ ।

फेरि पनि विपक्षी गठबन्धनले भोलि साँझसम्म दुई वा दुई भन्दा बढी दलको वहुमत पेश गर्नुपर्ने हुन्छ । जुन प्रयास यसअघिनै असफल भएर ओली नै प्रधानमन्त्री नियुक्त भएका थिए ।

यदि राष्ट्रपतिले दिएको समयभित्र बहुमतको आधार प्रस्तुत गर्न नसकेमा प्रतिनिधिसभा संवैधानिक रुपमै भंग हुनेछ र केपी ओली कै नेतृत्वमा मुलुकमा चुनाव घोषणा हुनेछ ।