सर्वाेच्चको आदेशले व्यवसायीलाई राहत

काठमाडौँ , ६ जेठ । सर्वोच्च अदालतले निषेधाज्ञा लागू भएको समयावधिसम्म मूल्य अभिवृद्धि कर विवरण र कर दाखिला नगरेमा जरिवाना असूल नगर्न अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश मीरा खड्काको एकल इजलासले निषेधाज्ञा खुलेपछि बाटाको म्यादबाहेक ३० दिनभित्र विवरण र कर बुझाउन सकिने व्यवस्था गर्न सरकारका नाममा बुधबार आदेश जारी गरेको हो । उक्त आदेशले व्यवसायीलाई राहत मिलेको छ ।

आदेशमा बाटाको म्यादबाहेक १५ दिनभित्र महान्यायाधिवक्ता कार्यालयमार्फत लिखित जवाफ पेश गर्न अर्थ मन्त्रालयलाई भनिएको छ ।

अधिवक्ता सिर्जना अधिकारीले सरकारको आन्तरिक राजश्व विभागको वेबसाइटमा कर विवरण बुझाउने सम्बन्धमा कुनै सूचना वा जानकारी उपलब्ध नगराई जरिवाना लगाइएको जनाउँदै अदालतमा निवेदन दायर गर्नुभएको थियो ।