ओसाका, जापान ।
रक्तिम सांस्कृतिक अभियानले जापानमा भव्य सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । रक्तिमका अध्यक्ष तथा जनगायक जीवन शर्मा सहितको रक्तिम कलाकारहरुको प्रस्तुतिमा जापानको ओसाका र टोकियोमा भव्य सांस्कृतिक कार्यक्रम सम्पन्न गरिएको हो । जापान नेपाली एकता समाजको आयोजनामा नयाँ वर्ष–२०१९ को अवसरमा सो सांस्कृतिक कार्यक्रम सम्पन्न गरिएको थियो ।
रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय सचिव सांस्कृतिक योद्दा दलबहादुर वि.क., रक्तिम सांस्कृतिक अभियान जापानका कलाकारहरु, जापान नेपाली एकता समाजको नौमती बाजा समूह र स्थानीय नेपाली लोक कलाकारहरुको समेत प्रस्तुति रहेको दुवै स्थानको कार्यक्रम भव्यताका साथ सम्पन्न भएको जापान नेपाली एकता समाजले जनाएको छ । “दुवै स्थानका कार्यक्रमहरु भव्य रुपमा सम्पन्न भएका छन् ।” जापान नेपाली एकता समाजका अध्यक्ष यमलाल सापकोटाले भन्नुभयो–“नेपालबाट आउनु भएका रक्तिमका अध्यक्ष तथा जनगायक जीवन शर्माको प्रस्तुतिले दर्शक सबैको मनमा अमिट छाप छोडेको छ । नेपालबाटै आउनु भएका रक्तिमका सचिव दल बहादुर विकको प्रस्तुति पनि निकै सशक्त रह्यो । उहाँहरु र रक्तिम जापानका कलाकारहरु सबैको प्रस्तुतिबाट हामी निकै खुशी छौं ।” सांस्कृतिक कार्यक्रम ३१ डिसेम्बर २०१८ का दिन ओसाका को न्यु ओसाका होटल र १ जनवरी २०१९ का दिन टोकियोको गिन्जास्थित एभरेष्ट डाइनिङ होटलमा आयोजना गरिएको थियो । दुवै स्थानका कार्यक्रम सफलतापूर्वक सम्पन्न भएका थिए ।
अमिट छाप छोडेको प्रस्तुति
कार्यक्रममा नेपालबाट आउनु भएका जनगायक जीवन शर्माले आफ्ना गीतहरुबाट देशको कथा र व्यथा प्रस्तुत गर्नु भयो । बाध्यताको भुमरीमा परेर परदेशी भूमिमा पसिना बगाइरहेका प्रवासी नेपालीहरुको वास्तविक कहानी शर्माका गीतहरुले बोलिरहेका थिए । आफ्ना प्रिय जनगायकलाई प्रत्यक्ष रूपमा देख्न र सुन्न पाउँदा दर्शकहरु त्यसै पनि निकै हर्षित देखिन्थे । शर्माले मञ्चबाट गीतहरु प्रस्तुत गरिरहँदा दर्शक दिर्घा कतिबेला निकै भावुक बन्थ्यो त कतिबेला जुरुक्क उठेर नाच्न पुग्दथ्यो । शर्माले ओसाका र टोकियो दुवै स्थानका कार्यक्रमहरुमा “मधेशी पहाडी”, “चाहिँदैन मलाइ सिसाको महल” “म डुल्दै हिंड्दा” “यसपाली त यस्तै भो आमा” र “सिमली छायाँमा बसी” लगायतका रक्तिमका चर्चित गीतहरु प्रस्तुत गर्नुभएको थियो ।
नेपालबाटै आउनु भएका रक्तिमका केन्द्रीय सचिव दलबहादुर विकको प्रस्तुति समेत दुवै स्थानमा निकै जोडदार रह्यो । विक प्रतिक्रियावादीहरुको जेलभित्र ज्युँदै पोलिएका एक सांस्कृतिक योद्दा हुन् भनेर सुनेका जापानका प्रवासी नेपालीहरुले यो कार्यक्रममा प्रत्यक्ष रूपमा उनलाई देख्न र उनकै बोलीबाट उनले जेल जीवनमा भोगेका पीडाहरु सुन्न पाए । २०४८ माघ १ गते बागलुङको ज्यामिरेघाट मेलामा घटेको इन्स्पेक्टर हत्याकाण्डमा झुटो अभियोग लगाएर विकलाई जेल हालिएको थियो । जेलभित्र उनलाई असह्य यातनाहरु दिइएको थियो । जेलभित्र उनलाई दिइएका तिनै यातनाहरु सुनेपछि जनगायक जीवन शर्माले एउटा गीत सृजना गर्नु भएको थियो– “पाखुरी यिनै हुन् नेल भिरेका… ।” विकले आफनै जीवनकथामा आधारित रक्तिमको उक्त चर्चित गीत समेत प्रस्तुत गर्नु भयो । विकको यो प्रस्तुतिले दर्शकलाई भावुक बन्न बाध्य पारेको थियो । विकले कार्यक्रममा “कहिले होला दुखीको दिन आउने” बोलको नयाँ गीत समेत प्रस्तुत गर्नु भयो । विकका दुवै प्रस्तुतिहरु सशक्त रहेका थिए । ओसाका र टोेकियो दुवै स्थानको कार्यक्रममा रक्तिम जापानको कलाकार टोलीले “सम्मान छ हाम्रो जनवादी सङ्गीत सुन्नेलाई” बोलको स्वागत गीतबाट आफ्नो प्रस्तुति सुरु गरेको थियो । ओसाकाको कार्यक्रममा रक्तिम जापानका जनगायक लीला परियारले युवा कम्युनिस्ट नेता सागर कुँवरद्वारा लिखित “सहिदरु चिहानबाट उठेर आऊ” बोलको निकै जोशिलो गीत प्रस्तुत गर्नु भयो । उनै जनगायक परियारले टोकियोको कार्यक्रममा “आउनेछ क्रान्ति हतार नगर” बोलको अर्को जोशिलो गीत प्रस्तुत गर्नु भयो । रक्तिम जापानका अर्का गायक नविन बस्यालले ओसाकाको कार्यक्रममा “गणतन्त्र झुल्कियो” बोलको कौडा गीत प्रस्तुत गर्नु भयो भने टोकियोमा “विदेशले धोका पुरायो” बोलको गीत प्रस्तुत गर्नु भयो ।
रक्तिम जापानका अध्यक्ष सचित्र केसीले ओसाकाको कार्यक्रममा कलाकार प्रकाश बिसी ‘बादल’ सँग मिलेर “घरबाट आयौ के खबर ल्यायौ” बोलको गीतमा बेजोड अभिनय प्रस्तुत गर्नु भयो । रक्तिम जापानकै कुशल नृत्याङ्गना बबिता थापासँग मिलेर केसीले ओसाकाको कार्यक्रममा “सामन्तले नौजाल बुन्छ, आखिरीमा जनताकै जीत हुन्छ” बोलको गीतमा जोशिलो नृत्य प्रस्तुत गर्नु भयो । देशको अवस्था अहिले पनि उस्तै रहेको, गरिब–दुखीहरुको अवस्था, काला कानुनहरु देशमा अहिले पनि उस्तै रहेको यथार्थता बोकेको रक्तिमको अर्को चर्चित गीत “उस्तै छ हामीलाई पिरलो” मा प्रकाश बिसी ‘बादल’ र बबिता थापाले अर्को बेजोड नृत्य समेत ओसाकाको कार्यक्रममा प्रस्तुत गर्नु भएको थियो । रक्तिमकी नृत्याङ्गना बबिता थापाले ओसाकाको कार्यक्रममा “नेपाली माटोले भन्छ तिमीलाई, विदेश पसी बिर्सियौ कि गाउँघरलाई” बोलको गीतमा सुन्दर नृत्य प्रस्तुत गर्नु भयो । टोकियोको कार्यक्रममा दर्शकहरुले रक्तिम जापानका कलाकार कुशल बासुरीवादक खडक पुनको बासुरीको मिठो धुन समेत सुन्न पाए । पुनको बासुरीको धुन सुन्दा दर्शकहरु सबै हर्षित देखिन्थे ।
जापान नेपाली एकता समाजको नौमती बाजा समूहले ओसाकाको कार्यक्रममा सबैलाई नाँच्न बाध्य तुल्यायो । नौमती बाजा समूहमा मन बहादुर सलामी, गोपाल सापकोटा, दिलु खत्री, गोपाल खत्री, तेजु के.सी., भक्त सापकोटा र कमल परियार रहनुभएको थियो । स्थानीय नेपाली लोक कलाकारहरु दिलु खत्री, दुर्गेश कार्की र दिनेश के.सी.का प्रस्तुतिहरु समेत दर्शकमा प्रभाव छोड्न सफल रहेका थिए ।
कार्यक्रमबाट खर्च कटाई बच्ने आम्दानी प्राकृतिक विपत्तिमा परेका नेपालीहरुको सहयोगमा प्रयोग गरिने अध्यक्ष सापकोटाले बताउनुभयो । “जापान नेपाली एकता समाजले विगतमा यस्ता कार्यक्रम गरेर भएका आम्दानी छुट्टै सहयोग उठाएरै पनि नेपालमा प्राकृतिक विपत्तिमा परेका पीडितजन र असाहय र विपन्न घर परिवारका बालबालिकाको पठनपाठनका निम्ति सहयोग गर्दै आइरहेको छ ।” अध्यक्ष सापकोटाले भन्नुभयो–“अहिले पनि खर्च कटाई बचेको रकम हामीले त्यस्तै काममा प्रयोग गर्नेछौं ।”
दुवै स्थानका कार्यक्रमहरु सम्पन्न गरिसकेपछि जनगायक जीवन शर्मा र रक्तिमका सचिव दलबहादुर विक ६ जनवरीको विहान टोकियोबाट नेपालतर्फ फर्कनु भएको थियो । यस पटकको जापान नेपाली एकता समाजको कार्यक्रम पुरै रक्तिममय भएको थियो । रक्तिम जापानको टोली आफ्नै बलबुतामा जापानमा कार्यक्रम गर्न सक्षम छ भन्ने प्रष्ट आधार अहिलेको कार्यक्रममा देखिएको थियो । कार्यक्रम सकिएको झण्डै महिनादिन बित्न लाग्दा हिजो आज पनि जापानमा रोजगाररत प्रवासी नेपालीहरुले १ जनवरी २०१९ र ३१ डिसेम्बर २०१८ मा टोकियो र ओसाकामा भएका ती कार्यक्रमहरु सम्झिरहेका छन् । रक्तिमको त्यो प्रस्तुति, दर्शकहरुमा अमिट छाप छोड्न सफल भएको छ ।
शुभकामना समारोह
विशेष सांस्कृतिक कार्यक्रम सुरु गर्नु पूर्व जापान नेपाली एकता समाजले सङ्क्षिप्त शुभकामना आदानप्रदान समारोह गरेको थियो । ३१ डिसेम्बर २०१८ का दिन ओसाकाको न्यू ओसाका होटलमा भएको उक्त समारोहको प्रमुख अतिथि रक्तिमका अध्यक्ष तथा जनगायक जीवन शर्मा रहनु भएको थियो । समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि शर्माले प्रवासी भूमिका रहेर पनि नेपाली कला, संस्कृति र सर्वहारा वर्गीय संस्कृतिको संरक्षणका लागि जापान नेपाली एकता समाजले ओसाका र टोकियो दुवै स्थानमा गरेको पहलको खुलेर प्रशंसा गर्नु भयो । देशमा गरिब, दीनदुखीहरुको अवस्था अहिले पनि उस्तै रहेको बताउँदै प्रमुख अतिथि शर्माले श्रमजीवी जनताको सुदिन ल्याउनका निम्ति प्रवासिएका नेपालीहरु स्वदेश फर्किनु पर्नेमा जोड दिनु भयो ।
समारोहको अध्यक्षता जापान नेपाली एकता समाजका अध्यक्ष यमलाल सापकोटाले, स्वागत केन्द्रीय सदस्य हेमलाल गौतमले र सञ्चालन महासचिव तेजेन्द्र क्षेत्रीले गर्नु भएको थियो । समारोहमा रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय सचिव दल बहादुर विक, रक्तिम जापानका अध्यक्ष सचित्र केसी, जापान नेपाली एकता समाजका केन्द्रीय सदस्यहरु कमल कार्की, मिलन शर्मा र गोपाल सापकोटा, वरिष्ठ सल्लाहकार नन्दु शर्मा, सल्लाहकार गोपाल खत्री, दिलु खत्री र भक्त सापकोटा, ओसाका क्षेत्रीय समितिका सल्लाहकार राजु केसी र पत्रकार मेघराज सापकोटा रिष्मेलीको आतिथ्यता रहेको थियो । त्यस्तै समारोहमा जापान नेपाली एकता समाजको नौमति बाजा समूहका अध्यक्ष मन बहादुर सलामी, बिहुकोट समाज कन्साई जापानका उपाध्यक्ष राजु कँडेल, नयाँशक्ति नेपालका नरिनारायण कँडेल, एन.आर.एन. कन्साईका उपाध्यक्ष राजु गैरे, समाजसेवी जया पौडेल, लोक दोहोरी कलाकारहरु दुर्गेश कार्की र दिनेश केसीको समेत आतिथ्यता रहेको थियो । ज्ञात–अज्ञात सहिदहरुप्रति एक मिनट मौनधारण गरे पश्चात् समारोहको कार्यक्रम अघि बढेको थियो ।
यस्तै, १ जनवरी २०१९ का दिन टोकियोको गिन्जास्थित एभरेस्ट डाइनिङ होटलमा भएको सांस्कृतिक कार्यक्रम सहितको समारोहको अध्यक्षता जापान नेपाली एकता समाजका केन्द्रीय सदस्य तथा टोकियो क्षेत्रीय समितिका अध्यक्ष विष्णु केसीले गर्नु भएको थियो । समारोहको सञ्चालन इकिबुकुरो क्षेत्रीय समितिका सल्लाहकार वासुदेव शर्माले गर्नु भएको थियो । टोकियोको समारोहमा पनि प्रमुख अतिथि जनगायक जीवन शर्मा रहनु भएको थियो । समारोहमा अन्तर्राष्ट्रिय नेपाली एकता समाजका पूर्व उपाध्यक्ष मान बहादुर थापा समेतले शुभकामना मन्तव्य राख्नु भएको थियो भने स्वागत मन्तव्य शालिकराम सापकोटाले राख्नु भएको थियो । रक्तिम सांस्कृतिक अभियानका सचिव दल बहादुर विक, जापान नेपाली एकता समाजका कोषाध्यक्ष केशव सापकोटा र केन्द्रीय सदस्य शिव शर्मा लगायतका अतिथिहरुको आतिथ्यता समेत समारोहमा रहेको थियो ।
एकता समाजको धन्यवाद
ओसाका र टोकियो दुवै स्थानका कार्यक्रमहरु शानदार रूपमा सफल भएपछि जापान नेपाली एकता समाजले एक विज्ञप्ती नै प्रकाशित गरी कार्यक्रम सफल पार्न योगदान पु¥याउने सम्पूर्णप्रति हार्दिक धन्यवाद व्यक्त गरेको छ । टोकियोमा कार्यक्रम सम्पन्न भएको दिन १ जनवरी २०१९ को साँझ जापान नेपाली एकता समाजका महासचिव तेजेन्द्र क्षेत्रीले एक प्रेस विज्ञप्ती जारी गर्दै धन्यवाद दिनु भएको छ ।
महासचिव क्षेत्रीद्वारा जारी उक्त विज्ञप्तीमा अगाडि भनिएको छ– “सांस्कृतिक कार्यक्रम २०१९ (३१ डिसेम्बर २०१८ ओसाका) र (१ जनवरी २०१९ टोकियो) नेपाली समाजलाई निरन्तर प्रगतिशील दिशामा लाग्ने प्रेरणा दिदै आफ्नो कलाकारिता मार्फत् जनतालाई सचेतना जगाउने, गरिखाने वर्गको आवाजलाई बुलन्द गर्ने सांस्कृतिक आन्दोलनका अभियन्ता रक्तिम सांस्कतिक अभियानका अध्यक्ष जीवन शर्मा र सचिव दल बहादुर विकको सांस्कृतिक प्रस्तुति सहित कार्यक्रम सम्पन्न भएको छ । साथमा उपस्थित भद्रभलादमी दर्शकजन, रक्तिम सांस्कृतिक अभियान जापान, नौमती बाजा समूह, स्थानीय लोक दोहोरी कलाकार, पत्रकार, स्वयंसेवक सबैमा जापान नेपाली एकता समाजको तर्फबाट हार्दिक धन्यवाद टक्राउन चाहन्छौँ ।
जापान नेपाली एकता समाज यहाँहरुको न्यानो माया, सदभाव, सहयोग र समर्पणले यहाँसम्म आउन सफल भएको छ । आगामी दिनहरुमा पनि निरन्तर साथ–सहयोग पाउने आशा व्यक्त गर्दछौँ ।
हामी भेटघाट, मनोरञ्जन र नाचगान कार्यक्रम मात्र हैन, योसँगै विकृति, विसङ्गति, अराजकतामाथि गीत–सङ्गीत र कला मार्फत् पनि खबरदारी गर्दै अगाडि बढ्ने सङ्घर्षप्रति पनि सचेत छौँ । हाम्रो यो सङ्कल्प यहाँहरुको दृढ सहयोग र समर्थनले मात्रै परिणाममुखी हुनेछ ।
अन्तमा, फेरि पनि यो कार्यक्रमलाई सम्पन्न गर्न आर्थिक, भौतिक, नैतिक रूपले सहयोग गर्नु हुने सबैलाई नयाँ वर्ष २०१९ को हार्दिक शुभकामना सहित धन्यवाद व्यक्त गर्दछौँ ।”
-मेघराज सापकोटा ‘रिष्मेली’