अझै अनावश्यक क्षेत्रमा लुकाइएका छन् अक्सिजन, आज२३१ सिलिन्डर निकालियो

काठमाडौं, ४ जेठ । देशभरका विभिन्न स्थानबाट आज अनावश्यक क्षेत्रमा प्रयोग भएका २ सय ३१ अक्सिजन सिलिन्डर सङ्कलन गरिएको छ ।

ती मध्ये १ सय ६८ वटा भरिएका र ६३ खाली सिलिन्डर रहेका छन् । सङ्कलन गरिएका २ सय ३१ वटा र यसअघिको स्टक रहेका १ सय ४१ वटा गरी जम्मा ३ सय ७२ वटा सिलिन्डरमध्ये मंगलबार ३ सय ४१ वटा सिलिन्डर कोभिड अस्पताल र सम्बन्धित अक्सिजन प्लान्ट उद्योगलाई उपलब्ध गराइएको छ । बाँकी रहेका ३१ वटा अक्सिजन सिलिन्डरहरु जिल्ला संकट व्यवस्थापन केन्द्र तथा जिल्लास्थित प्रहरी कार्यालयमा राखी आवश्यकता अनुसार वितरण गरिने छ ।

आवश्यकता भन्दा बढी अक्सिजन सिलिन्डर होल्ड गर्ने व्यक्ति, विभिन्न संघसंस्था तथा स्वास्थ्य प्रयोजन बाहेक अन्य प्रयोजनमा प्रयोग गर्ने उद्देश्यले विभिन्न उद्योग, कलकारखाना, कवाडी, ग्यास वेल्डिङ, पसल तथा गोदामहरूमा स्टक गरी राखेका अक्सिजन सिलिन्डर सङ्कलन गरी उपलब्ध गराइएको हो ।
नेपाल प्रहरीको सक्रियतामा गत वैशाख २६ गतेदेखि हालसम्म जम्मा ९ हजार १ सय ४० वटा सिलिन्डर सङ्कलन गरी कोभिड अस्पताल र सम्बन्धित अक्सिजन प्लान्ट उद्योगलाई उपलब्ध गराइएको छ ।
यस विषम परिस्थितिमा अन्य प्रयोजनका लागि स्टक नगर्न तथा विभिन्न कम्पनी, संघसंस्था तथा व्यक्तिहरूसँग आवश्यकता भन्दा बढी सिलिन्डर छन् भने त्यस्ता सिलिन्डरहरू उपलब्ध गराई सहयोग गर्न नेपाल प्रहरीले अनुरोध समेत गरेको छ ।

निषेधाज्ञा उल्लंघन गर्ने ६ हजार लाई होल्ड

विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गरी हिँड्ने ६ हजार ७ सय ४४ जनालाई होल्डमा राखी सम्झाई बुझाई छाडिएको छ । सो क्रममा १ हजार ७ सय ६० वटा गाडी र ३ हजार ८ सय ७० वटा मोटरसाइकल गरी ५ हजार ६ सय ३० वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

साथै नयाँ भेरियन्ट सहितको कोभिड(१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई रु’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा २ हजार ९ सय ८ जनालाई निस्शुल्क मास्क वितरण गरिएको छ ।

कोभिड(१९ रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकार स्वास्थ्य मन्त्रालयद्वारा तोकिएको मापदण्ड उल्लंघन गर्ने ५ सय २१ जनालाई संक्रामक रोग ऐन, २०२० बमोजिम जरिवाना गरिएको छ । साथै देशभर माईकिङ तथा सचेतनामूलक कार्यक्रम अन्तर्गत १६ हजार ७ सय ४७ जनालाई सचेत गराईएको छ ।

निषेधाज्ञा कार्यान्वयनलाई थप प्रभावकारी र सफल बनाउन नेपाल प्रहरीले अन्य सुरक्षा निकाय लगायतका सरोकारवालाहरुसँग आवश्यक समन्वय, सहकार्य गरी अनुगमनलाई समेत तिब्रता दिएको छ ।

IME Remittance