काठमाडौँ ३, जेठ । हाल पूर्वीमध्य अरब सागरमा रहेको शक्तिशाली चक्रवातका कारण मंगलबारदेखि देशका धेरै स्थानमा सामान्यदेखि पूर्ण बदलीको सम्भावना छ ।
चक्रवातको प्रत्यक्ष प्रभाव नेपालमा नपरे तापनि अप्रत्यक्ष असर देखिने मौसम जल तथा मौसम विज्ञान विभाग, पूर्वानुमान महाशाखाले जनाएको छ । चक्रवात अझ विकसित हुने क्रममा रहेको र हाल उत्तर–उत्तरपश्चिमतिर बढ्ने क्रममा छ ।
बुधबार बेलुकादेखि शुक्रबारसम्म कर्णाली, सुदूपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा र थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । प्रदेश नं १, प्रदेश नं २ र वाग्मती प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
नेपालमा चक्रवातको अप्रत्यक्ष प्रभाव मात्र रहने तथा ठूलो वर्षा र हावाहुरीको सम्भावना नरहेको महाशाखाका वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो । चक्रवातको प्रभाव शुक्रबारसम्म रहने बताइएको छ ।
मुलुकभर यस याममा प्रिमनसुनको गतिवधिका कारण मेघगर्जन÷चट्याङ ÷हावाहुरी र असिनापानीको समेत सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । महाशाखाले यस अवधिमा उच्च हिमाली भूभागमा पर्वतारोहण नगर्न तथा नगराउनसमेत अनुरोध गर्दै चक्रवातलाई निरन्तर अनुगमन गरिएकाले मौसम अद्यावधिक गरिरहन सबैमा आग्रह गरेको छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
२०७८ जेठ ३ गते (सोमबार)
दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
राती: देशभर सामान्य बदली रही देशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।
२०७८ जेठ ४ गने (मंगलबार)
दिउँसो: देशभर सामान्य बदली रहनेछ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा तथा कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
राती: देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।
२०७८ जेठ 5 गने (बुधबार)
दिउँसो: देशभर सामान्य बदली रहनेछ। गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका केहि र प्रदेश १ तथा प्रदेश २ का थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
राती: देशभर सामान्य बदली रहनेछ। गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका केहि र प्रदेश १ तथा प्रदेश २ का थोरै स्थानहरुमा त मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
देशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनुहुन अनुरोध छ।