काठमाडौँ, ३ जेठ ः नेपालभर जसो नै कोभिड–१९ सङ्क्रमण फैलँदो क्रममा रहेकाले स्थानीय प्रशासनले निषेधाज्ञा थप गर्दै नियन्त्रणको प्रयास जारी राखेको छ । आजसम्म कुल ७४ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ ।
तथ्याङकले सङ्क्रमणको दर उच्च तहमा पुगेर केही स्थिर देखिए पनि जोखिम भने बढ्दो क्रममा हुँदा प्रशासनले म्याद थप गर्दै निषेधाज्ञालाई जारी राखेको हो । पछिल्लो समयमा गाउँगाउँमा सङ्क्रमण फैलिँदो क्रममा रहेको स्वास्थ्य विज्ञ डा विराज कर्माचार्यले बताउनुभयो ।
नेपालमा वैशाख ७ गतेदेखि शुरु भएको निषेधाज्ञाको सङ्क्रमणमा आएको बढोत्तरीसँगै समय थप गरेर अझै आदेशलाई कडाई गरिँदै छ । पछिल्लो समयमा कतिपय जिल्लाले दुई हप्ताका लागि आदेश थप गरेर कार्यान्वयनमा लगेका छन् भने कतिपय जिल्लाले हप्ता÷दश दिन तोकेर थप गर्दै कोभिड–१९ सङ्क्रमणको साङ्लो चुँडाल्ने प्रयास गरिरहेका छन् ।
पछिल्लो समयमा भने निषेधाज्ञाको असर विस्तारै देखिन थालेको छ । जसका कारण सङ्क्रमण दर क्रमश घट्दो क्रममा रहेको र निको हुने दर वृद्धि भइरहेको छ । आज मात्रै सङ्क्रमण दर सात हजार ३६८ हुँदा निको हुने दर भने छ हजार ६४८ रहनुले त्यसलाई सकारात्मक रुपमा लिन सकिने स्वास्थ्य विज्ञले बताएका छन् । जसका कारण अझै निषेज्ञाज्ञा जारी राख्नुपर्ने देखिएको गृह मन्त्रालयले जनाएको छ ।
आजदेखि लागुहुनेगरी ताप्लेजुङ र लमजुङले एक साता, काभ्रेपलाञ्चोक र सङ्खुवासभाले १० दिन, बैतडी र नुवाकोटले १५ दिन निषेधाज्ञा थप्ने निर्णय गरेको छ । काठमाडौँ उपत्यकाका तीन जिल्लाले भने जेठ १३ सम्मका लागि आदेश जारी गरिसकेको छ । अब निषेधाज्ञा जारी गर्न बाँकी जिल्लामा मनाङ, तेह्रथुम र खोटाङ रहेको छ ।
गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहाल आवश्यकतानुशार निषेधको आदेश जारी गरी रोकथाममा लाग्न जिल्लालाई निर्दशन दिइसकेको र सोही अनुसार आदेश जारी गरी कार्यान्वयन भइरहेको बताउनुहुन्छ ।
सरकारले सङ्क्रामक रोग नियन्त्रण ऐन २०२० को उपदफा २ बमोजिम पहाडी र हिमाली जिल्लामा २०० र काठमाडौँ उपत्यका तथा तराईमा ५०० सक्रिय सङ्क्रमित रहेका जिल्लामा जिल्लाभर वा निश्चित क्षेत्रमा प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा तथा आवश्यक आदेश जारी गर्न सक्ने अधिकार दिएको छ ।