निषेधाज्ञा उल्लंघन गरी हिँड्ने ६ हजारलाई होल्ड गरी छाडियो

काठमाडौं, २ जेठ । विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गरी हिँड्ने ६ हजार १ सय ५९ जनालाई होल्डमा राखी छाडिएको छ । सो क्रममा ९ सय १३ वटा गाडी र १ हजार ९ सय २ वटा मोटरसाइकल गरी २ हजार ८ सय १५ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

साथै नयाँ भेरियन्ट सहितको कोभिड(१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई रु’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा १ हजार ८ सय १४ जनालाई निस्शुल्क मास्क वितरण गरिएको छ ।
कोभिड(१९ रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकार स्वास्थ्य मन्त्रालयद्वारा तोकिएको मापदण्ड उल्लंघन गर्ने ५ सय १९ जनालाई संक्रामक रोग ऐन, २०२० बमोजिम जरिवाना गरिएको छ । साथै देशभर माईकिङ तथा सचेतनामूलक कार्यक्रम अन्तर्गत १५ हजार ८ सय ४४ जनालाई सचेत गराईएको छ ।
निषेधाज्ञा कार्यान्वयनलाई थप प्रभावकारी र सफल बनाउन नेपाल प्रहरीले अन्य सुरक्षा निकाय लगायतका सरोकारवालाहरुसँग आवश्यक समन्वय, सहकार्य गरी अनुगमनलाई समेत तिब्रता दिएको छ ।

IME Remittance