काठमाडौँ, २ जेठ ः देशका विभिन्न क्षेत्रमा चट्याङ लागेर वैशाख महिनामा मात्रै २१ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार चट्याङमा परेर अन्य ८४ जना घाइते भएका र ५० चौपायको क्षति भएको छ । एक महिनामा चट्याङका कारण एक करोड ५४ लाख बराबरको आर्थिक क्षति भएको प्राधिकरणले जनाएको छ ।
यस्तै आगलागीबाट सात, जनावरको आक्रमणबाट तीन, हावाहुरीबाट १ गरी वैशाखमा कुल ३२ जनाको ज्यान गएको छ । सबै घटनामा परी १३८ जना घाइते भएका प्राधिकरणले जानकारी दिएको छ ।
यसपाली वैशाखमा पानी कम परे पनि चट्याङले ठुलो क्षति गराएको प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले जानकारी दिनुभयो । एक महिनामा ४९९ वटा विपद्का घटना घटेको छ ।
सबै घटनाबाट रु ३३ करोड ७८ लाखको भौतिक तथा आर्थिक क्षति भएको जनाइएको छ । अहिले प्रिमनसुनको समयमा हावाहुरी र चट्याङका घटना बढी हुने मौसमविद्ले जनाएका छन् ।
चट्याङ कै कारण आगलागी हुँदा नजानिँदो रुपमा ठूलो धनजनको क्षति भइरहेको छ । तथ्याङ्कले बाढी र पहिरोको हाराहारी मै आगलागी र चट्याङले क्षति पु¥याइरहेको देखाएको छ ।
बादल आपसमा ठोक्किएर त्यसका अणुबीच घर्षण हुँदा विद्युत् उत्पन्न हुने अवस्था नै चट्याङ हो । चट्याङ पर्दा आकाशबाट जमिनमा खस्ने एक प्रकारको विद्युतीय शक्ति आउँछ । वर्षायाममा वायुमण्डलमा विपरित दिशाबाट तीव्र गतिको वायु एकापसमा ठोक्किँदा चर्को आवाजसहित बढी भोल्टको विद्युतीय लहर बनी अचानक हुने विद्युतीय विस्फोटन चै चट्याङ् हो ।