विद्यार्थी आन्दोलनको सदाबहार गीत : अखिलको झण्डा फरर…

नारायण शर्मा

आज जेठ १ अर्थात विद्यार्थी दिवस, विद्यार्थीहरुको आन्दोलनका अगाडि तत्कालीन सत्ता झुकेको दिन !

आज भन्दा ५७ बर्ष अगाडि अर्थात २०२१ साल जेठ १ गतेकै दिन विद्यार्थीहरुको आन्दोलनसँग तत्कालीन पञ्चायती सत्ता झुकेको थियो ।

पञ्चायतले त्यहीँ दिन बन्दी विद्यार्थीहरुलाई रिहा गर्दै स्वतन्त्र विद्यार्थी युनियनको चुनाव गराउन सहमती जनाएको थियो । त्यही ऐतिहासिक दिनको एक बर्ष पछि २०२२ मा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन गठन भएको थियो ।

विक्रम संवत २००६ सालमा अखिल नेपाल विद्यार्थी फेड्रेसनको नामबाट जन्मिएको संगठन २०२२ बाट अ ने रा स्व वि यु को नामबाट अघि बढेको थियो ।

त्यस यता विद्यार्थी आन्दोलनमा धेरै आरोह अवरोहहरु आएका छ्न । देशमा भएका हरेक आन्दोलनहरुमा बिद्यार्थी संगठनको अमूल्य योगदान रहदै आएको छ ।

२०२२ सालमा गठन भएको अनेरास्ववियु अहिले विभिन्न विद्यार्थी संगठनमा विभक्त छ । राजनैतिक दलै पिच्छेका विद्यार्थी संगठनहरु छ्न ।

ती सबैले आफू नै विद्यार्थी आन्दोलनको मूलप्रवाह भएको दाबी गर्न छुटाउँदैनन् । अखिलकै नाम बाट पनि दर्जन विद्यार्थी संगठन खुलेका छ्न ।

विद्यार्थी आन्दोलन कसरी अगाडि बढ्नु पर्छ ? वास्तविक अखिल कस्तो हुनु पर्छ ? विद्यार्थी आन्दोलनको कर्तव्य र दायित्व बुझाउँदै लेखिएको रक्तिम परिवारको गित छ एउटा ‘अखिलको

झण्डाफरर .. ।’

जनगायक जीवन शर्माद्वारा आज भन्दा ४१ बर्ष अगाडि लेखिएको उक्त गीत विद्यार्थी आन्दोलनको एक सदाबहार गीत बन्न पुगेको छ । विद्यार्थी एकता दिवसको ऐतिहासिक दिनमा आज यहाँ त्यहीँ गीतका बारेमा सानो चर्चा गर्ने प्रयास गरिएको छ ।

गरिबको झुप्रो छाप्रोमा मुक्तिको बिगुल फुकेर

जनताको अन्जान दिमागमा चेतना जगाइ ब्युउझाउने

अखिलको झण्डा फरर……

यसरी गीतको पहिलो हरफले नै प्रष्ट पारेको छ विद्यार्थी संगठनहरुको काम विसुद्ध विद्यार्थीहरुका समस्यामा मात्र केन्द्रित हुने होइन । जनतालाई चेतनशील बनाउन गरिबका झुग्गी झुपडीहरुमा पनि पुग्नु पर्दछ उनीहरु ।

गाउँ बस्तीमा पुगेर जनतामा चेतनाका बीऊहरु छर्नुपर्छ विद्यार्थीले । जनतालाई मुक्ति अरु कुनै शक्तिले गरिदिने होइन, त्यसका लागि उनीहरु आफै जागरुक भएर उठ्नु पर्छ । जनताकाबीचमा पुगेर यहीँ यथार्थ बोध गराउनु पर्छ विद्यार्थी संगठनहरुले भन्ने कुरा गीतमा उल्लेख छ ।

आफन्त पराइ चिनेर बैरिको किल्ला तोडिदे

जनताको बिचमा घुलेर फुटेकोलाइ जोडिदे

सिर्जना दियो जलाउँदै बैरिको संसार गलाउँदै

विद्यार्थी सारा एकजुट पार्ने यो रातो झण्डा फरर…

विद्यार्थी संगठन जनताकाबीचमा घुलमिल हुन सक्नु पर्दछ । जनताको शत्रु पनि जनताकैबीचमै लुकेर बसेको हुन्छ । को आफन्त, को पराइ ? जनताको अन्जान दिमागले छुट्टाउन सकिरहेको हुँदैन ।

जनताले जसलाई आफ्नो ठानेका हुन्छ्न, तिनै व्यक्ति जनताको मुक्ति आन्दोलनका शत्रु पनि हुन सक्छन् । चेतनाको अभावमा जनताले उनीहरुलाई चिन्न सकिरहेका हुँदैनन् । ती जनबैरीहरुले जनता जनताबीचमा फाटो पारेर आफ्नो स्वार्थसिद्ध गरिरहेका हुन्छ्न ।

जातका आधारमा, क्षेत्रका आधारमा, लिङ्गका आधारमा समाजमा अनेक प्रकारका विभाजनका रेखाहरु कोरिएका छ्न । विद्यार्थी संगठनको काम विभाजित जनतालाई एकीकृत पार्नु हो । विद्यार्थी वर्ग आफैमा सिर्जनशील समूह हो ।

नयाँ नयाँ सिर्जनका दीपहरु उनीहरुले जलाउनु पर्छ । तिनै चेतनाका दीपहरुले बैरीको संसार गलाउँदै जानुपर्छ । अरुलाइ एकजुट हुने उपदेश बाड्दै हिड्ने मात्र होइन, विद्यार्थी संगठनले आफैमा पनि एकतावद्ध रहन सक्नु पर्दछ । गीतले त्यहीँ सन्देश दिएको छ ।

दुष्टको सेतो आतङ्क जनतालाई सधै तर्साउँछ

यो कालो मैलो बादल बिपुल आँधी बर्षाउँछ

शत्रुको मुटु थर्काउदै जालिको भ्रमजाल तर्काउँदै

शहिदको रगतले रङ्गेको हाम्रो यो रातो झण्डा फरर…. 

जनदुष्मनहरुले जनतालाई सधै आतंकको जालो भित्र राख्न चाहान्छ्न । सत्ता र शक्तिको आडमा जनतालाई आफ्नो दास बनाइराख्न उनीहरुले अनेक प्रकारका भ्रमजालहरु बिछ्याइरहेका हुन्छ्न ।

विद्यार्थी संगठन जनताका बैरीद्वारा बिछ्याइएका ती भ्रमजालहरुलाई च्यात्दै अगाडि बढ्नु पर्छ । जनताको मुक्ती अभियानको बाटो सजिलो र सुखमय अवस्य हुँदैन । त्यसका लागि कठिनतम संघर्षको बाटो बाट अघि बढ्नु पर्ने हुन्छ ।

त्यसरी अघि बढ्दा जनबैरीहरुले अनेक प्रकारका अवरोधहरु तेर्साउन सक्छ्न । जनमुक्ति अभियानका योद्धाहरुले जेलनेलको यातना भोग्नु पर्ने हुन्छ । कतिपय अवस्थामा ज्यान नै जान सक्छ ।

संगठनको झण्डामा जुन रातो रंगको पृष्ठभूमि रहेको हुन्छ, त्यो संघर्षका क्रममा शाहदत प्राप्त गर्ने शहिदहरुको रगतको प्रतीक हो । विद्यार्थी संगठनले सधै शहिदको त्यो योगदानलाई आत्मसात गर्दै विद्यार्थी आन्दोलनलाई अघि बढाउनु पर्दछ ।

यसरी निरन्तर संघर्षको कठिनतम मार्गमा अघि बढे मात्र जनताको आफ्नै ब्यवस्था, स्थापित हुन सक्ने छ । अखिलको झण्डा फररले त्यही शिक्षा दिएको छ ।

गरिबको खुन पिइसके सामन्त शोषक ठालुले

जिन्दगी हाम्रो लिइसके यी तानाशाहीहरुले

दु:खीको न्यानो मायामा देशबासीको छाँयामा

बिहानीलाली बोलाइ हिड्ने अखिलको झण्डा फरर …

हरेक रातपछि बिहानी लाली आउने गर्छ । कसैले चाहेर पनि रातको अन्धकारलाइ सधैभरी रोकेर राख्न सक्दैन ।

परिवर्तन अवष्यमभावी छ । रात पछि दिन आए जस्तै शोषक सामन्त र तानाशाहीहरुको सत्ता ढलेर एकदिन जनताको आफ्नै ब्यवस्था पनि आउनेछ । यहीँ विश्वास आफूले पनि लिदै र जनतालाई पनि दिलाउँदै विद्यार्थी योद्धाहरु अघि बढ्नु पर्छ ।

दिनदुखी र श्रमजीवीहरुको न्यानो मायालाई मनमा साचेर अग्रगमनका पक्षमा विद्यार्थी योद्धाहरु सधै अग्रसर हुनु पर्दछ । गीतले मूलरुपमा त्यहीँ भावलाई बोकेको छ ।

म्युजिक नेपालमा २०४७ सालमा रेकर्ड गरिएको यो गीत रक्तिम सांस्कृतिक परिवारको जनगीति यात्रा भाग २ मा रहेको छ ।

जनगायक जीवन शर्माकै संगीत र उहाँसहित झोकेन्द्र थापा, देउमाया श्रीष र पुष्पा श्रीषको स्वरमा रहेको यो गीतले विद्यार्थी आन्दोलनमा क्रियाशील हरेक योद्धाहरुलाई उर्जा दिइरहेको छ ।

गीत रचनाको पृष्ठभूमि सम्झिँदै जनगायक शर्मा भन्छ्न, ‘विद्यार्थी आन्दोलनले २०३६ साल तिर एउटा उचाइ समातेको थियो । त्यसैको सेरोफेरोमा यो गीत रचना भएको हो । त्यस्तै २०३६र३७ साल तिर हुनुपर्छ बागलुङको हाडिकोट लेकमा भूमिगतरुपमा भएको विद्यार्थीहरुको एक सम्मेलनमा मैले पहिलो पटक यो गीत सुनाएको थिँए ।’

त्यसपछिका अखिल संगठनहरुको प्राय सम्मेलनमा यो गीत घन्किदै आएको छ । विद्यार्थी आन्दोलनलाई आधार बनाएर गीतहरु त अरु पनि बनेका छ्न । तर, अखिलको झण्डा फरर ू जस्तो चर्चित सायद अरु गीत हुन सकेका छैनन ।

यो विद्यार्थी आन्दोलनको सदाबहार गीत बन्न पुगेको छ । गीत रचनाकालदेखि अहिलेसम्म देशमा कैयौँ महत्त्वपूर्ण परिवर्तनहरु भएका छ्न ।

तर श्रमजीवी जनताको पूर्णमुक्ती अझै पनि हुन सकेको छैन । देशको राष्ट्रियता यतिबेला गम्भीर संकटमा छ ।

जनताको महान बलिदानीबाट प्राप्त गणतन्त्र लगाएतका उपलब्धिमाथि कालो बादल मडारिइरहेको छ ।

विद्यार्थी आन्दोलनले स्थापित गरेका मान्यताहरु पनि खोसिदै जान थालेका छ्न । यस्तो बेला सत्ता र राजनैतिक पार्टी विशेषको भजनमण्डली बनेर होइन, देश, जनता र अग्रगमनको पक्षमा विद्यार्थी आन्दोलन केन्द्रित बनोस् ।

आ-आफ्ना समूहका डम्फु बजाउन छोडेर साझा मुद्दाहरुमा विद्यार्थी संगठनहरुले एकीकृत रुपमा सशक्त खबरदारीसहितको संयुक्त आन्दोलन अघि बढाउन आवश्यक छ ।

आफ्नो कर्तब्य र दायित्व समेत बिर्सिएर राष्ट्रघात र जनघाती कार्यतर्फ उद्द्त भैरहेको वर्तमान सत्ता र राजनैतिक नेतृत्वलाई दरो रुपमा खबरदारी गरोस् विद्यार्थी आन्दोलनले ।

५७औँ विद्यार्थी एकता दिवसको सम्पूर्णमा हार्दिक शुभकामना ।

विद्यार्थी दिवसको यस अवसरमा अब सुनौँ बिद्यार्थी आन्दोलनको सदाबहार गीत अखिलको झण्डा फरर….

(लेखक: पत्रकार तथा रक्तिम सांस्कृतिक आन्दोलनमा आवद्ध छन् ।)

IME Remittance