कात्रो किनेर राख्नु मेरी आमा
म एकसरो कपडामा घर बाहिर निस्किएकी छु
घाँसदाउरा गर्दा बनमा एक्लै हुन्छु
स्कुल जाँदाआउदा बाटोमा एक्लै हिड्छु
कामको लागि टाढाटाढा सम्म पुग्छु
थाहा हुदैन कस्ले षड्यन्त्र रच्छ
मानवरुपी दानवहरु यही समाजमा बस्दाँरहेछन्
एक्लै एक्लै हिड्दा जालीको खेलमा पर्न सक्छु
साँझ घर फर्किन भने,म अपहरणमा परेको हुनेछु
त्यसपछि त मैैले सबथोक गुमाउनेछु
मेरो एकसरो लुगा पनि च्यातिएको हुनेछ
नाङ्गो पारेर मेरो लाश कतै फ्यालिएको हुनेछ
त्यो थाहा पाउनासाथ तिमी चिच्याउनेछ्यौ
हो त्यतिवेला,मेरो नाङ्गो शरीर छोप्नको लागि
कात्रो किेनेर राख्नु आमा
लाज त अपराधीलाई होइन तिमीलाई लाग्ने छ
निर्वस्त्र मेरो शरीर देख्दा
तिमी झन भक्कानिनेछ्यौ
गर्व मै असुरक्षित छोरी म जवर्जस्त जन्मिएपनि
आफ्नै समाजभित्र पनि असुरक्षित छु
त्यसैले सचेत बन मेरी आमा
मेरो लागि कात्रो किनेर राख्नु आमा
(बलात्कारपछि हत्या गरिएका चेलीहरुप्रति समर्पित)