कविता,यो हात बाँध्ने बेला होइन : सुनील कुमार पौड्याल

   सुनील कुमार पौड्याल

भीरबाट पहिरोले घिसार्दै ल्याएर
एउटा ढुङ्गालाई गुम्लुङ्ग आफ्नो पछ्यौरीले
घाँटीसम्म छोपेर हिलो र धूलोले
राहत बिसाएको थियो
गाउँलेले बडो जतन र माया दिएर त्यसलाई
गाउँ किनारमा राखेर
धूलो र हिलो धोई पखाली पुछपाछ गरेर
कहिले नबिग्रियोस् भनी
सक्कली पालिस पोतेर
उसलाई टलक्क टल्काए
उसलाई पूजा गरेर भगवान बनाए ।

ढुङ्गाको शिर हुँदैन
त्यसैले उसको दिमाग हुँदैन
भगवान बनेको दम्भले
समतलको माटोलाई थिच्दै थिच्दै
ओरालो लगाएर
उतातिरको गाउँलेले धकेल्दा
खुसी खुसी घस्रिदै
गाउँ जोगाएको बहानामा तिनलाई
अझै बढ्न दिएर
म भगवान हुँ भन्ने दम्भले
वरिपरिको बाली छरपष्ट पारेर
प्रगतिका डोबहरू छताछुल्ल पारेर
गजधम्म राजमार्ग छेकेर बसेको
अहिले गाउँलेहरूले बुझ्न थाले ।
फालिएको ढुङ्गालाई भगवान भनेर पूज्ने
केही गाउँलेहरूअहिले मर्माहत भएकाछन्
ढुङ्गा र भगवानको भेदमा चुक्न पुगेर
पछुताइरहेकाछन्
र त बाँकी गाउँलेहरू सँग मिलेर
अहिले त्यस ढुङ्गालाई उखेल्ने तरखरमा छन्
त्यसलाई खोप्दै खोप्दै
मरन्च्याँसे बनाउने चेस्टामा लागेका छन्
यस्तोबेला प्रगतिको बाधक
आश्रयदाताकै सर्वनाशक
त्यस मूढ ढुङ्गा टुक(याउने काममा
हामी पनि हात बढाऔं साथी
सबैले हात बढाऔं ।

 

IME Remittance