
आँखा खोलेर हेरुँ कि म, बन्द गरेर बसूँ
स्वार्थको यो लडाइँभित्र म कसरी बाँचूँ
कुर्सीकालागि लड्छन कोही
पैसाको लागि मर्छन्
नैतिकता हराएको यस्तो परिवेशभित्र
म कसरी हाँसूँ
मुख थुनेर बँसूँ कि म, श्वास रोकेर बसूँ
कोलाहलमय यो भिडभित्र म कस्को कुरा बुझूँ
आफै आफैमा लड्छन कोही
आफ्नै लागि मात्र मर्छन
विश्वास हराएको यस्तो परिवेशभित्र
म कसरी बाेलूँ
कान बन्द गरूँ कि म, कान खोलेर सुनूँ
दोहोरो यो सँवादमा म कसरी निर्णायक बनूँ
थर्काउदै हिडछन् यहाँ कोही
धम्काएर हिड्छन्
सभ्यता हराएको यस्तो परिवेशभित्र
म यिनलाइ कसरी मान्छे भनूँ
हात बाँधेर बसुँ कि म,दश नंग्रा खियाउँ
हुनेखानेको बिचमा म कस्लाई दुख विसाउँ
दुखीलाई झन् दुख दिन्छन् कोही
निरिहलाई सास्ती कटाउछन्
मानवता हरायो यस्तो परिवेशभित्र
म कसरी निदाउँ
पलेटी कसेर बसूँ कि म,पाइला अघि सारूँ
तछाडमछाडको होडबाजीमा म कहाँ उभिउँ
हिड्नेहरुलाई लडाउछन् कोही
केही गर्न खोज्नेलाई खेद्छन्
शुभेच्छा हराएको यस्तो परिवेशभित्र
म कसरी हिँडूँ
वेदना पोखेर बरबराउ कि म,मनमै लुकाएर राखूँ
संवेदनहिनहररूको बिचमा म कसरी आँसु पाेखूँ
पिडामा झन पिडा थप्छन् कोही
रोदनमा मुस्कुराउछन्
भावना शुन्य यस्तो परिवेशमा
म कसरी ढुक्क बसूँ ?


