मेरो देश कहिले उभिएला ?

 

-सुनील कुमार पौड्याल

उहिले हाम्रो बाले भन्नुहुन्थ्यो
धेरै भो हाम्रो देश सुतेको
बिफरले जीउ नै थिचेको
अब यो तंग्रिने जस्तो देखिएको छ
हिमाल बनेर उभ्भिने छ
खै यो हिमाल भयो कि छुद्र कमाल
उभिनु अगाडि नै
ठेउलाले ढालिदियो
र लम्पसार परेर
यो बालुवाको बगर भयो
कहिले इन्सेपÞmलाइटिसले गाल्यो
कहिले बर्डफ्लुले ढाल्यो
बेलाबेलामा उठ्ने जमर्को गर्दा
कहिले मेनेञ्जाइटिसले हान्यो
शरीर हेर्दा यो चम्किनु पर्ने थियो
सबै अङ्ग ठीकठाक थियो
रोगले कुनै नैतिकता जान्दैन
कुनै मूल्य र मान्यता मान्दैन
अहिले फेरि कोभिडले समायो
उठ्न नसक्ने गरी ढलायो
निर्मम भएर सबै अङ्ग अँठ्यायो
बाको चाहना त पूरा भएन
उहिले बाले दिमागमा बुन्दिएको
मेरो पनि त्यही चाहना
यो उठ्छ भनेर कुरिरहेको
कहिले कुन रोगले गालेर
कहिले कुन रोगले ढालेर
यो हिमाल त के कुरा
यो पहाड वा ढिस्को बनेर पनि
उभिन सकेन
मेरो मनमा
शान्ति भर्न सकेन
तैपनि आशमा बाँचेको छु
कुनैदिन कसैले
यसका शरीरमा धावा बोलेका
र भविष्यमा धावा बोल्न सक्ने
रोगहरूलाई निमिट्यान्न पार्देला
म अझै त्यही आशमा बाँचिरहेछु
त्यही दिन हेर्न
जीवन साँचिरहेछु ।

IME Remittance