म भान्से महिला , कविता : मनु विक

मनु विक

म भान्से महिला
भान्सामा देखिरहेकी छु, बाफको शक्ति
जब ताप निस्कन्छ धुवाँलाई हटाउँदै
जब ज्वाला निस्किन्छ धुवाँलाई पन्छाउँदै
बढ्न थाल्छ चिसोको गति
बढ्न थाल्छ पदार्थको आयतन
बढ्छ या घट्छ
घट्छ या बढ्छ
क्षणभरिमै फेरिन्छ रूप, रङ र आकारहरू
उम्लिन्छन तरलहरू
हुत्तिन्छन् जबरजस्त ढकनिहरू
उछिट्टिन्छन
गुड्छन
चल्छन
ठाँउ फेर्छन पुराना पुराना सामानहरू

आखिर त्यो शक्तिले चल्यो

आखिर त्यो शक्तिले बल्यो ।

मैले जान्न थालेकी छु शक्तिको महत्व
मैले जान्न थालेकी छु शक्तिको गति
त्यैसैले शक्ति सङग्रह गर्नुपर्छ
शक्ति निर्माण गर्नुपर्छ
शक्ति सृर्जिन्छ बाहुमा
शक्ति देखिन्छ मुट्ठीमा
शक्ति भेटिन्छ ज्वालामा
बाहु र मुट्ठीहरु छुट्नुहुदैन
जहाँ बाहु छ त्यहाँ मुट्ठी हुनुपर्छ
बाहु र मुट्ठी डाडु र पन्युँजस्तै हुनुपर्छ।

(नोट यो कविता लेखकको “भान्से महिला” खण्डकाव्यको अंश हो )

 

 

IME Remittance