कविता: हाम्रा मामा

               निलिमा पुन

अगेनाको तिनखुट्टे ओदान
त्यस माथि राखेर पकाउने ताप्के,
ढिँडो मस्काउने फलामकै दाविलो,
कोइला टिप्ने चिम्टा
तिउन पकाउने कराइ
आटो पकाउने कसौंडी,
घाँस काट्ने हँसिया,
कोदो काट्ने खुर्मेली
दाउरा चिर्ने बन्चरो,
सराय नाच्ने तरवाल
कम्मरमा भिर्ने खुकुरी
खेत जोत्ने फाली,
बारी खन्ने कोदाली,
ढुङ्गा फोर्ने घन,
माटो फाल्ने बेल्चा,
कोदोमकै पिस्ने जाँतोको मानी,
पानी खाने आङखोरा
स्वागतद्वारमा राख्ने गाग्री
भतेरमा पकाउने खड्कुंडो,
बत्ति बाल्ने पानस्,
मन्दिरमा राख्ने घण्ट
धजा बाध्ने त्रिशूल,
ढोकामा लगााउने चुक्कल
यी सबै
हाम्रा कमाउने मामाले बनाएका हुन्

आमाले लगाउने चोलो,
बाबाले लगाउने टोपी र स्टकोट
भात ख्वाइमा लगाउने भोटो
बैनीले लगाउने जामा,
दाईले लगाउने कमिज र पाइन्ट
विहेमा लगाउने लगनको कपडा
हाम्रै सिलाउने मामाले सिलाएका हुन्

आटो र पिठो छिन्किने सुपो,
धानकोदो राख्ने भकारी,
चामल राख्ने डाली
कोसेली बोक्ने सोली,
यी पनि
हाम्रै मामाले बनाएका हुन्

नाकमा लगाउने फुली,
कानमा लगाउने मारवडी,ढुंग्री,सिलमुन्द्री
घाटीमा लगाउने जन्तर, सिक्री,कण्ठा
हातमा लगाउने बाला अंगुठी
खुट्टामा लगाउने कल्ली,पाउजु
सबै हाम्रै सुनार मामाले बनाएका हुन्

मेलापर्व, उत्सव, महोत्सव, चाडपर्वमा
रमाइलो बनाउने
मादल,डम्फु, सनाही, कर्नाल, दमाह
ट्यामकुली, झ्याली अनि सारंगी
सबै हाम्रा मामाहरुले नै बनाएका हुन्

मामा भनेको अर्थ
अहिले मात्र थाहा भयो,
आमाको दाजुभाइ भएर मात्र होइन रहेछ
दलित भएर पनि होइन रहेछ
मामाहरु विना सामाजिक जीवन अपुरो रहेछ
काम,क्षमता , कला र सीपको कदर गरिएकाे रहेछ
पुर्खाहरुले सिकाएका संस्कार र संस्कृति रहेछ
पुस्तौंदेखि हस्तान्तरित हुदै आएको पेशा रहेछ
व्यवहारिक ज्ञानले सम्पन्न समुह भएर रहेछ
जो मानव समाजको लागि अपरिहार्य छ

त्यसैले सम्मान छ हाम्रो मामाहरुलाई !
छुत अछुत भन्ने सोच बदलेर
हामी मानव हौ भन्ने सोच राखौ
भेदभाव आफै अन्त्य हुन्छ।

IME Remittance