जीवन शर्माको गीत गुनगुनाउँदै ओलीले भने– पिलो निचोरि फ्याक्दा वजन घटेकाे हुन्न

काठमाडौं ।नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफू पक्षधर केन्द्रीय कमिटी बैठकमा जीवन शर्माको गीत गुनगुनाउँदै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालप्रति कटाक्ष गरेका छन् ।  प्रधानमन्त्री केपी शर्मा ओलीले आफू पार्टी फुटाउन अग्रसर पनि नहुने र कसैमाथि कारवाही पनि नगर्ने बताएका छन् ।मंगलबार आफू पक्षीय केन्द्रीय सदस्यहरुको बैठकमा उनले यस्तो बताएका हुन् ।

गत आइतबार संसद विघटन गरेपछि नेकपामा ओली र प्रचण्ड–नेपाल समूहको छुट्टाछुट्टै बैठक राखेका थिए। यसैक्रममा मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको आफूपक्षधरको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले प्रचण्ड–नेपाल समूहलाई कटाक्ष गरेका हुन् ।तर पार्टी विभाजनको सम्भावनालाई उनले अस्वीकार गरेनन् । बैठकलाई सम्बोधन गर्दै उनले आफू इतर पक्षलाई पिलोसँग तुलनासमेत गरे ।उनले जीवन शर्माको गीत गुनगुनाउँदै गर्दै भने, ‘पिलो निचोरी फ्याँक्दा वजन घटेकाे हुन्न ….।’

यसैगरि प्रचण्ड–माधव नेपाल समूहले पनि  केन्द्रीय समितिकाे बैठक राजधानिकाे कार्की ब्याङ्केटमा बसेकाे थियाे  ।

केपी ओलीलाई अध्यक्षबाट हटाउने प्रचण्ड–माधव समूहको निर्णय

 प्रचण्ड–माधव नेपाल समूहको केन्द्रीय कमिटी बैठकले केपी शर्मा ओलीलाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को अध्यक्षबाट हटाउने निर्णय गरेको छ ।

मंगलबार काठमाडौं थापाथलीको कार्की  पार्टी प्यालेसमा बसेको बैठकले ओलीलाई पार्टीको अन्तरिम विधान अनुसार अनुशासनको कारबाही गरी अध्यक्ष पदबाट हटाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

ओलीले ऐतिहासिक राजनीतिक परिवर्तन, संविधान, लोकतन्त्र, पार्टी एकताको विरुद्धमा कार्य गरेकाले पार्टी अनुशासनको गम्भीर उल्लंघन गरेकाले पार्टीको अन्तरिम विधान अनुसार अनुशासनको कारबाही गरी पार्टी अध्यक्षको जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरेको उनले बताए ।

त्यसपछि रिक्त भएको एक जना अध्यक्ष पदमा नेता माधवकुमार नेपाललाई चयन गर्ने निर्णय गरेको छ । मंगलबारको बैठकले नेता कृष्णबहादुर महरालाई स्थायी कमिटी बैठकमा मनोनीत गर्ने स्थायी कमिटीको प्रस्तावलाई पनि अनुमोदन गरेको छ ।

बैठकले संसद विघटनको घोषणालाई असंवैधानिक, अलोकतान्त्रिक, प्रतिगामी, निरंकुश र स्वेच्छाचारी भन्दै भर्त्सना र अस्वीकार गर्ने निर्णय पनि गरेको छ ।

प्रवक्ता श्रेष्ठका अनुसार बैठकले अविलम्ब संसदको अधिवेशन आह्वान गर्न र संसदको नियमित काम सञ्चालन गर्न माग गरेको छ । संसद विघटनको निर्णयविरुद्ध संघर्ष गर्ने निर्णय पनि गरेको उनले जानकारी दिए ।

IME Remittance