तामाको सिरानीमा सुतेको नर्जा

‘टुप्पीभन्दा माथि ठाउँ छैन, गुर्जाभन्दा माथि गाउँ छैन’, यो उक्ति म्याग्देलीको हो । ठ्याक्कै उस्तै भनाइ पश्चिम बागलुङतिर पनि सुन्न पाइन्छ, ‘टुप्पीभन्दा माथि ठाउँ छैन, नर्जाभन्दा माथि गाउँ छैन ।’ नर्जा र गुर्जा दुवै सुदूर सुन्दर गाउँ हुन् । त्यहाँको विकट भूगोल र कठिन दिनचर्या झेलेका कसै न कसैले ती उक्ति रचेको हुनुपर्छ । तिनै उक्ति पछि आएर जनबोलीमा मिसिए अनि ती गाउँका दुःख सुनाउने सहारा बने । कतिले त नर्जा र गुर्जालाई अन्तिम गाउँका रुपमा समेत लिन्छन् ।अहिलेको पुस्ताले सुगम क्षेत्र मात्र बस्न रुचाउने भएकाले यी दुई सुन्दर गाउँको इतिहास थाहा नपाएको पनि हुनसक्छ । बागलुङको तमानखोला गाउँपालिका–६ स्थित नर्जा र म्याग्दीको धवलागिरि गाउँपालिका–१ मा पर्ने गुर्जा गाउँबीचको भौगोलिक दूरी लामो छ ।
     जटिल भू–बनोट छकेहीअघिसम्म सबैभन्दा दुर्गमको परिचय यिनै गाउँले बोक्थे । गाउँको अवस्थिति तथा भूगोलको बनोटले नर्जा र गुर्जा विकट लागे पनि प्राकृतिक स्रोत, साधन र खनिजका दृष्टिले यी दुई गाउँको निकट साइनो छ । दुवै गाउँमा अल्पसङ्ख्यक छन्त्याल जातिको बाहुल्य बसोबास छ । आफ्नै संस्कृति र रहनसहन छ । कुनै बेला छन्त्याल जातिको पुख्र्यौली पेशा तामाखानीमा निर्भर थियो । यही क्षेत्रमा पर्ने ‘उपल्लो बाइस खानी’को सञ्चालन छन्त्यालहरुले नै गर्थे । म्याग्दीको मल्कबाङखानी, मच्छिमखानी, गुर्जाखानी हुँदै बागलुङको लाम्मेलाखानी, गुर्जाखानी, खुङ्खानी, बोङ्खानी, घोसाखानी, घैयाखानीलगायत ‘उपल्लो बाइस खानी’ अन्तर्गत थिए । पछि खानीकै नामबाट गाउँ चिनिन थाले । लेखाइ र बोलीचालीमा नर्जा÷नर्जाखानी र गुर्जा÷गुर्जाखानी दुवै शब्द प्रचलित छन् । तमानखोला गाउँपालिकाको केन्द्र बोङ्गादोभानबाट १५ किमी मोटर यात्रापछि नर्जा आइपुग्छ । भीमकाय पहाडले घेरिएर बीचमा थपक्क बसेको छ नर्जा गाउँ । बयली, मालिका र नौडल्लेको धुरी हेर्दा चल्तीको उक्ति स्मृतिमा आइपुग्छ, ‘टुप्पीभन्दा माथि ठाउँ छैन, नर्जाभन्दा माथि गाउँ छैन ।’ माथि गाउँ नभएर के भो चारैतिर प्राकृतिक स्रोत र खनिजले युक्त छ नर्जा । वडाध्यक्ष कुलबहादुर छन्त्यालको भनाइमा नर्जा गाउँ ‘तामाको सिरानी राखेर सुतेको’ छ । त्यस वडाका नर्जाखानी, भित्रीवन र पात्ले गाउँको सिरानपट्टि तामाखानीका सयौँ तोबा (प्वाल), सुरुङ र अवशेष छन् ।
        माटो सुँघेर खानी पत्ता लगाउने पुस्ता स्थानीयवासी ओमप्रकाश छन्त्यालले आफ्ना बाजे, पुर्खाले ‘माटो सुँघेर’ खानी पत्ता लगाउने गरेको किस्सा सुनाउनुभयो । “त्यतिबेला सलाई भन्ने थिएन, निगालो काटेर, हप्तौँ दिनसम्म पानीमा भिजाएर त्यही बालेर सुरुङ खन्ने, तामा निकाल्ने काम हाम्रा पुर्खाहरुले गर्थेे”, उहाँले भन्नुभयो । खानी खन्दै नर्जा आइपुगेका छन्त्यालका पूर्वजहरुले पछि यतै थातथलो बसाएको उहाँको भनाइ छ । “छन्त्यालको मुख्य पेशा नै तामाखानी चलाउने थियो, खानी बन्द भएपछि यही ठाउँमा खेती र पशुपालन गरेर बसे”, स्थानीयवासी विष्णु आधारभूत विद्यालयका प्रधानाध्यापकसमेत रहनुभएका छन्त्यालले भन्नुभयो । उहाँले घरछेउको आँगनमा छिनो, घनसहित र निगालोको नमुना बत्ती बनाएर तामाखानी खन्ने परम्परागत विधिसमेत देखाउनुभयो । बुबा रुपलालले खानीबाट उत्खनन गरेको तामाको धाउ (टुक्रा) देखाउँदै उहाँले नर्जा गाउँ वरिपरि पहिरो जाँदासमेत तामाका धाउ निस्कने गरेको बताउनुभयो । छन्त्यालका अनुसार खानीका अवशेष रहेका ठाउँमा अहिले पनि तामाका धाउ भेटिन्छन् । वडाध्यक्ष कुलबहादुरका अनुसार पुस्तौँदेखि चलेका तामाखानी श्री ३ चन्द्र शमशेरको पालामा विसं १९८१ देखि बन्द भएका हुन् । तत्कालीन सरकारले कर (भेजा उठाउने) नियम बसालेपछि गाउँलेले तामा निकाल्न छाडेका थिए । छन्त्यालहरुले रैथाने प्रविधिबाट तामा उत्खनन गर्थे । घन र छिनोको सहायताले महिनौँ लगाएर सुरुङ खन्थे, तामाका धाउ निकाल्थे । धाउ गालेर भाँडावर्तन बनाउँथे । कतिले त्यही बेचेर जीविका धान्थे । अहिले पनि नर्जाका कतिपय घरमा त्यहीँको तामाबाट बनेका परम्परागत भाँडाकुँडा छन् । “यहाँका तामाखानी उत्खनन गर्न सके राज्यले ठूलो लाभ लिने थियो”, वडाध्यक्ष कुलबहादुरले भन्नुभयो, “अहिले त अवशेष पनि मेटिन थालेका छन्, तामाखानीको अस्तित्व नै हराएर जाने भयो ।” स्थानीयवासीले बेलाबेलामा तामाखानी संरक्षण र उत्खननको आवाज उठाउने गरे पनि सुनिदिने कोही छैन । नर्जा पुगेका आगन्तुकलाई गाउँलेले तामाखानीका सुरुङ र अवशेष देखाउँछन् । खानी उत्खनन गर्नुपर्ने आफ्नो मागलाई सम्बन्धित पक्षसम्म पु¥याइदिन माग गर्छन् । गाउँलेलाई तामाखानीको अस्तित्व नामेट हुने हो कि भन्ने चिन्ता छ । तामाखानीका सुरुङ वन्यजन्तु लुक्ने थलो बनेका छन् । कति पुरिइसकेका छन् । पहिले छन्त्यालहरुको मुख्य पेशा नै तामाखानी चलाउने थियो । कर बापत तामा नै सरकारलाई बुझाउने प्रावधान आएपछि पुरानो पुस्ताले खानी खन्न छाडेको प्रअ ओमप्रकाशको भनाइ छ । राज्यलाई तिर्नुपर्ने करलाई त्यसबेला भेजा उठाउने भनिन्थ्यो । “हाम्रो ठाउँमा कर उठाउने जिम्मा सात गाउँका डिठ्ठा वर्षवीर छन्त्यालले लिएका थिए” उहाँले भन्नुभयो, “कर बढी लागेपछि गाउँलेले खानी खन्नै बन्द गरे, पछि खानी सञ्चालनमा आउन सकेनन् ।” खोज, उत्खनन गर्ने हो भने तामाखानीको प्रचुर सम्भावना रहेपनि त्यसतर्फ कसैको ध्यान नगएकामा उहाँको दुःखेसो छ । त्यहाँका खानीबाट निकालिएको तामा महँगा भाँडावर्तन र सिक्का बनाउन प्रयोग गर्ने गरिन्थ्यो । खानीमा महिनौ बिताएर उत्खनन गरेको तामाबाट स्थानीयले जिवीकोपार्जन गर्थे । एक पाथी कच्चा पदार्थबाट साढे ७ सय ग्रामसम्म तामा निक्लन्थ्यो । तामा उत्खननको जिम्मा छन्त्यालले लिएपनि त्यसलाई आफर लगाउने (पगाल्ने) काम दलित र बेच्ने काम थकालीले गर्थे ।
IME Remittance