बुकुरोभित्र हुर्केका आशाको कथा: म्युजिक भिडियाे ‘म एक दिन’

        नारायण शर्मा

“गीतमा हाम्रो समाजभित्रका धेरै पक्षहरुलाई समेट्न खोजेको प्रष्ट बुझ्न सकिन्छ । हाम्रो समाजभित्र श्रम गर्न श्रमजीवी वर्गलाई हिनहेलत्वको दृष्टिले हेर्ने, छुवाछूत र जातीय विभेदको व्यवहार गर्ने जुन गलत सोचाई र
प्रवृत्तिहरु विद्यमान छन् ,त्यसलाई पनि गितकारले यस गीतमा प्रष्ट इंगित गर्न खाजेको देखिन्छ “।

कुनै पनि सन्तान आमा बाबाका निम्ति आशाका टुक्रा हुन्छन्। चुहिने झुपडी र बुकुरो भित्रै जन्मिएको सन्तान किन नहोस्, आमा–बाबाका निम्ति आफ्नो त्यो सन्तान दरबारमा जन्मिएको राजकुमार भन्दा बढी लाग्छ । आफ्ना सन्तान सबैलाई  प्रिय लाग्छ । आफ्ना सन्ततिकाे सुन्दर भविष्यका निम्ति उनीहरुले घामपानी नभनेर दशहण्डर दुःख खेपिरहेका हुन्छन् । दुःख पिडा र व्यथाहरुलाई आफ्नै मनभित्रै दवाएर आफ्ना सन्तानका रहरहरुलाई खुशी साथ पूरा गर्ने प्रयास गरिरहेका हुन्छन् आमा–बाबाले ।  त्यही चुहिने झुपडीबाट जिवनयात्रा शुरु भएर संघर्ष गर्दै सम्पन्नताको मार्गतर्फ अघि बढेका तिनै आशाका टुक्राहरुको यथार्थ जीवनकथालाई गीत बनाएर ल्याएएका छन् , चर्चित संगीत संयोजक बी.बी. अनुरागीले । “म एक दिन” बोलको याे गीत सुन्दा प्रायः मानिसले त्यसभित्र आफ्नै कथा र व्यथा पाउन सक्छन् । नेपाल आइडियल सिजन–२ का विजेता रवि ओडको स्वरमा रहेको यस गीतका प्रत्येक शब्दहरु निकै सरल तर गम्भीर भाव बोकेका हृदयस्पर्सी खालका छन् :

म एक दिन झरिमा निथु्रक्क भिजे
त्यो चुहिने झुपडीकी आमालाई सम्झे
म एक दिन चर्को घाममा हिंडे
त्यो आगो सहेको बाबालाई सम्झे………….

सन्तान समयक्रमसँगै हुर्किएर बढ्दै जाँदा जब दुःख र कष्टका पहाडहरुसँग ठोकिन थाल्छ तब मात्र उसले आफ्ना बाबा आमाले आफूलाई हुर्काउँदा व्यहोर्नु परेको दुःख र सास्तीलाई अनुभूत गर्न थाल्दछ । आफू झरिमा भिजेपछि बल्ल चुहिने झुपडीमा आफू भिजेरै भएपनि आफ्नो सन्तानलाई त्यो पानीबाट जोगाउन कोखिलाभित्र आमाले च्यापेको त्यो दृश्य सम्झन्छ उसले । चर्को घाममा हिंडेपछि मात्र उसले बल्ल बुझ्छ आफ्ना सन्तानको पेट भोकै नरहोस भनेर प्रचण्ड गर्मीमा पनि बाबा काममा जोतिइरहनुको अर्थ । आफू भोकै प्यासै रहेरपनि सन्तानको पेट भर्नका लागि अहोरात्र काममा खटिइरहने बुकुरो र झुपडी भित्रका ती बाबा आमाहरुको यथार्थ मर्म बोलेको छ, यसस गीतले । गीतकारले यहाँ झुपडीभित्र जन्मिएर गरिबी, अभाव र तिरस्कारसँग संघर्ष गर्दै सफल जीवनतर्फ अघि बढिरहेका मानिसहरुको मनमा उब्जने मनोभावलाई गीतका शब्दहरुमा टपक्क टिपेर उतार्ने प्रयास गरेका छन् । मानिस सम्पन्नताको जतिसुकै उचाईमा किन नपुगोस् उसलाई आफ्नो विपन्नतामा बितेको त्यो अतितले पलपलमा झस्काइरहेको हुन्छ । फरक यति हो कि कसैले त्यो अभिव्यक्त गर्छन त कसैले लुकाएर अभिनय गर्छन् । गरिबी र विपिन्नतामा बितेको त्यो विगत सम्झँदा आफ्नो अहिलेको प्रतिष्ठामा आँच पुग्ला भनेर आफ्नो त्यो विगत छिपाउने मानिसहरुको कुनै कमी छैन यो समाजमा । शहर बजारको रमझम र विदेशी संस्कार संस्कृतिको मोहमा फसेपछि कतिपय मान्छेहरुले झुपडी र बुकुरो भित्रका मानिसहरुलाई घृणा गर्न थाल्छन् । गाउँको पाखापखेराको बुकुरोभित्र बस्ने आफ्नै आमा  बाबा पनि अबुझ र पाखे लाग्न थाल्छ उनीहरुलाई । सम्पन्नताको पोशाक भिरेर दरिद्र सोचाई राख्ने त्यस्ता निर्दयी मानिसहरुले बृद्ध अवस्थाका आफ्ना आमाबाबालाई बृद्धाश्रम पुराएर छोडेको पनि हामीले देखिरहेका छौं । सहरिया र सम्पन्नताको कथित सभ्य जीवनमा रमेको उसलाई ती आफ्ना आमा बाबा हुन भन्न पनि लाज लाग्छ । मानवयि संवेदना गुमाएका त्यस्ता अमानवहरुलाई कसिलो झापड दिएका छन् गीतकारले यस गीतमार्फत् ।

गीतमा हाम्रो समाजभित्रका धेरै पक्षहरुलाई समेट्न खोजेको प्रष्ट बुझ्न सकिन्छ । हाम्रो समाजभित्र श्रम गर्ने श्रमजीवी वर्गलाई हिनहेलत्वको दृष्टिले हेर्ने, छुवाछूत र जातीय विभेदको व्यवहार गर्ने जुन गलत सोचाई र प्रवृत्तिहरु विद्यमान छन् , त्यसलाई पनि गितकारले यस गीतमा प्रष्ट इंगित गर्न खाजेको देखिन्छ ।

 

म एक दिन शहरको रसरंगमा थिएँ
पुरानै त्यो थाली र बटुकी सम्झे
मकैको अर्नि पोको पारेर
आमाले बाँधेको त्यो पटुकी सम्झें
हेला तिरस्कार भरिएको
नमिठो सत्य कहानी हाम्रो
बल्झेर फेरि चस्किन्छ मुटु
म छोरा त त्यही हु त्यही झुत्रो झाम्रो …..

युगले एक्काईसौं सताब्दीमा पाइला लम्काइरहेको छ तर पनि नेपाली समाजमा भने सोह्रौं सताब्दीका मध्ययुगिन बर्बरता झल्काउने घटना परिघटनाहरु अहिले पनि घटिरहेका छन् । छुवाछूत र जातीय विभेद जस्तो कुप्रथा नेपाली समाजमा अहिले पनि विद्यमान छ । जुन वर्ग र समुदायले सबैभन्दा बढी श्रम गर्छ, पसिना बगाउँछ उसैलाई हीनहेलत्व र छोइछिटो गर्ने प्रचलन हाम्रो समाजमा अहिले पनि जीवित छ । त्यही गलत सोचका कारण नै नेपाली समाजले प्रगतिपथमा गति लिन सकिरहेको छैन । “हेला तिरस्कार भरिएको, नमिठो सत्य कहानी हाम्रो” गीत भित्र रहेको यस पंक्तिले नेपाली समाजमा विद्यमान आसमानताको त्यही पहाडलाई , त्यही कुप्रथालाई नै इंगित गरेको प्रष्ट बुझ्न सकिन्छ । त्यसो त गीतकार अनुरागी स्वयं त्यही वर्ग र समुदायबाट उदाएका राष्ट्रका प्रतिभावान क्षमता बोकेका कलाकार हुन । आफ्नो समुदायप्रति समाजका कथित उच्च जाति भनाउँदाहरुले गरेको हेला र तिरस्कारलाई उनले धेरै नजिकबाट नियालेका छन् । आफ्ना आमा – बाबाले समाजको हीनहेलत्व र तिरस्कार सहँदै आँफूहरुलाई हुर्काउन, बढाउन र पढाउन गरेको संघर्षले उनको मनमा पारेको गहिरो प्रभाव पनि यस गीतमा प्रतिविम्वित भएको हुन सक्छ । तर यो गीत उनको आफ्नै मात्र जीवनकथा मान्नु  सहि हुने छैन । किनकि त्यस्ता भोगाई र घटनाहरु धेरै मानिसको जीवनमा घटेका हुन सक्छन् । यस गीतमा प्रतिविम्वित भाव धेरै मानिसको जीवनकथासँग मिल्न जान्छ । त्यसैले यसलाई बुकुरो र झुपडी भित्र हुर्केका आशाका टुक्राहरुको साझा कथाको रुपमा लिनु नै उचित हुनेछ । गीतले जातिय विभेद , असमानता र गलत सोचका बिरुद्धमा मात्र होइन देशको राजनैतिक अवस्थाका बारेमा पनि बोलेको छ:- ..जमाना फेरियो पहिरन फेरियो फेरेन यो देश र समाजले कोल्टो, गरिब दुःखीको दिन आएन थपिरहेछ समयले पोल्टो, सुनौलो किरण खोज्छ उदाउन विचैमा बन्छ अधकल्चो….। हो, देशमा धेरै राजनैतिक आन्दोलनहरु भए । निरंकुश राजतन्त्रलाइ विदा गरेर नेपाली जनताले देशमा गणतन्त्रको स्थापना गरे । देशमा राजनैतिक व्यवस्था ने परिवर्तन भयो । तर जनताको जीवनमा भने अहिले पनि खासै परिवर्तन आउन सकेको छैन । कुर्सीमा बसेर शासन गर्ने मान्छेहरु फेरिए तर शासन गर्ने शैली फेरिएन । जनताको झुपडी र बुकुरोमा खुशीको दीप अझै पनि बल्न सकेन । देशमा केही पनि परिवर्तन नै भएके छैन भन्ने होइन । केही परिवर्तन अवश्य भएको छ । तर जनताले खोजे झैं परिवर्तन अझै हुन सकेको छैन । समाजको सोच र जनताको जीवनस्तरमा खासै परिवर्तन आउन सकेको छैन ।अरु त अरु राजनैतिक दलका उच्च नेतृत्व तहको सोच मै परिवर्तन आउन सकेको देखिएन । जनताले त्यस्तो महान बलिदानी दिएर ल्याएको गणतन्त्र, जनताका आफ्नै प्रतिनिधिहरु गएर संविधानसभा मार्फत लेखेको संविधान, त्यही नै धरापमा पर्ने हो कि भन्ने सन्त्रास छाउन थालेको छ । प्रमुख भनिने राजनैतिक दलहरुभित्र जुन प्रकारले किचलो बढ्दै गैरहेको छ, यसले ती राजनैतिक दल र त्यसका नेतृत्वहरुको सोंचमा अझै नी परिवर्तन आउन नसकेको प्रष्ट भएको छ । अनियमितता, भ्रष्टाचार, अराजकता, दण्डहिनता, झनै मौलाउँदै गएको छ । देशको राष्ट्रियता, राष्ट्रिय अखण्डता सामु गम्भीर चुनाैति छन । देशले कोल्टे फेर्ला, फेर्ला जस्तो भएको बेला कतै यो परिवर्तन पनि अधकल्चो त रहने होइन ? यो आशंका छाउन थालेको छ । गीतमा गीतकार अनुरागीले देश, जनता र नेताहरुको वर्तमान यथार्थ अवस्था उतारेका छन् । झट्ट सुन्दा यो गीत रवि ओडको आफ्नै जीवनकथा सँग समेत मिले जस्ताे लाग्छ । नेपाल आइडल सिजन २ का विजेता रवि झुपडीबाटै उदाएका गायकका रुपमा धेरैले बुझ्ने गर्छन । भित्री हृदयदेखिे नै समर्पित भावले रविले जसरी यो गीतलाई गाएका छन त्यसले यो गितलाइ झनै कर्णप्रिय बनाएको छ । गीतका शब्दहरुले भाव अनुरुपका संगीत र स्वर पाउन सकेनन भने त्यो गीतमा त्यति मिठास आउँदैन । तर यहाँ त्यस्तो गुनासो गर्ने कतै ठाउँ देखिंदैन । गीतकार संगीतकार र गायककाे जीवन कथा एउटै पृष्ठभागबाट विकशित भएकाले पनि यसकाे साैन्दर्य माथि उठेकाे छ । गीतको छायाँङ्कन पनि अति सरल बनाइएको छ । यसमा कुनै मोडल वा छुट्टै कलाकारबाट अभिनय गराइएको छैन । यहाँ पनि रवि ओडलेनै गाएका छन् । बी.बी. अनुरागीले हार्मोनियम, गोपालदेवले बाँसुरी, सुकराम रसाइलीले किर्वोड, कमल कुमार वि.क.ले अक्टोप्याड, सुवास विश्वकर्माले गितार र शिक्षा रसाइलीले भ्वाइलिन बजाएका छन् । कतै पनि कृतिमता झल्कन्न । याे स्वाभाविक र पत्यारिलो निकै राम्रो बनेको छ  । २०७७ मंसिर ३ गते बी.बी. अनुरागीको आफ्नै युटुव च्यानलबाट सार्वजनिक भएको यस गीतको छायाँकन मिराज अर्याल र ताराकान्त वि.क.ले गरेका हुन् । मास्टरिङ श्यामश्वेत रसाइली र मिक्सिङ सुकुराम रसाईलीको छ । यसको सम्पादन ताराकान्त विकले र व्यवस्थापन सुनिता रसाइलीले गरेका छन् । सबैको एकीकृत प्रयासबाट एउटा मर्मस्पर्शी सन्देशमूलक राम्रो गीत दर्शक र श्राेता सामु आएको छ ।

सर्जक बी.बी.अनुरागीले त्यही दायित्व निभाउन खोजेको देखिन्छ । यस गीतका सर्जक अनुुरागी लगायत यो गीत निर्माणमा योगदान पुर्याएका सम्पूर्ण कलाकर्मीहरुलाई हार्दिक बधाईका साथ यो गीतको उच्च सफलताको हार्दिक शुभकामना ।

आखिर कस्तो छ त गीत “म एक दिन” ? अब सुनौं र हेरौं यो भिडियोमा …….

IME Remittance