पढ्दै थियो गाउँकै स्कूलमा
बल्लतल्ल पाँच पास गरेको थियो
हामी परदेशको गल्लीमा दरवान थियौं
दिदीहरु विहे भएर आफ्नै घरवार बनाउँदै थिए
एक हूल मान्छे आएर
भाइको स्कूलमा गीत गाए रे
नाँचे रे
भाइहरु दर्शक बनेर
नाँच हेरेका थिए रे
श्रोता बनेर
उनीहरुका गीत सुनेका थिए रे
भोलि पल्ट स्कूल पुग्दा नपुग्दै
नाँच हेरेको कारण
गीत सुनेको कारण
बर्दीधारीहरुले भाइका साथीसहित
भाइलाई कहाँ कहाँ पुराए
भाइका छालालाई डामे रे
भाइहरुका आँखामा तोरीका फुला फुले रे
जसोतसो हेडसरले
छुटाएर ल्याएछन् क्याम्पबाट
उनले छुटाउँदा ल्याप्चे लगाएका रहेछन्
कसैका गीत सुन्ने छैनौं
कसैका नाँच हेर्ने छैनौं भनेर ।
छुटेको अर्को दिन फेरि
अर्का बर्दीघारी आए रे
कुरा बुझ्नु छ भनेर लगे रे जंगलतिर
भाइहरु
जाँतो जस्तै भएछन्
सबैले घुमाउनेमात्र
भाइहरु जंगल लगिएको हप्ता दिनभित्र
दोहोरो भीडन्त भयो धेरै हताहत भए रे
सरकारको सूचीमा पनि छैन
मेरो भाइको नाम
आजसम्म द्वन्द्वमा लड्नेहरुसंग पनि छैन
मेरो भाइको नाम
कति सम्झि रहेछौं त्यही कान्छो भाइ
जसले दम रोगी आमाको स्याहार गथ्र्यो
बाथरोगी बाबाको ख्याल राख्थ्यो
हामी परदेशमा नै थियौं
उही कान्छो भाइको यादमा
आमा रोइ रहनु हुन्छ आज पनि
बाबा एकोहोरिनु हुन्छ धेरैजसो
दिदीहरु, भाइ हराएको भाइटीकामा
उदास उदास मन लिएर
भाइहरु लगिएका जंगलतिर हेरि रहन्छन्
हामी दाइहरु कान्छो नभएको
भाइटीकामा
ओखर जस्तै साहे मन लिएर
मखमली सपना बुन्दै
कान्छो भाइको बाटो हेरि रहेका हुन्छौं
कान्छो आउँछ कि कतै !
भाइटीका थाप्न दिदीहरुका हातबाट …..?
मनमा आशाको दीयो बलेकै छ ।
(लेखक प्रलेस रूपन्देहीका जिल्ला अध्यक्ष हुन)