महाकवि लक्ष्मीप्रसाद देवकोटालाई हेर्दा : निनु चापागाई‌

निनु चापागाई‌

लक्ष्मीप्रसाद देवकोटा (सन् १९०९–१९५९) नेपाली साहित्यका अजङ्का व्यक्तित्व हुन् खास गरी नेपाली काव्यविधाका । उनी नेपाली जनताले अत्यन्त मनपराइएका साहित्यकारमध्येका प्रमुख हस्ती समेत हुन् । नेपाली साहित्यका अतिशय भावुक, कल्पनाकाशमा विचरण गर्न असाध्यै मनपराउने, विराट् सृजन सामर्थ्य र असाधारण प्रतिभा भएका आशु कवि र कतिपय सन्दर्भमा विवादास्पद व्यक्तित्व पनि हुन् देवकोटा । देवकोटा र उनको साहित्यिक रचनाका बारेमा फरकफरक ढङ्गले व्याख्या र मूल्याङ्कन हुँदै आएको छ ।  सहज तरिकाले उनको मूल्याड्कन गर्नु किन पनि अप्ठ्यारो छ भने उनका साहित्यिक रचनालाई सन्दर्भित गरेर मध्ययुगीन परम्परावादीहरू, पुँजीवादीहरू र समाजवादी चिन्तन राख्ने मानिसहरूले उनलाई आआफ्ना चिन्तनप्रणालीभित्र राखेर हेर्ने भगीरथ प्रयत्न अहिलेसम्म पनि गरिरहेका छन् । यसका निम्ति देवकोटाको साहित्यभण्डारले समेत धेरथोर आधार प्रदान गरेकै छ । देवकोटाको वैचारिक विकासलाई आधार बनाएर हेरेको खण्डमा मात्र उनलाई सहज रूपले बुझ्न सकिन्छ भन्ने मेरो मान्यता छ । उनको जन्मदिनको सन्दर्भमा यस लेखमा यही कार्य गरिदैँ छ ।

देवकोटा कुनै खास भौतिक वा आध्यात्मिक वैचारिकताको साँघुरो वृत्तभित्र बन्दी बन्न मन पराउँदैनन् भनेर देवकोटामा पाइने प्रगाढ युगबोध, जनता तथा राष्ट्रप्रतिको समर्पणभावलाई उपेक्षा गर्ने, उनमा क्रमशः विकास भैरहेको वैचारिक पक्षलाई लुकाउने र अझ अनावश्यक रूपमा यसैलाई आधार बनाएर उनीमाथि प्रहार गर्ने नियोजित बौध्दिक प्रयत्न बेलाबेलामा हुँदै आएको छ । देवकोटा मूलतः युग र यथार्थप्रति अत्यन्त इमानदार र यही क्रममा आफ्नो चिन्तनलाई पनि परिमार्जित गर्दै अघि बढेका साहित्यकार हुन् । कविका रूपमा सार्वजनिक प्रकाशनमा आएकै वर्ष (१९३४) देखि उनले नेपालका गरिब र विपन्न जनताप्रति सहनुभूति, धनी, सम्पन्न र विलासी जीवनप्रति विरोध र श्रमप्रति सम्मान प्रकट गर्न थालेका छन् । यो मूल भावनामा उनी आजीवन अविचल रहे । गरिब जनताको भलाइकै निम्ति उनी राणाशासनविरोधी बने, पुँजीवादी लोकतन्त्र र मानवतावादको समर्थन गर्दै यसको सक्रिय कार्यकर्ता बने । ज्ञान र अनुभवको विस्तार हुँदै गएपछि त्यसबाट नेपाली जनताको भलाइ नहुने रहेछ भन्ने निचोडमा उनी पुगे र यसपछि मार्क्सवाद र समाजवादी मानवतावादको समर्थक बन्न पुगे । गरिव जनताप्रति सहानुभूति र सम्पन्न वर्गप्रतिको विरोधी भावनाबाट थालनी गरेर विकास गर्दै मार्क्सवादको प्रभावसम्म पुगेका भावनाप्रवण साहित्यकार देवकोटाको विकासक्रमलाई बुझ्न नसकेकाहरूले उनलाई सिध्दान्तहीन भनेर आक्रमण गर्दै आएका छन् र यो उनीमाथि सरासर अन्याय हो । निश्चय नै वैचारिक दृष्टिले देवकोटा आफ्नो साहित्यिक जीवनमा एक समान छैनन् । उनमा प्रशस्त विरोधाभास र अन्तर्विरोध छन् । तर उनको साहित्यिक विकासलाई दृष्टिगत गरेर उनका विचारलाई अध्ययन गर्न सकेको खण्डमा उनमा रहेका असङ्गतिलाई राम्ररी बुझ्न सकिन्छ ।

                                                      महाकवि लक्ष्मीप्रसाद देबकोटा

 

साहित्यका प्रायः सबैजसो विधामा हात चलाउने विराट् बहुमुखी प्रतिभाका धनी लक्ष्मीप्रसाद देवकोटा मूलतः कवि हुन् । उनले आफ्नो पचास वर्षको अल्पायुमा चार दशक साहित्य साधनामा लगाएका छन् । उनका थाहा भएका प्रकाशित अप्रकाशित करिब पचासीवटा पुस्तकहरूमध्ये मात्र पन्ध्रवटा जति कृति कविताइतर विधासँग सम्बन्धित छन् । नेपाली साहित्यमा आत्मगत निबन्धको क्षेत्रलाई सर्वप्रथम मलिलो र हराभरा बनाउने र आधुनिक नेपाली निबन्धको संस्थापनामा प्रमुख भूमिका खेल्ने निबन्धकार देवकोटामाथि कवि देवकोटाको छाया पर्याप्त मात्रामा अनुभूत गरिने यथार्थ हो । निर्विवाद रूपले देवकोटा स्वच्छन्दतावादका मुख्य सूत्रधार र प्रणेता हुन् । पहिलो पटक कविता प्रकाशन (१९३४) भएदेखि मृत्यु(१९५९) पर्यन्त उनले स्वच्छन्दतावादी कविताहरू नै सृजना गरेका छन् ।

यहाँनिर प्रसिध्द भारतीय विद्वान् राहुल सांकृत्यायनको भनाइ असाध्यै मननीय छ । देवकोटाले नेपालको स्वच्छन्दतावादमा दिएको योगदानको प्रशंसा मात्र यसमा छैन देवकोटाको नेपाली साहित्यमा रहेको अद्वितीय स्थानलाई पनि यसले सड्केत गरेको छ । उनले भनेका छन् : नेपाली कविताले हाम्रा चार शताब्दीको मञ्जिल एक शताब्दीमा पूरा गर्नु प¥यो तर यो हतारले गर्दा उसलाई अपरिपक्व सम्झिनु हुँदैन । यसको एउटा सबुत महाकवि देवकोटा हुन्, जसमा न केवल हामीले हिन्दीका प्रसाद–पन्त–निरालाका पूर्ण रूप नै पाउँछौं, बरु उहाँमा यदि हामीले एकापट्टि ‘प्रियप्रवास’का कवि हरिऔधलाई विकसित रूपमा देख्छौं भने अर्कोतिर एउटा अर्के महाकविलाई पाउँछौं, जो अहिलेसम्म हिन्दीमा जन्मेकै छैन’ । यो देवकोटाको उच्च मूल्याङ्न किन हो भने यी प्रसिध्द हिन्दी कविहरू छायावादी वा स्वच्छन्दतावादी कवि हुन् र तिनको योगदान हिन्दी साहित्यमा बिर्सिनसक्नुको छ ।

अभिजात्यवाद वा शास्त्रीयतावादद्वारा प्रचारित निरङ्कुशतावादको जडता वा हठवादिताबाट मुक्ति पाउने प्रयत्नका रूपमा विश्वसाहित्यमा स्वच्छन्दतावादको उदय भएको थियो । पहिलो चरणको अवधिमा निरड्कुशतावादप्रति असन्तुष्ट रहेका देवकोटाले त्यसलाई सहजै कवितामा अभिव्यक्त गर्न सकेका छैनन् । उनले सामाजिक पटिपाटीबाट असन्तुष्ट भएकै कारणले यसबाट पलायन गरेर प्रकृतिको शरण लिएका छन् । विश्वसाहित्यमा पाइने स्वच्छन्दतावादका मूलतः परस्परविरोधी दुई किसिमका प्रवृत्तिहरू– निष्क्रिय स्वच्छन्दतावाद र सक्रिय स्वच्छन्दतावाद– देवकोटामा पनि पाइन्छन् । सक्रिय स्वच्छन्दतावादलाई चलनचल्तीमा क्रान्तिकारी स्वच्छन्दतावाद भन्ने गरिएको छ र यसका पनि दुईवटा रूप छन् । क्रान्तिको पक्षमा र रचनाविधिमा एकसमान भएर पनि यसको एउटा धाराले पुँजीवादी मानवतावादको पक्ष लिन्छ भने अर्कोले चाहिँ  समाजवादी मानवतावादको । यसले साम्यवादलाई आदर्शका रूपमा ग्रहण गर्दछ । देवकोटाले स्वच्छन्दतावादका यी सबै रूपलाई आफ्ना कवितामा उच्च कलात्मक मूल्यसहित अपनाएका छन् । यो पनि देवकोटाको एउटा विशेषता हो । देवकोटा १९३४ देखि १९४६ सम्म निष्क्रिय स्वच्छन्दतावादी, १९४७ देखि १९५० सम्म पुँजीवादी मानवतावाद–समर्थक सक्रिय(क्रान्तिकारी) स्वच्छन्दतावादी  र १९५१ देखि १९३३ सम्म समाजवादी मानवतावाद–प्रभावित क्रान्तिकारी स्वच्छन्दतावादी रहेका छन् । तर निष्क्रिय स्वच्छन्दतावादी प्रवृत्ति देकोटाका पछिल्ला दुई चरणमा पनि निरन्तर प्रवाहित रहेको कुरा यस सन्दर्भमा अविस्मरणीय छ । उनी मूलतः आफ्नो साहित्यिक यात्राका सबै मोडहरूमा मानवतावादी रहेका छन् र उनको मानवतावाद पछिल्ला चरणमा क्रमशः विकसित हुँदै गएको छ ।

तर्कबुध्दिवादलाई विशेष महत्त्व दिने अभिजात्यवादका विरुध्द कल्पनाशीलता, अनुभूति, संवेग–आवेग र सृजनात्मक हर्षातिरेकलाई सर्वोपरि महत्त्व दिने, प्रकृतिको रहस्यमय पूजा गर्ने, प्रेम, कलात्मक सृजन र धार्मिक अनुभूतिलाई अपरिमितको उपलब्धिको साधन मान्ने, प्रकृतिका विभिन्न पहलुहरूलाई उद्घाटित गर्ने र पूर्णतया तर्क–बुध्दिहीनता वा भावनात्मक पक्षको चित्रणमा सीमित हुने निष्क्रिय स्वच्छन्दतावादी प्रवृत्ति नै पहिलो चरणका देवकोटामा केन्द्रीय स्थानमा छ । यसरी नै मध्ययुगीन अतीतलाई आदर्शीकरण गर्ने, अतर्कबुध्दिवाद र रहस्यवादलाई प्रतिस्थापित गर्ने, भाग्यवादी विचारहरूलाई मूर्तीकरण गर्दै नियतिका सामु मानिस र उसमा भएको बुध्दिविवेकको कुनै महत्व छैन भनेर पुष्टि गर्ने थप विशेषता पनि देवकोटाको यस चरणको साहित्यमा प्रबल रूपमा पाइन्छ । यस अतिरिक्त लोकपरम्पराप्रति अनुराग, ग्रामीण एवम् बाल्यजीवनप्रति मोह, श्रमप्रति श्रध्दा, गरिब र विपन्न जनताप्रति सहानुभूति स्वच्छन्दतावादमा प्रकट हुने केही पक्षहरू पनि देवकोटामा पाइन्छन् । लेखनाथ पौड्याल, बालकृष्ण सम र सोमनाथ सिग्द्याल आदि साहित्यकारहरूले बढाएको नेपाली अभिजात्यवादको प्रतिक्रियास्वरूप रचना गरिएका देवकोटाका प्रथम चरण (१९३४–१९४६) का कविता–काव्यहरूले उपर्युक्त विशेषताहरूलाई पूर्णतया आफूमा समावेश गरेका छन् ।

देवकोटाको यस अवधिको सर्वश्रेष्ठ, अझ उनका सबै कृतिहरूमा समेत श्रेष्ठ भनेर मान्ने गरिएको खण्डकाव्य ‘मुनामदन’ नेपाली जनताका बीचमा अति लोकप्रिय हुनुको एउटा प्रमुख कारण राणाशासनको आर्थिक शोषणबाट विपन्नतर बन्दै गएका निम्नवर्गका नेपालीहरूले घरपरिवारलाई चटक्क छाडेर अर्थोपार्जनका निम्ति भोट (तिब्बत) पस्नुपर्ने बाध्यता र त्यसको परिणामबाट उत्पन्न हुने कारुणिक अवस्थालाई प्रतिबिम्बन गर्नु नै हो । यस अतिरिक्त यस काव्यले हेला गरिएको झ्याउरे लोकलयलाई प्रतिष्ठापित गर्ने, श्रमजीवी समुदायका आम मानिसलाई नायकनायिका बनाउने, शासक वर्गका पात्रपात्रालाई महत्त्व दिने परिपाटीका विपरीत जनजातिको पात्रलाई उदात्त चरित्र प्रदान गर्ने कार्यसमेत गरेको छ । देवकोटाले यसपछि केही खण्डकाव्यमा जनजातिबाट आएका पात्रलाई नायकत्व प्रदान गर्ने ऐतिहासिक दायित्वसमेत निर्वाह गरेका छन् । कुञ्जिनी खण्डकाव्यमा गुरुङ जातिलाई, लुनी खण्डकाव्यमा शेर्पा जातिलाई र म्हेन्दु खण्डकाव्यमा तामाङ जातिलाई नायकत्व प्रदान गरेर उनले नेपाल राष्ट्र शासक जातिको मात्र होइन, अनेक जनजातिका मानिसहरूको साझा देश हो र सबै जातिले उत्तिकै सम्मान र उत्तिकै अवसर पाउनुपर्छ भन्ने कुरालाई व्यक्त गरेका छन् । नेपाली साहित्यमा देवकोटाको यो ऐतिहासिक योगदान हो । तथापि ‘मुनामदन’ का सन्दर्भमा हामीले बिर्सन नमिल्ने कुरो के छ भने यो यथार्थवादी सोचलाई मुखरित गर्न होइन धनभन्दा मानसिक सुख, शान्ति र सन्तोष नै ठुलो हो, धनको लालसाले सरल र सुखी परिवार सखाप हुन्छ भन्ने आदर्शवादी दृष्टि प्रतिपादित गर्दै आत्मिक प्रेम, आत्माको अमरता र दैवी शक्तिमाथि विश्वास जगाउन र प्रकृतितिर फर्कने सन्देश दिनका लागि लेखिएको हो ।

तत्कालीन नेपाली भाषानुवाद परिषद्का अध्यक्ष कथाकार पुष्कर शमसेरसँगको प्रतिस्पर्धास्वरूप दस दिनमा लेखिएको ‘सुलोचना’ महाकाव्यले प्रेमविवाह एवम् विधवाविवाहको समर्थन र नारीउत्पीडनको विरोध गर्दै सुधारवादी भावनालाई अभिव्यक्ति दिए तापनि मूलतः धनी र गरिबका बीचको द्वन्द्व र पुराना र नयाँ पुस्ता एवम् चिन्तनका बीचको सङ्घर्षले सबैलाई विनाशतिर लैजान्छ भन्ने आदर्शवादी धारणा र ईश्वरवादी–आस्तिकतावादी जीवनदर्शनलाई नै मुखरित गरेको छ । प्राध्यापकीय आलोचनाको क्षेत्रबाट र प्राचीन हिन्दूसंस्कृतिका समर्थकहरूद्वारा देवकोटाको सर्वोपरि रचनाका रूपमा बहुप्रचारित, देवकोटाको महाकवित्व यसैमा टिकेको छ भनी पुष्टि गर्न खोजिएको ‘नेपाली शाकुन्तल ’ महाकाव्य देवकोटाको आशुकवित्व, विराट् कल्पनाशीलता, प्रकृतिको व्यापक र विशाल प्रस्तुतीकरण, तीव्र र तीक्ष्ण कवित्व क्षमता र नेपाली महाकाव्यको अभावपूर्तिका दृष्टिले अर्थपूर्ण रहे तापनि सामाजिक उपादेयता र सामाजिक मूल्यका दृष्टिले भने अत्यन्त न्यून महत्त्वको रचना हो। वर्तमानको दीन–हीन अवस्थाबाट मुक्तिका निम्ति पुरानो कथा हाल्ने र अतीततिर फर्कने देवकोटाको यो प्रयत्न वास्तवमा वर्तमानलाई पछिल्तिर धकेल्ने अनुदार प्रवृत्तिको ज्वलन्त नमुना हो । प्रमिथसबाहेकका अतीततिर फर्कने उनका सबै कृतिहरूले प्रायः यही कुरालाई पुष्टि गर्दछन् ।

नयाँ साहित्यिक आन्दोलनको सूत्रपात त्यतिखेर मात्र हुन्छ जतिखेर सामाजिक जीवनले महत्त्वपूर्ण परिवर्तनको अनुभव गर्दछ वा युगका प्रगतिशील तत्त्वहरूले यस्तो परिवर्तनको आवश्यकताप्रति स्पष्टतया सचेत प्रयत्न गर्न थाल्दछन् । असीको दशकदेखि सचेत बौध्दिक एवम् राजनीतिक क्षेत्रले परिवर्तनको आवश्यकताप्रति प्रयत्न थालेकै प्रयत्नस्वरूप नेपाली साहित्यमा स्वच्छन्दतावादको सूत्रपात भएको थियो । तर त्यसले सामाजिक क्षेत्रमा सबल प्रभाव भने पार्न सकेन । १९४१ को ‘सहिदकाण्ड’ नेपाली साहित्यको सन्दर्भमा नयाँ साहित्यिक आन्दोलनलाई सूत्रपात गर्ने कारक तत्त्व किन बन्न पुगेको देखिन्छ भने यसैको वरिपरिदेखि क्रान्तिकारी स्वच्छन्दतावादको उदय हुन थालेको छ । १९३३ को एकाघ वर्षअघिदेखि नै राजनीतिक रूपबाट सचेत नेपाली युवाहरूले निरड्कुश जहाँनियाँ  राणातन्त्रलाई हटाएर त्यसको ठाउँमा संवैधानिक राजतन्त्र वा गणतन्त्रको पुँजीवादी राजनीतिक भूमिगत क्रियाकलापहरू प्रारम्भ गरे तापनि १९४१ मा पुगेर मात्र यो ‘सहिदकाण्ड’का रूपमा सार्वजनिक भयो । राणाशासनको निरड्कुश शोषण–उत्पीडन र सामाजिक जीवनमा महत्त्वपूर्ण परिवर्तनको सहिदहरूले देखाएको आवश्यकताबोधले नै नेपाली साहित्यमा क्रान्तिकारी स्वच्छन्दतावादलाई जन्माएको हो । नेपालको यही सामाजिक–आर्थिक–राजनीतिक पृष्ठभूमिसहित सामन्तवादका बन्धनहरूबाट व्यक्तिगत उन्मुक्तिलाई अतिशय महत्त्व दिने स्वच्छन्दतावादको अङ्ग्रेजी परम्परा र भारतको बङ्गाली र हिन्दीको छायावादी प्रवृत्तिबाट प्रभावित भएर नेपालमा स्वच्छन्दतावादको प्रवर्तन र सम्बर्ध्दनमा लागेका कविहरू नै सर्वप्रथम यतातिर आकर्षित भए । नेपाली स्वच्छन्दतावादी धाराको बीजारोपणमा देवकोटा सँगसँगै क्रियाशील रहेका कवि सिध्दिचरण श्रेष्ठ, एकाध वर्षपछिदेखि स्वच्छन्दतावादी कविताहरू सृजना गर्दै आएका कवि गोपालप्रसाद रिमाल र कवि युध्दप्रसाद मिश्र आदिका कवितामा क्रान्तिका बीजहरू देखा परिसकेका थिए । यसरी १९४१ को निर्मम एवम् अमानुषिक सहिकाण्डको प्रभाव, परिवेश र राजनीतिक जागरणकै परिणामस्वरूप शासकहरूको स्तुतिगान गर्न थालेका कवि देवकोटाले १९४५ तिर ‘एक डल्लो आलु’देखि सामाजिक क्षेत्रमा प्रवेश गर्दै क्रान्तिकारी स्वच्छन्दतावादी रचनाहरू निर्माण गर्न थाले । यहाँदेखि नै उनको कविताको दोस्रो चरण (१७४७–१९५१) प्रारम्भ हुन्छ । यसअघि उनी नेपालको सामाजिक समस्यामा भन्दा प्रकृतिको चित्रणमा आकण्ठ डुब्ने गरेका थिए र झिनो रूपमा गरीब जनताप्रति सहानुभूति प्रकट गर्दै ‘आर्य समाज’को चिन्तनबाट प्रेरित भएर धार्मिक कट्टरता र जातिप्रथाका विरुध्द मात्र वाणी दिइरहेका थिए । १९४१ को घटनाले उनको राजनीतिक चेतनाको द्वारलाई अरू बढी घच्घच्याउने काम ग¥यो । तर देवकोटाका कवितामा त्यसको प्रतिबिम्बन भने १७४६ मा, खास गरी १९४७ देखि मात्र हुन थाल्यो ।

देवकोटा ट्युसन गरेर जीविका चलाउनुपर्ने र सधैँ आर्थिक समस्याबाट पिरोलिइरहनुपर्ने मध्यमवर्गीय परिवारका व्यक्ति हुन् । आर्थिक रोगबाट कहिल्यै मुक्त हुन नसकेका देवकोटाले यस आर्थिक समस्यालाई ‘जन्मजात समस्या’ मानेका छन् । यस समस्याबाट पीडित उनले कयौँ पटक भोकभोकै दिनहरू गुजार्नु परेको छ र औषधोपचारको लागि अर्थको अभावबाट सन्तानहरूसमेत गुमाउनु परेको छ । अर्कातिर उनको आर्थिक रोगलाई मानसिक रोग ठहर्याएर इस्टमित्र, बन्धुबान्धवलगायत साहित्यिक–राजनीतिक साथीहरूबाट समेत उनले अपमानित र तिरस्कृत हुनु परेको छ । १९३० मा पुस्तकालय खोल्ने प्रयत्न गरेको अभियोगमा अन्य पैँतालीस जनासँगै दण्डसजायको भागिदार बन्न पुगेका उनी राणाशासनको निरड्कुश उत्पीडन र शोषणसँग राम्ररी नै परिचित थिए । एकातिर आफूलगायत अधिकांश नेपाली जनताको विपन्न स्थिति र अर्कातिर राणाहरूको वैभवशाली विलासी जीवन र आर्थिक वैषम्यलाई राणाका सन्तानलाई दरबारमै गएर पढाउने क्रममा राम्ररी देखे–बुझेका कवि देवकोटा १९४१ को निर्मम दमनपछि दमनकारी शक्तिहरूको विरोधमा धर्मरिँदै आइपुगे र १९४७ देखि क्रान्तिको वकालत गर्न थाले । १९४७ साल जुलाईदेखि अक्टोबर १९४९ सम्म नेपाली राष्ट्रिय काङ्ग्रेसको मुखपत्र ‘युगवाणी’को सम्पादन गर्ने क्रममा बनारसमा प्रवासी जीवन बिताउँदै उनले उन्मुक्त रूपमा राणाशासनविरोधी क्रान्तिकारी रचनाहरू सृजना गरेका छन् । ‘पहाडी पुकार’ (१९४८) देवकोटाको यस अवधिको बहुचर्चित लामो कविता हो । यसमा उनले राणाकालीन नेपालको सामाजिक जीवनको यथार्थ चित्र प्रस्तुत गर्दै मानवअधिकारका निम्ति सङ्घर्ष र क्रान्ति गर्न आह्वान गरेका छन् । सामाजिक एवम् राजनीतिक समस्याहरूको प्रतिबिम्बन यति सशक्त रूपमा देवकोटाको साहित्यमा यसअघि हुन सकेको थिएन ।

महाकवि लक्ष्मीप्रसाद देबकोटा

नेपाल भित्रिएपछि प्रकाशित १९५० का उनको एउटा कवितालाई अपवाद मान्ने हो भने अन्य सबै कविताहरू निष्क्रिय स्वच्छन्दतावादी, प्रकृतिकेन्द्रित कविताहरू  भेटिन्छन् ।सामाजिक शोषण–उत्पीडनबाट मुक्ति, आर्थिक तथा वर्गीय वैषम्यको समाप्ति र जीवननिर्वाहका निम्ति आवश्यक पर्ने गाँस–बास–कपासको परिपूर्तिका निम्ति साहित्यकार देवकोटाले क्रान्तिको आकाङ्क्षा र सपना सँगालेका थिए । तर सात सालको क्रान्तिका नाममा दिल्लीमा भएको राणा–काङ्ग्रेसको सम्झौताले नेपाली जनताको सामाजिक जीवनमा न कुनै परिवर्तन ल्यायो, न त राजनीतिक स्वतन्त्रता र उन्मुक्तिको चाहनालाई नै पूरा ग¥यो । दिल्ली सम्झौता धोका हो भन्ने जनतामाथि क्रान्तिपछि बनेको सरकारले दमनचक्र चलाउन थाल्यो र जनतालाई आफ्नो हक अधिकारका लागि सङ्घर्षमा उतार्ने आन्दोलनकारी राजनीतिक पार्टीमाथि प्रतिबन्ध लगाउन शुरू ग¥यो । यस वस्तुगत यथार्थले देवकोटालाई आफुले लिएको विचारधाराको सीमालाई बुझ्न र आफुले यसअघि स्वीकार गरेको राजनीतिमाथि पुनर्विचार गर्न बाध्य पा¥यो । १९४७ सालदेखि प्रदीप्त भैरहेको देवकोटाको क्रान्तिकारी चेतनालाई यसले अरू बढी उत्प्रेरित ग¥यो । देवकोटा आफैँले भोग्नुपरेको आर्थिक विपन्नता, औषधोपचार हुन नपाएर भएको दुई जना छोराहरूको मृत्यु, काङ्ग्रेसी राजनीतिक मित्रहरूको शोषणमुखी मानसिकता, राजनीतिक क्षेत्र र सामाजिक क्षेत्रबाट सहनु परेको अपमान, उपेक्षा र पीडाहरूले देवकोटाको क्रान्तिकारी चेतनामा वृध्दि गर्न अरू सहयोग पु¥याए । अरू पुँजीवादी बुध्दिजीवी र राजनीतिक शक्तिहरूले मानेसरह उनको बुध्दि र विवेकले सात सालको परिवर्तनलाई सफल क्रान्तिका रूपमा स्वीकार गर्न मानेन र साँचो, वास्तविक क्रान्तिको आह्वान गर्न थाल्यो । यसपछि नै देवकोटाले शोषण, सामाजिक विभेद र आर्थिक विषमताको मूल कारण व्यक्तिगत सम्पत्ति हो भन्ने तथ्यलाई प्रस्टसँग साहित्यमा प्रतिबिम्बित गर्न थाले र त्यसका विरुध्द दृढताका साथ कलम चलाउन थाले । मार्क्सवादी चिन्तकहरूकै समकक्षमा उभिएर साहित्यलाई जनताको वर्गीय हतियारका रूपमा मान्यता प्रदान गरे, हिजो आफैँले मानेको राजनीतिक नेतृत्व र नेपाल एवम् नेपाली जनताको शोषण र उत्पीडनमा संलग्न शक्ति र वर्गहरूप्रति वर्गीय घृणा व्यक्त गर्न थाले । सजग रूपबाट वर्गसङ्घर्षका रूपहरूलाई ‘कृषिवाला’मा झैँ उतार्न थाले । उनले यस अवधिमा खुलेर नै आधुनिक चिन्तनका रूपमा द्वन्द्वात्मक भौतिकवादलाई मान्यता प्रदान गरे । समाजवादी राष्ट्र र त्यहाँका नेताहरूको प्रशंसा र सम्मानमा कविताहरू रचना गरे । यसो हुनुमा समाजवादी मुलुकहरूको भ्रमण गर्नु, त्यहाँको जनजीवनलाई नजिकबाट नियाल्ने अवसर पाउनु र त्यहाँ भएका प्रगतिहरूबाट अत्यधिक प्रभावित हुनु पनि थप कारण रहेको छ । यसरी उनले क्रान्तिकारी स्वच्छन्दतावादी धारालाई पहिलेको भन्दा थप उचाइ प्रदान गर्न प्रारम्भ गरे । देवकोटाको विकासको यो तेस्रो चरण हो र यो १९५२ देखि १९५९ को आधाउधीसम्म रहेको छ । १९५३ सालमा कवि देवकोटाले रोमानियामा भएको चौथो अन्तर्राष्ट्रिय युवाहरूको महोत्सवमा नेपाली प्रतिनिधि मण्डलको सदस्यका रूपमा भाग लिएका थिए । यस सन्दर्भमा उनले हङ्गेरी, रुस र चीनजस्ता मुलुकहरूको भ्रमण गरेका थिए । ती देशमा भएका ठुल्ठुला परिवर्तनहरू र त्यहाँको प्रगतिशील सामाजिक व्यवस्थाले उनलाई निकै  प्रभाव पर्यो । यसले उनमा विकसित हुँदै आएको समाजवादी मानवतावादलाई अरू मलजल पुर्याउने काम गर्यो ।

वि.सं. १९५८ को अक्टोबर महिनामा तासकन्दमा भएको अफ्रो–एसियाली लेखक सम्मेलनमा नेपाली प्रतिनिधि मण्डलको नेताका रूपमा कवि लक्ष्मीप्रसाद देवकोटाले दिएको भाषण यस चरणको उनको लेखन र चिन्तनलाई जानकारी गराउने अत्यन्त सहयोगी र महत्त्वपूर्ण सामग्री हो । देवकोटाले उक्त भाषणमा सम्मेलनमा सहभागी भएका अन्य देशबाट आएका लेखकहरूलाई नेपाली साहित्यको विकासको झलक मात्र दिएका छैनन् , नेपालका लेखकहरूले वहन गर्नुपर्ने दायित्व, वर्तमान सन्दर्भमा साहित्यको भूमिका र सामाजिक रूपान्तरणको आवश्यकतामाथि पनि प्रकाश पारेका छन् । सर्वप्रथम नेपालको सामाजिक–आर्थिक प्रणालीको रूपान्तरणमा उनको जोड रहेको छ । उनी भन्दछन् : ‘राणा खलकको शासनकालमा लेखकले आशा राख्नसक्ने सबभन्दा ठूलो कुरा कुनै थियो भने त्यो थियो बहुमूल्य जीवनशक्तिलाई साहित्यमा परिणत गर्नु । आजका लेखकले यस्तो उदासीनता र उत्पीडनको अनुभव गर्नु पर्दैन तापनि नयाँ सामाजिक अवस्थामा उसले अझै पनि समाजमा आफ्ना स्थितिका निम्ति र जनताको तर्फबाट सन्मानका निम्ति सङ्घर्ष गर्नुपर्ने हुन्छ । लेखकको स्वतन्त्रता लेखक बसेको समाजकै सामाजिकआर्थिक नियमहरूमाथि निर्भर रहने हुँदा हामीले निकट भविष्यमा सामाजिकआर्थिक प्रणालीमा हेरफेर र दृष्टिकोणमा परिवर्तनमाथि ठूलो आशा राखेका छौँ’ । स्पष्ट छ– देवकोटा २००७ सालपछि स्थापित सामाजिक–आर्थिक प्रणालीको पक्षमा थिएनन् र त्यसको परिवर्तनका लागि त्यही समयदेखि नै क्रियाशील रहेका थिए । देवकोटा साहित्य कुनै एक वर्गको सोखको विषय हुन सक्तैन भन्ने कुरालाई प्रस्ट पार्दै भन्दछन् : ‘जीवनका निम्ति र विनाशका विरुध्दसहअस्तित्वका निमित्त र सैनिक आक्रमणका विरुध्दराष्ट्रिय स्वधीनताका निमित्त र उपनिवेशवाद तथा साम्राज्यवादका विरुध्दआधुनिक मानवजातिका महान् सङ्घर्षले जागरुक जनतामा शक्तिशाली समर्थन पाउन थालेको छ । यस अवस्थामा साहित्य कुनै एक वर्गको सौखको विषय हुन सक्तैन । अब त यो एक शक्तिशाली सामाजिक र राष्ट्रिय हतियार भएको छ ।

देवकोटाले रोमान्टिक सपनाबाट बिउँझेर यथार्थको धरातलमा आफ्नो लेखनलाई नयाँ मोड दिन थालेको कुरा ‘वाणीप्रति’ (१९५६) शीर्षकको कवितामा आफैँले स्वीकार गरेका छन् । उनको आत्मस्वीकार छ: ‘गरिबीलाई सिँगारी पहिले अपनाउँथें मजामा/ अब त्यो काली बोक्सीलाई खिँच्छु गन्हाउने धुजामा/ बदली संसार रमाउने मन हो एक वरदान ।‘ सामाजिक जीवनमा व्याप्त रहेको व्यापक अन्तराललाई चित्रण गर्नुका अतिरिक्त उनी यस कवितामा वर्तमान अवस्थामा आफ्ना कविताका विषयवस्तुका बारेमा प्रकाश पार्दै भन्छन् : बनाउनु मैले भाइ र बहिनीहरूको घरबार छसुँगुरको खोरलाई गिज्याउने जहाँ सुनको दरबार छविषय मेरा बाङ्गा र टिङ्गा जङ्गलका विरूवा/कविताका शीर्षक मेरा गरिब गुरुवाकहीँ छ कोर्नु कहीँ छ फोर्नु कहीँ छ सिंचनराष्ट्रको खेत सम्याउनु पर्छ युगलाई रचन ।

एक थरी राजनीतिक शक्ति र बौध्दिकहरू नेपालमा १९५१ सालको क्रान्ति सफल भएको र प्रजातन्त्र आएको खुशियाली मनाइरहेका थिए । तर कवि देवकोटा चाहिँ १९५२ सालदेखि नै उनले १९५१ सालअघिदेखि गर्दै आएको क्रान्तिको आह्वान नयाँ सन्दर्भ र नयाँ अर्थमा गरिरहेका थिए । १९५२ सालपछिका देवकोटाको विशेषता भनेकै यही हो । क्रान्तिको उनको यो आह्वान बहुसङ्ख्यक शोषित नेपाली जनता र देवकोटा स्वयम्को १९५१ सालको असफल क्रान्तिको मूल्याड्कनको परिणाम थियो ।

कवि देवकोटाले सात सालको परिवर्तन र त्यसको उपलब्धिको मात्र आलोचना गरेका छैनन् । त्यतिखेरको राजनीतिक नेतृत्वप्रति पनि उनले तीव्र आलोचना र आक्रमण गरेका छन् । भोजन जीवनको अस्तित्व रक्षाको पहिलो आवश्यकता हो । यही कारण यो सृष्टिको स्पन्दन पनि हो । नेपाली जनताको एउटा आधारभूत समस्या भोकको रोगबाट उन्मुक्ति पाउनु पनि हो, किनभने नेपालको अधिकांश जनता यही समस्याबाट पीडित छ । राष्ट्रको यो समस्या राज्य वा सरकार स्वयम्को प्रयत्नबाट मात्र निराकरण हुन सक्ने विषय हो । तर १९५१ मा सत्तामा पुगेको नेतृत्वले यस समस्यालाई सही रूपले पटक्कै बुझ्न सकेन वा बुझ्ने प्रयत्न नै गरेन । त्यसैले उनले यस्तो नेतृत्वलाई अबुझ ‘भेडा’ भनेर प्रहार गरेका छन् । त्यस्तो नेतृत्वबाट राष्ट्रको समस्या समाधान हुँदैन भनेर ठोकुवा गरेका छन् ।  यही भावभूमिलाई देवकोटाले आफ्नो कविता ‘दाल भात डुकु ’(१९५२) मा प्रस्तुत गरेका छन् । देवकोटाको बहुचर्चित कविता ‘पागल’ (१९५४) लाई पनि यही सन्दर्भमा राखेर हेर्नु उपयुक्त हुन्छ । कटु आर्थिक अभावको अन्तर्पीडाबाट व्यथित देवकोटालाई मानसिक रोगी ठानेर राँची पु¥याइएपछि आफ्ना इस्टमित्र, साहित्यिक साथीभाइ र राजनीतिक नेताहरूको अपमानपूर्ण व्यवहारबाट आहत भएर यो कविता लेखिएको भनिन्छ । तर वास्तवमा तात्कालिक सत्तामा आसीन नेतृत्वबाट हुने गरेका लज्जाजनक एवम् विवेकहीन झुट्टा व्यवहारहरू, जनअधिकारमाथिको प्रहार, मानवलाई मानव नठान्ने प्रवृत्ति र ठूलाले सानालाई निल्ने मत्स्यन्यायको परिपाटीका विरुध्द लक्ष्यित गरेर नै यो कविता सिर्जना भएको हो । ‘जित्नु छ साथी, जिलाउनु छ साथी’ शीर्षकको कवितामा तात्कालिक राजनीतिक नेतृत्वलाई देश र जनतालाई गन्तव्य स्थानसम्म पु¥याउन असफल ‘कानो ड्राइवर’ भनेका छन् । कथित क्रान्तिपछिको सामाजिक–राजनीतिक स्थिति कवि देवकोटाका दृष्टिमा कुनर्क हो । जहाँ पशुवृत्तिका साँढेहरूको स्वार्थको बोलबाला छ, जहाँ गरिबहरूमाथि मार छ, ठगी छ, जहाँ सबै कुरा नोटमा बिक्री हुन्छ, जहाँ आँसुको तलाउ छ, जहाँ समानताको नारा खोक्रो छ, जहाँ मानवीयपन, सौन्दर्य, प्रेम र मानिसको काँचो मासु बेचबिखनमा रहन्छ । सम्पन्न वर्गद्वारा विपन्न वर्गमाथि हुने गरेको ठगी र पुँजीको (व्यक्तिगत स्वामित्वको– ले.) प्रचलनलाई कवि देवकोटाले कारण मानेका छन् एउटी सुन्दरी वेश्याप्रति शीर्षकको कवितामा । निजी सम्पत्ति र पुँजीप्रतिको देवकोटाको विरोध र घृणा ‘चुकुल’ (१९५६) मा अझ प्रभावकारी ढङ्गले भएको पाइन्छ । निजी सम्पत्तिले समाजमा विभाजन ल्याउँछ र यसैले शासन चलाउँछ । जनतन्त्रमाथि यसैले राज गरेको छ, नेता बनेर यसले नै गाँज्दछ । देश र जनताको प्रगतिको बाधक यस्तो तत्त्वलाई किन सहने ? यस्तो आर्थिक वैषम्य समाप्त पार्न गरिबवर्गलाई एक जुट हुन आह्वान गर्ने क्रममा नै यो कविता लेखिएको हो ।

युगपरिवर्तन सामान्य आन्दोलनबाट मात्र सम्भव छैन, त्यसका लागि हतियारबध्द सङ्घर्ष अनिवार्य हुन्छ । गाँस, बास र कपासको ग्यारेन्टी, जनताको राजको स्थापना र जनतन्त्रको प्राप्ति जनक्रान्तिबिना असम्भव छ भन्ने कवि देवकोटाको ठहर छ । क्रान्तिलाई कवि देवकोटाले जनताको होली मानेका छन् । किनभने यसले मात्र अन्धकारलाई नास्छ र नयाँ प्रकाश छर्छ, न्याय दिन्छ र युगको चोला फेर्छ । यही आशयलाई प्रभावकारी तरिकाले लामो कविता ‘गोली हो’ ले प्रस्तुत गरेको छ । नेपाली जनतालाई गाँस,बास, कपाससहितको आफ्नो हक लिनका निमित सङ्घर्ष र क्रान्तिमा संलग्न हुने आह्वान कवि देवकोटाले गीतमा पनि सशक्त रूपले गर्ने गरेका छन् । किसान’, जाग जस्ता गीतहरू यसका उदाहरण हुन् । यस अवधिका देवकोटा सबै कुरालाई वर्गीय रूपबाट हेर्ने प्रयत्नमा देखिन्छन् । ‘स्वतन्त्रता हो मानवता रे १’, ‘पुँजीपतिलाई’  आदि कविता यसका ज्वलन्त नमुना हुन् ।

तेस्रो चरणका देवकोटाले राष्ट्रिय समस्याका बारेमा मात्र होइन अन्तर्राष्ट्रिय समस्याका बारेमा आफ्नो मत व्यक्त गरेका छन् । साम्राज्यवादी शक्तिहरूले अपनाएको शस्त्रास्त्रको होड, औपनिवेशिक युध्द, आणविक हातहतियारको होडबाजी र प्रयोगको विरोध गर्दै उनले विश्वशान्तिका पक्षमा कविता रचना गरेका छन् । ‘साँढे’ (१९५९), ‘एशिया’ (१९५९) र ‘शान्तिगीत’ (१९५४) ‘शण्डेश्वर पर्व’ (१९५९) यस्तै प्रकृतिका रचनाहरू हुन् । यस सन्दर्भमा उनले आफैंले देखेका समाजवादी मुलुक सोभियत सङ्घ र जनवादी जनगणतन्त्र चीनसहित त्यहाँका महान् नेता माओत्से तुङ्का बारेमा लेखेका ‘मास्कोमा’, ‘सुपुत्र ए चीनका’ र ‘माओत्सेतुङ्’ शीर्षकका कविताहरू उल्लेखनीय छन् ।

महाकाव्य प्रमिथस (१९५४ मा सुरु गरेर १९५९ मा प्रकाशित) र गीतिनाट्य कृषिवाला (१९५६) तेस्रो चरणका देवकोटाका अति महत्त्वपूर्ण कृति हुन् । दुवै कृति क्रान्तिकारी भावद्वारा अभिप्रेरित छन् । किसान युवायुवती उषा र किरणको प्रेमसम्बन्धलाई मूल आधार बनाई सामन्ती शोषणबाट उन्मुक्तिका निम्ति गरिएको किसानसङ्घर्षको कथा हो कृषिवाला । उषा–किरणका बीचको आपसी प्रेम, विवाह, वियोग र पुनर्मिलनमा आधारित कथावस्तुको माध्यमबाट गाउँको जमीनदार श्रीप्रसादका विरुध्द किरणको नेतृत्वमा भएको किसानसङ्घर्षले त्यतिखेर नेपालमा चलिरहेको वर्गसङ्घर्ष र किसानसङ्घर्षलाई नै प्रतिबिम्बित गरेको छ ।

कतिपय आलोचकहरूले देवकोटाको तीन महिनामा लेखिएको ‘शाकुन्तल’ एवम् दस दिनमा लेखिएको ‘सुलोचना’लाई अतिरञ्जित रूपबाट प्रस्तुत गर्दै ‘शाकुन्तल’ महाकाव्य र देवकोटालाई समानार्थीका रूपमा प्रचार गर्ने गरेका छन् । तर देवकोटाको महाकवित्व मूलतः उनका ‘साँढे’पछिका कविता र त्यसमा पनि २०१० सालपछिका फुटकर कविता, ‘मुनामदन’ र ‘कृषिवाला’मा नै अडेको छ । उनको कवित्व क्षमता र महाकवित्वलाई महाकाव्यमा नै खोज्ने प्रयत्न गर्दा पनि त्यो ‘प्रमिथस’मा भेटिन्छ ‘शाकुन्तल’ वा अन्य रचनाहरूमा होइन । निश्चय नै, ‘शाकुन्तल’मा जस्तै ‘प्रमिथस’मा पनि अतीततिर फर्काइ नभएको होइन, तर अतीततिर यो उन्मुखता वर्तमानमा अतीत ल्याउने उद्देश्यले नभएर वर्तमानलाई भविष्यतिर डो¥याउने महान् प्रयत्नस्वरूप अघि आएको छ । ‘शाकुन्तल’, ‘महाराणा प्रताप’, ‘पृथ्वीराज चौहान’ हिन्दू आर्य संस्कृति वा मध्ययुगीन सामन्ती संस्कृतिको पक्षपोषण गर्ने उद्देश्यले सिर्जना गरिएका छन् भने ‘प्रमिथस’ चाहिँ  मानवविरोधी, निरड्कुश शासक जियस र त्यसका विरुध्द देखा परेको नायक प्रमिथससँगको द्वन्द्वलाई प्रस्तुत गरेर क्रान्तिकारी गतिविधिमाथि जोड दिने उद्देश्यले रचना गरिएको छ । अन्यायी र अत्याचारी शासनसत्ताका विरुध्द विद्रोह हुनैपर्दछ र जतिसुकै दुःखकष्ट आइलागे पनि त्यसबाट विचलित हुनुहुन्न भन्ने सार्वजनिन भाव ‘प्रमिथस’मा उद्घाटित भएको छ । कवित्व क्षमता र प्रतिभाका दृष्टिले समेत ‘प्रमिथस’, ‘शाकुन्तल’भन्दा उत्कृष्ट देखिन्छ । यस सन्दर्भमा देवकोटाका जीवनी लेखक चूडामणि बन्धुको भनाइलाई उध्दृत गर्नु म उचित ठान्दछु । उनी भन्दछन्: प्रमिथस महाकाव्यमा पनि परिष्कार अझ बाँकी छ तापनि सामयिक युगजीवनका सन्दर्भमा यसको महत्त्व बढी छ । …प्रमिथसलाई क्रान्ति ल्याउने नेपाली सहिदहरूका रूपमा प्रतीकात्मक पाराले उभ्याएर अत्यन्त कवितात्मक भाषामा लेखिएको यो महाकाव्य देवकोटाको सर्वश्रेष्ठ महाकाव्य हो । … तर प्रमिथसमा युगप्रवाह छहाम्रो सङ्घर्षक्रान्ति र नवजीवनको सन्देश छ । यसमा नेपालको क्रान्ति छमानव जन्म र उसको विकासको कथा छ’ । अर्को एक ठाउँमा उनले भनेका छन् : ..‘शाकुन्तल’ र प्रमिथस’ महाकाव्यमा कुन चाहिँलाई श्रेष्ठ भन्ने बारेमा निर्णय गर्न नसकिने अप्ठ्यारो स्थितितिर पनि त्रिपाठी (वासुदेव त्रिपाठी) को सङ्केत छ । ..तापनि साहित्यलाई समकालीन समाजमा राखेर हेर्दा निश्चय नै प्रमिथस’ सर्वश्रेष्ठ कृतिका रूपमा देखिने छ ।

यसरी हेर्दा देवकोटा सामन्तवाद तथा साम्राज्यवाद विरोधी साहित्यिक तथा सांस्कृतिक आन्दोलनका एक कर्मठ योध्दा प्रमाणित हुन्छन् । जीवनभरको आर्थिक सङ्कट, राणाशाहीको उत्पीडन तथा २००७ सालपछि परिवर्तित सरकारद्वारा भएको तिरस्कार, पारिवारिक प्रतिकूलता तथा पुत्रवियोग, क्यान्सर रोगको पीडा र घातक आक्रमण यी सबलाई सहँदै र झेल्दै कठोर सङ्घर्षका बीचबाट देवकोटा देश, जनता र क्रान्तिका पक्षमा क्रमशः र निरन्तर अगाडि बढेका साहित्यकार हुन् ।

नेपाल र मित्रराष्ट्र चीनलाई साहित्यिक सांस्कृतिक रूपले जोड्ने नेपाली साहित्यकारमध्ये पहिलो र प्रमुख साहित्यकार लक्ष्मीप्रसाद देवकोटा नै हुन् । उनले यी दुई राष्ट्रलाई साहित्यिक र सांस्कृतिक रूपले गाँस्ने काममा विभिन्न किसिमले योगदान दिएका छन् । देवकोटाको मुनामदन उत्तर छिमेकी राष्ट्र जन गणतन्त्र चीनसितको नेपाली जनताको सांस्कृतिक र आर्थिक सम्बन्धको लामो परम्परालाई आधार बनाएर नेपालीमा पहिलोपल्ट रचिएको उत्कृष्ट खण्डकाव्य हो । यसमा महाकवि देवकोटाले तिब्बतको राजधानी ह्लासाको प्राकृतिक सौन्दर्यको मात्र होइन ह्लासाका नारीहरूको शारीरिक सौन्दर्यका साथै सामाजिक वैभवको पनि मुक्त कण्ठले प्रशंसा गरेका छन् । देवकोटाले त्यतिखेरै ह्लासा–काठमाडौं राजमार्ग बनाउनुपर्छ भन्ने कुरा समेत उठाएका थिए । हाम्रो राष्ट्रियता र सार्वभौमिकताको निम्ति यस्तो राजमार्ग आवश्यक छ भन्ने उनको धारणा थियो । चीन र नेपाललाई भौतिक रूपले नै एक अर्कासित जोड्ने यो दृष्टिकोण एकदमै दूरदर्शिताको परिणाम थियो भन्न सकिन्छ । देवकोटाले सेप्टेम्बर १९५३ को पहिलो सातामा चीनको भ्रमण गरेका थिए र कमरेड माओत्सेतुङ्सित पनि भेटघाट गरेका थिए । उनले त्यसपछि रचना गरेको ‘माओत्सेतुङ्’ शीर्षकको कविता र महान् चिनियाँ जनताको प्रशंसामा लेखेको कविता ‘सुपुत्र ए चीनका’ यस सन्दर्भमा मननीय छन् ।

( मुल्याङ्कन अनलाइनबाट साभार )

 

IME Remittance