देशकै ठूलो सबस्टेशन निर्माण सम्पन्न : १२०० मेगावाट विद्युत् आयातनिर्यात गर्न सकिने
देशकै हालसम्मकै सबैभन्दा ठूलो सबस्टेशनको रुपमा परिचित ढल्केबर सबस्टेशन नो लोडमा चार्ज भएको छ । कूल ४०० केभी क्षमताको सो सबस्टेशन बुधबार साँझदेखि नो लोडमा चार्ज भएको हो । ढल्केबर सबस्टेशन आयोजनाका प्रमुख शुक्र देवकोटाका अनुसार देशकै सबैभन्दा ठूलो पावर हवको काम सम्पन्न भएको छ । उक्त सबस्टेशन नेपालको विद्युत् क्षेत्रका लागि एउटा महत्वपूर्ण कोशेढुङ्गाका रुपमा रहेको छ । नेपालको पहिलो ठूलो र ग्यास इन्सुलेटेड सबस्टेशन निर्माणमा नेपाल विद्युत् प्राधिकरणले सफलता हासिल गरेको छ । नेपाल सरकारको लगानी, प्राधिकरणका इन्जिनीयरको डिजाइन र प्राधिकरणकै स्वामित्वमा रहेको एनइए इन्जिनीयरिङ कम्पनीको परामर्शमा सो आयोजना सम्पन्न भएको छ ।
प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले देशकै सबैभन्दा ठूलो सबस्टेशन सम्पन्न भएकामा बधाई दिँदै महत्वपूर्ण सफलता हासिल भएको बताउनुभएको छ । प्राधिकरणका अनुसार सो सबस्टेशनको क्षमता ९४५ एमभीए रहेको छ । आर्थिक वर्ष २०७४÷७५ मा बोलपत्र प्रक्रिया शुरु गरी करिब अढाइ वर्षमा सो आयोजना सम्पन्न भएको हो । प्राधिकरणले गत असारमा नै निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको भए पनि कोरोनाको कहरका कारण आयोजना सम्पन्न हुन केही ढिलाइ भएको हो । कोरोनाको जोखिम नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउन तथा निषेधाज्ञाका कारण आयोजना सम्पन्न हुन ढिलाइ भएको प्राधिकरणले जनाएको छ । सो अवधिमा समेत आयोजनाको काम भइरहेका कारण सम्पन्न हुन सकेको हो ।
उच्च क्षमताको हाई भोल्टेज टेस्टिङ मेसिन केरुङ नाकाबाट करिब तीन महिनासम्म छुटाउन नसक्दा समयमा चार्ज हुन सकेको थिएन । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले परराष्ट्र मन्त्रालयसँग समन्वय गरी कूटनीतिक पहल गरेर केरुङमा रहेको उपकरण आयोजनास्थल पु¥याइएको थियो । नेपाल–भारतबीचको विद्युत् आदानप्रदानका लागि ढल्केबर–मुजफ्फरपुर ४०० केभी क्षमताको अन्तरदेशीय प्रसारण लाइन यसअघि नै निर्माण सम्पन्न भएको थियो । सोही प्रसारण लाइनका कारण नेपाललाई आवश्यक पर्ने विद्युत् जुनसुकै बेला पनि सहजै रुपमा आयात गर्न सम्भव भएको छ । प्रसारण लाइन ४०० केभी क्षमताको भए पनि सबस्टेशन कम क्षमताको भएकाले गर्दा शुरुआती चरणमा १३२ केभी क्षमतामा मात्रै प्रसारण लाइन चार्ज गरिएको थियो । यस्तै आव २०७५÷७६ मा मात्रै २०० केभी क्षमतामा चार्ज गरिएको थियो । नयाँ सबस्टेशन निर्माण सम्पन्न भएपछि प्रसारण लाइनकै क्षमतामा सञ्चालनमा ल्याउन सकिने प्राधिकरणको भनाइ छ ।
सो प्रसारण लाइन तथा सबस्टेशनबाट कूल एक हजार २०० मेगावाट विद्युत् आयातनिर्यात गर्न सकिने भएको छ । प्राधिकरणका पूर्वकार्यकारी निर्देशक घिसिङका अनुसार उक्त प्रसारण लाइन र सबस्टेशनको क्षमता एक हजार २०० मेगावाट बराबरको भए पनि तत्कालका लागि ८५० मेगावाट मात्रै आयातनिर्यात हुन सक्छ । नेपालभित्रको पूर्वपश्चिम प्रसारण लाइन ४०० केभीमा चार्ज भएपछि मात्रै सो लाइनबाट पनि एक हजार २०० मेगावाट विद्युत् आदानप्रदान गर्न सकिन्छ ।
पूर्वकार्यकारी निर्देशक घिसिङले राष्ट्रिय महत्वको आयोजना निर्माणमा अहोरात्र खटिएका आयोजनाका कर्मचारी, निर्माण व्यवसायी तथा परामर्शदाता कम्पनीलाई समेत धन्यवाद दिँदै तुलनात्मक रुपले काम छिटो सकिएकामा सबै बधाईको पात्र भएको बताउनुभयो । उहाँले भन्नुभएको छ “मेरो कार्यकालमा चार्ज गर्ने भनी धेरै प्रयास गर्दा पनि हाइभोल्टेज टेस्टिङ किट नआएकाले सफल भएन ।” आयोजना सम्पन्न गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले निरन्तर पहल गर्नुभएको थियो । उहाँले हरेक दिन नै आयोजनाको प्रगतिका बारेमा चासो राखेर शीघ्र काम सम्पन्न गर्न सम्बद्ध पक्षको ध्यानाकर्षण गराउँदै आउनुभएको थियो । तत्कालका लागि नो लोडमा सबस्टेशन चार्ज गरिएको भए पनि अब भने विद्युत् लोड दिएर चार्ज गर्ने र सञ्चालनमा ल्याउने प्राधिकरणको तयारी छ । परामर्शदाता कम्पनीको रुपमा रहेको एनइए इन्जिनीयरिङ कम्पनीका प्रबन्ध सञ्चालक हितेन्द्रदेव शाक्यले केही दिन पहिले रासससँगको कुराकानीका क्रममा सो आयोजना आफूहरुका लागि समेत महत्वपूर्ण र सिकाइका दृष्टिले पनि बहुआयामिक भएको बताउनुभएको थियो । – RSS