ढोरपाटन बाढीः सात जनाको सनाखत,राहतसहित गृहमन्त्री थापा ढोरपाटनमा

 

बागलुङ जिल्लाको ढोरपाटन नगरपालिकास्थित भुजीखोलामा आएको बाढीमा परी फेला परेका १४ मध्ये सात जनाको पहिचान भएको छ । बाढीमा परेका अझै २४ जना बेपत्ता छन् । बुधबार राति ढोरपाटनको देउराली छेउको पहाड खसेर खोला थुनिएर फुटेपछि भुजीखोलामा भीषण बाढी आएको थियो ।

बाढीमा बेपत्ता १४ जनाको शव फेला परेको छ । सो घटनामा ७० घर पूर्ण क्षतिग्रस्त भएका छन् । ढोरपाटन– ९ का २६ वर्षीया केशमाया विक, ४६ वर्षीय करबहादुर विक, २२ वर्षीय जीवन विक, ११ वर्षीया डल्ली विक, २१ वर्षीया डिलमाया पुन, ३५ वर्षीया रिनाकुमारी घर्ती र ३२ वर्षीया करमती बुढाको सनाखत भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिनुभयो । अन्य सात शवको अझै सनाखत हुन सकेको छैन । शव क्षतविक्षतावस्थामा रहेका कारण पहिचानमा ढिलाइ भइरहेको प्रहरीको भनाइ छ ।

बाढीले ७० भन्दा बढी घरमा क्षति पु¥याएको छ । बाढीमा परेका चार जनाको घाइते अवस्थामा उद्धार गरिएको छ । तीमध्ये गम्भीरावस्थामा रहेका ढोरपाटन –९ का महेन्द्र पुनको प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङमा उपचार भइरहेको छ । बाढीले ढोरपाटन–९ स्थित लाँकुरीबोट स्वास्थ्यचौकीको भवन, जनचेतना प्रावि, सरस्वती प्रावि, भुजीखोला लघुजलविद्युत् आयोजनाका पाँच शाखामध्ये चार भवन, सडक छेउमा पार्किङ गरेर राखिएको एक जीप र मोटरसाइकल बगाएको छ ।

राहतसहित गृहमन्त्री थापा ढोरपाटनमा:

बाढीपहिरो पीडितका लागि राहत लिएर गृहमन्त्री रामबहादुर थापासहितको टोली अहिले बागलुङको ढोरपाटन पुगेको छ । मौसम खराबीका कारण बिहीबार बीच बाटोबाट फर्किनुभएका गृहमन्त्री थापा आज पुनःराहत सामग्रीसहित सेनाको हेलिकप्टरमार्फत ढोरपाटन पुग्नुभएको हो । तत्काल आवश्यक त्रिपाल, टेण्ट, म्याटलगायतका राहत सामग्रीसहित टोली केहीबेर अघि ढोरपाटन पुगेको गृहमन्त्रीका सुरक्षा सल्लाहकार डा ईन्द्रजित राईले जानकारी दिनुभयो ।

IME Remittance