हालसालै उपमहाद्विपको नाम टिपेर देशको नाम राखेको एउटा देशका विदेशमंत्रीले गौतम बुद्धको बारेमा अनर्गल र झूठो प्रलाप गर्दै बुद्ध उनको देशका हुन् भनेछन् । यस्तो झूठो कुराले क-कसको दिमाग झनझनायो मलाई ज्ञात छैन । मेरा दुई मित्रको भने नराम्रैसंग झनझनाएछ । एउटाले भन्यो “कस्तो मूर्ख मान्छे रहेछ त्यो मंत्री ! ईतिहासको अलिकति ज्ञान त हुनुपर्छ । त्यस्ता मान्छे मंत्री भएको देशले बुद्धिको काम के गर्थ्यो ? जसको बुद्धि हुन्न उसले बलको सेखी गर्छ । बुद्धि नभएपछि कसको के लाग्छ ? बुद्धि नहुनेले बलले जित्न खोज्छन, त्यसैले सबैलाई बलको तुजुक देखाउँछन् । डोनाल्ड ट्रम्पले पनि त त्यै देखाउँछन् नीं । त्यस्ताले विवेकको कुरा जान्दैन । बल प्रयोग गरेर तर्साउन खोज्छ । नसक्नेसंग आँफै तर्सिन्छ । त्यस्ताले अरूको भलो जानेकै हुँदैन त छिमेकीको के भलो गर्थ्यो ? “
दोस्रोले भन्यो “त्यति सारो त नभन न । प्रधानमन्त्री, मन्त्रीलाई ईतिहाससंग के मतलव ? ईतिहाससंग मतलव भए त्यही देशका प्रधानमन्त्रीले विदेशमा गएर समेत बुद्ध उनका देशका हुन् भन्थे त ? फेरि ईतिहास जान्ने नैं मंत्री , प्रधानमन्त्री हुने हो भने ईतिहासकै प्राध्यापकहरूलाई बनाइदिए भैगो नीं । “
पहिलोले भन्यो “विदेशमन्त्रीलाई ईतिहासको ज्ञान हुनुपर्दैन ? त्यसमाथि बुद्धको कुरो ! चानचुने मान्छेको कुरा हो र ? त्यति पनि थाह नहुने भुच्चु त मंत्री ! अनि त्यो देशको सरकारले के बुद्धिको काम गरोस ?“
दोस्रोले भन्यो “त्यसो त भूगोलको कुरा पनि ज्ञान छैन नीं । अर्काको सीमा आफ्नो भनेर मिच्ने, सीमास्तम्भ सारिदिने काम त भूगोलको ज्ञान नहुनेले मात्र गर्छन, हैन त ?“
पहिलोले थप्यो “ब्वाँसो नियत हुनेसङ्ग के लाग्छ ? उसलाई प्रमाणको मतलव छैन । अरूले के भन्लान भन्ने पनि मतलव छैन । “
मैले भनें “भो छाडिदेउ यस्ता कुरा, विवेकरहितको विषयमा कुरा गरेर आफ्नो टाउको किन दुखाउने ?“
यसो भनेर हामी विषयान्तरतिर त लाग्यौं । तर मेरो मनमा एउटा घटनाको याद आयो । एकपल्ट भूइंचालो आएको बेला मेरा एकजना छिमेकीको घर संकटमा परेछ । उनले आफ्नो र आफ्ना परिवारको सुरक्षाको लागि हाम्रो बारीमा केही दिन सानो झुप्रो बनाएर बस्न दिन अनुरोध गरे । हाम्रो बारी उनको घरको सीमासँग जोडिएको थियो । संकट परेको बेला अरूलाई त सहयोग गर्नुपर्छ भने छिमेकीलाई नगर्ने कुरै भएन । हामीले उनको अनुरोध सहर्ष स्वीकार्यौं । अलि समय हामीले केही नभनी चुपचाप बस्यौं । छिमेकी नै त हुन् के फरक पर्छ र ! उनले त हाम्रो जग्गा छोड्ने नामै लिएनन् ।
उनको नियतमा खोट रहेछ भन्ने हामीले त्यतिखेर थाहापायौं जब निकै समय भएपछि हामीले एकदिन उनलाई हाम्रो बारी छाडिदिन भन्यौं । उनले त हामीले नदेख्ने गरी झुप्रोभित्र अनेक मजबूत निर्माण गरिसकेछन् । मर्का परेको बेलामा सहयोग गरेकोले हामीलाई धन्यवाद दिएर हाम्रो जग्गा छाडिदिन त परै जावस उनी त उल्टै हामीसंग जोरी खोज्दै भन्न थाले ’यो त मेरो जग्गा हो, छाड्ने कुरै आउँदैन । आफ्नो जग्गा भएको हुनाले मैले यत्रो निर्माण गरिसकें । तिम्रो भएको भए मैले निर्माण गरुन्जेल के हेरेर बस्यौ ? मेरै जग्गा भएकोले त तिमीले वास्ता नगरेको हो । अब निहुँ खोज्न नआऊ । निहुँ खोज्यौ भने ठटाइदिञ्छु । “
हामीसँग मुद्दा लड्ने बाहेक अरू के नै उपाय रह्यो र ! त्यस्तो हुल्लड र इज्जत नभएकोसंग पौंठेजोरी खेलेर आफ्नो इज्जत त फाल्नु त भएन नीं ।
कि कसो ?