विद्युत् प्राधिकरण बन्यो सर्वाधिक नाफा कमाउने सार्वजनिक संस्थान

काठमाडौं । नेपाल विद्युत् प्राधिकरण सार्वजनिक संस्थान मध्येकै सबैभन्दा धेरै नाफा गर्ने सार्वजनिक संस्थान बनेको छ । आर्थिक वर्ष २०७६/७७ मा नेपाल विद्युत् प्राधिकरणले ११ अर्ब ४ करोड नाफा कमाएको हो । प्राधिकरणपछि सबैभन्दा धेरै नेपाल टेलिकमले सो वर्ष ९ अर्ब ७५ करोड रुपैयाँ नाफा कमाएको छ । यसैबीच प्राधिकरणको यसअघि नकारात्मक रहेको सिञ्चित नोक्सान पूरा भएर सिञ्चित नाफा ४ अर्ब ८७ करोड रुपैयाँ पुगेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । नाफामा जान थालेपछि प्राधिकरण नयाँ आयोजनाको कार्यान्वयनका लागि आफैं स्रोत जुटाउने क्षमतामा रहेको भन्दै सरकारले जुटाइदिने स्रोतहरु अरु पूर्वाधार क्षेत्रमा खर्च गर्न सकिने अवस्था रहेको समेत उनको भनाइ थियो ।

आर्थिक वर्ष २०७५/७६ मा प्राधिकरणले ९ अर्ब ८१ करोड रुपैयाँ कमाएको थियो । त्यस्तै, २०७४/७५ मा २ अर्ब ८५ करोड तथा २०७३/७४ मा १ अर्ब ४७ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो । नाफा वृद्धिका बाबजुद पनि इतिहासमै पहिलोपटक ग्राहस्र्थ विद्युतीय ग्राहकको विद्युत् महशुल घटाइएको समेत घिसिङले बताए । विद्युत् प्राधिकरणले अहिले प्रत्येक वर्ष १० अर्ब रुपैयाँ नाफा कमाउने उद्धेश्य लिएको छ । प्राधिकरणले २०७२/७३ मा २५ प्रतिशत रहेको विद्युत् चुहावटलाई २२.९ प्रतिशत, २०.४५ प्रतिशत, १५.५२ प्रतिशत हुँदै चौथो वर्षसम्म १५.२७ प्रतिशतमा झारेको जनाएको छ । अबका वर्षहरुमा यस्तो चुहावट १० प्रतिशत भन्दा तल झार्ने लक्ष्य लिएको छ ।

 

 

 

IME Remittance