अंग्रेजी संस्करणमा नेपालको नक्सा

 

काठमाडौं : नेपालको अद्यावधिक (राजनीतिक/प्रशासनिक) अ्रंग्रेजी संस्करणको नक्सा भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले स्वीकृत गरेको छ। भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले नापी विभागले तयार पारेको अंग्रेजी संस्करणको नेपालको नक्सा शुक्रबार स्वीकृत गरेकी हुन्।

नापी विभागले तयार गरेको नाप नक्सा समितिमा निर्णय गरी स्वीकृतीका लागि मन्त्रालयमा पेश गरेको उक्त नक्सा शुक्रबार मन्त्रालयबाट स्वीकृत गरिएको हो।

विगतमा विभिन्न कारणले छुटाइएको लिम्पियाधुरा, लिपुलेक, कालापानीसहितको भूभाग समेटेर नेपालले गत जेठमा नेपालको अद्यावधिक (राजनीतिक/प्रशासनिक) नक्सा प्रकाशन गरी राजपत्रमा समेत प्रकाशित गरेको थियो। सोही नक्साको अंग्रेजी संस्करणको नक्सा नापी विभागले प्रकाशन गरेको हो।

नेपालको अद्यावधिक नक्सा जारी भएसँगै विश्व जगतमा बदलिएको नेपालको मानचित्रबारे जानकारी गराउनु जरुरी रहन्छ। त्यसैले उक्त प्रयोजनका लागि अंग्रेजी संस्करणको नक्सा प्रकाशन गरिएको मन्त्रालयले जानकारी दिएको छ। अंग्रेजी संस्करणको नक्सा प्रकाशन भएसँगै संयुक्त राष्ट्र संघ, कुटनीतिक नियोग, समग्र अन्तर्राष्ट्रिय जगतमा पठाउनका निम्ती बाटो खुलेको मन्त्री पद्माकुमारी अर्यालले जानकारी दिइन्।

अंग्रेजी संस्करणको नक्सा संयुक्त राष्ट्र संघ, विभिन्न कूटनीतिक नियोग, समग्र अन्तर्राष्ट्रिय समुदायमा पठाउनका निम्ती बाटो खुलेको र परराष्ट्र मन्त्रालयमार्फत पठाइने नापी विभागका महानिर्देशक प्रकाश जोशीले जानकारी दिए।

 

 

 

 

 

 

 

 

IME Remittance