गौतमबुद्ध विमानस्थल निर्माणको काम अब ९ प्रतिशत मात्र बाँकी

 

बुटवल ।  भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अब ९ प्रतिशतमात्र बाँकी छ । ३१ डिसेम्बर २०१४ बाट काम शुरु भएको विमानस्थलको भौतिक प्रगति ९१ प्रतिशत पुगेको छ ।आयोजना प्रमुख ईन्जिनियर प्रवेश अधिकारीले  भने, ‘हामीले अब उपकरण जडानसहित ९ प्रतिशत काम गर्न बाँकी छ । अन्य काम सकिएको छ ।’ उनका अनुसार अहिले रनवे लाईट जडानको काम अन्तिम चरणमा पुगेको छ भने टर्मिनल भवनमा एयर कण्डिसन तथा अन्य उपकरण जडान सम्बन्धी काम भइरहेको छ ।

निर्माणको क्रममा आईसीबी १ र आईसीबी २ गरी छुट्याएर ठेक्का लगाएको थियो । जसमा आईसीबी–१ अन्तर्गत अधिकांश उपकरण जडानका काम भइसकेका छन् भने आइसीबी–२ अन्तर्गतका कम्युनिकेशन, नेभिगेशन र सर्भिलेन्स (सिएनएस) लगायतका काममध्ये डिभिओआर/डीएमई सञ्चार उपकरण, मौसम पूर्वानुमान उपकरणहरु ९५ प्रतिशत भन्दा बढी आइसकेका र जडानको क्रममा छन् ।

 

यस्तै फिनिसिङ्ग बाहेक अर्को ठूलो काम धावनमार्ग वरिपरि पेरिमिटर सडक निर्माण बाँकी  छ । बाँकी उपकरण र विशिष्ट दक्ष प्राविधिकहरु आउने क्रममा रहेको जनाइएको छ । लकडाउनका कारण हाल अन्तर्राष्ट्रिय उडान बन्द रहेका कारण उपकरण र प्राविधिकहरु आउन ढिलाइ भएको हो ।

सरकारले अन्तर्राष्ट्रिय उडान सञ्चालन गरेपछि ती प्राविधिक आउने र उपकरण ल्याएर जडान गर्ने काम हुनेछ । राष्ट्रिय गौरवका आयोजनामध्ये गौतमबुद्ध विमानस्थल निर्माणको काम लकडाउनमा समेत भएको थियो ।

चिनियाँ कम्पनी नर्थ वेष्ट सिभिल एभिएशनले सन् २०१४ डिसेम्बर ३१ मा ६ अर्ब २२ करोड ५१ लाख २० हजार दुई सय २७ रुपैयाँमा ग्लोबल टेण्डरमार्फत विमानस्थल निर्माणको ठेक्का लिएर काम शुरु गरेको थियो । (साभार राताेपाटी डट कम बाट)

 

 

IME Remittance