तीज गीत : गाउँगाउँमा

झुपडीको ब्यथा र देशको यथार्थ कथा चित्रण गरिएको तीज गीत, गाउँगाउँमा ।


गाउँगाउँमा अधिकार आयो भन्छन् नेताले
कसले पायो अधिकार भन जनताले
घर घरमा खुशी छायो भन्छन् हेर नेताले
झुपडीको हाल के छ भन जनताले…

देश अब नयाँ युगमा प्रवेश गरेको र जनता अधिकारसम्पन्न बनेको भनेर नेताहरुले भन्न थालेको वर्षौं भइसक्यो । तर व्यवहारमा भने जनताले नयाँ युगले दिएका भनेका ती अधिकारहरु अझ पनि उपयोग गर्न पाइरहेका छैनन् । गरिखाने वर्गका जनताको दुरावस्था अहिले पनि उस्तै छ । घुम्ने कुर्सीमा बसेर शासन गर्ने मान्छेहरु फेरिए तर दीनदुःखी जनताको अवस्था अझै फेरिन सकेको देखिंदैन । हो, देशमा केही परिवर्तन नै भएको छैन भन्ने होइन, यहाँ कैयौं कुराहरु परिवर्तन अवश्य पनि भएका छन् । विकास र समृद्धिको यात्रा पहिले भन्दा अलिक गतिमा केही अघि अवस्य बढेको छ । तर गरिब दीनदुःखी निमुखाहरुले व्यवहारमा अनुभूति गर्नेगरी कुनै परिवर्तन हुन सकेको छैन । केही काला कानुनहरु फेरिएका छन् तर श्रमजीवी जनताकै पूर्णहितमा संविधान र कानुन अझ बन्न सकेको छैन । परिवर्तनको प्रतिफल हुनेखाने सम्पन्न वर्गका मान्छेहरुले नै उपयोग गरिरहेका छन् । गरिब दीनदुःखीका झुपडी र टहराहरुको अवस्था अहिले पनि उस्तै छ ।

देशको यही यथार्थ अवस्थाको चित्रण गर्दै जनगायिका निलिममा पुनको ‘गाउँ गाउँमा’ बोलको तीज गीत आइपुगेको छ । जनगायक जीवन शर्माको युटुब च्यानलबाट २०७७ साउन ३ मा सार्वजनिक गरिएको यस गीतमा शब्द र सङ्गीत पनि जनगायिका निलिमा पुनकै रहेको छ । गीतमा निलिमा पुनलाई स्वरमा साथ रक्तिमकै अर्की जनगायिका बिमा पुनले दिएकी छिन् । गीतको सङ्गीत संयोजन नारायण दङ्गाल गरेका छन् भने छायांकन समीर राईले गरेका छ्न । गीतको भिडियोको सम्पादन तुलसी बास्कोटाले गरेका छ्न् । यो गीतको अडियो रेकर्डिङ २०७५ को साउन महिनामा आलाप डिजिटलमा गरिए पनि भिजुअलसहित अहिले मात्र सार्वजनिक भएको हो । गीत अहिलेको सन्दर्भमा उत्तिकै समसामयिक रहेको छ । गीतमा नेताहरुले भाषणमा भन्ने गरेको र जनताले व्यवहारमा भोगिरहेको अन्तरलाई सविस्तार व्याख्या गरिएको छ ।
सुख र समृद्धिको कुरा गर्छन् नेताले
भोको पेटको व्यथा के छ भन जनताले
देशमा शान्ति सुरक्षा छ भन्छन् हेर नेताले
ढुक्कै बाँच्नु छ कि छैन भन जनताले…

भोको पेटको व्यथा अघाएकाहरुलाई थाहा हुँदैन । देशमा सुख र समृद्धि नेताहरुको बोलीमा त आएको छ तर व्यवहारमा समृद्धि अझै पनि क्षितिजको विषय बनिरहेको छ । गरिखाने मजदूरहरुको चिसो चुल्हो जल्न सकेको छैन, तर नेताहरुले घरघरमा ग्याँसको पाइप जोड्ने कुरा गरिरहेका छन् । राजधानीकै सडकमा खाल्डाहरु पुरिनसकेका छैनन् तर नेताहरुले भाषणमा मेट्रोरेल र पानीजहाजका सपना बाँडिरहेका छन् । चेलीहरु दिनदाहडै बलात्कृत भइरहेका छन् । सरकारले व्यवस्था गरेको क्वारेन्टाइनभित्रै बलात्कारको घटना घटेको छ । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको वर्षौं भयो तर अझसम्म पनि सरकारले त्यो बलात्कारी हत्यारालाई पक्रिन सकेको छैन । जनस्तरबाट गुनासो उठिरहेको छ– हत्यारा जोगाउने काममा सरकार आफै लागेको छ । देशमा हाम्रा जनधनको सुरक्षा गर्ने हाम्रो अभिभावक सरकार छ है भनेर जनताले ढुक्कैसँग बस्ने अवस्था अझै सिर्जित हुन सकिरहेको छैन । नेता, मन्त्रीहरु त अघिपछि सुरक्षाकर्मी लाएर हिंड्छन् तर गरिब दीनदुःखीहरु दिनप्रतिदिन सन्त्रासमा बाँच्न परिरहेको छ । गीतले त्यही यथार्थता बोलेको छ ।
समानता र सुशासनको कुरा गर्छन् नेताले
भेदभाव छ कि छैन यहाँ भन जनताले
बेरोजगारी हट्छ अब भन्छन् हेर नेताले
देशमा रोजगार छ कि छैन भन जनताले…

नेताहरुले भाषणमा समानता र सुशासनका चर्को कुरा गरेको हामीले दिनहुँ सुनिरहेका हुन्छौं । के नेताहरुले भनेझैं देशमा अमनचैन र सुशासन छ त ? के देशमा शोषण र विभेदरहित समाजको सिर्जना भएको छ त ? अहँ त्यस्तो पटक्कै देखिंदैन । देशमा अहिले पनि जातीय विभेद र छुवाछूतका डरलाग्दा घटनाहरु घटिरहेका छन् । शिक्षित भनिने वर्गभित्रै अन्धविश्वास र कुरीतिका छनक दिने प्रवृत्तिहरु छताछुल्ल भइरहेका छन् । एक्काइसौं शताब्दीको यो वैज्ञानिक युगमा पनि नेपाली समाज भने सोह्रौं शताब्दीको मध्ययुगीन अँध्यारोमा रहेको झल्को दिने घटनाहरु देशमा घटिरहेका छन् । कथित उच्च जातको केटीसँग प्रेम गरेकै कारण जाजरकोटका नवराज विक र उनका पाँचजना साथीहरुले रुकुमको चौरजहारीमा ज्यान गुमाउनु प¥यो । कथित उच्च जातिको अहंकारी भावनाले रुकुममा नरसंहारकारी अमानवीय हत्याकाण्ड निम्त्यायो । जसको श्रम र सीपबिना अरु कसैको पनि जीवन चल्न सक्दैन उसैलाई ‘अछुत’ भनेर छुवाछूतको व्यवहार गर्ने यो कुचलन हाम्रो समाजमा अझै पनि जीवित रहेको छ । सामन्ती चिन्तन र संस्कारले मलजल गरेर हुर्काएको यो कुचलनलाई मिल्काउन अझै पनि ठूलो संघर्ष गर्नुपर्ने आवश्यकता देखिन्छ ।

नेताहरुले भाषणमा त सजिलै जातीय समानताका कुरा गर्छन् । तर, त्यसरी भाषण गर्ने कतिपय नेताहरुकै घरपरिवारभित्र छुवाछूूत र विभेदका दृष्टान्तहरु भेटिन्छन् । यस्ताखालका पुरातन विचार र संस्कारहरु जीवित राखेर हामीले देशलाई समृद्धिको यात्रामा कदापि अगाडि बढाउन सक्दैनौं । त्यस्ता संस्कारहरुलाई मिल्काउनै पर्दछ । देशमा बेरोजगारी हट्ने भनेर नेताहरुले फलाक्न थालेको धेरै भयो । तर बेरोजगारीको समस्या दिनप्रतिदिन विकराल बन्दै गइरहेको छ । देशभित्र रोजगारीको अवसर नपाएपछि लाखौंलाख नेपालीहरु परदेशी भूमिमा पुगेर आफ्नो रगत र पसिना बेच्न बाध्य भइरहेका छन् । तिनै प्रवासी नेपालीहरुले पठाएको रेमिट्यान्सबाट देशको अर्थतन्त्र धानेको छ सरकारले । उद्योगधन्दा कलकारखानाहरु नयाँ खोल्ने कुनै योजना देखिंदैन सरकारको । सरकार विदेशिएको नेपाली श्रमशक्तिलाई देशभित्रै ल्याएर रोजगारी दिने कुनै ठोस योजना देखिंदैन सरकारको । युवाहरुको श्रमललाई विदेशमा बेचेर अर्थतन्त्र धान्दा मख्ख देखिन्छ सरकार, अनि बेरोजगारी हट्दैछ पनि भन्दैछ । सरकारको, व्यवस्थाको भनाई र व्यवहारबीचमै तालमेल मिलिरहेको छैन । जनगायिका निलिमा पुनको तीज गीत ‘गाउँ गाउँ’ले त्यही यथार्थता पस्केको छ ।

कुनै एक पार्टी विशेषका नेताहरुलाई इङ्गित गरेर होइन समग्र नेताहरुको झुठा आश्वासन बाँडेर जनतालाई उल्लु बनाउन खोज्ने प्रवृत्तिप्रति तीब्र कटाक्ष गरिएको छ गीतमा । हुन त तीजको गीतमा नारी बेदनाका आवाज मात्र समेटिनु पर्छ भन्ने आवाज पनि नउठेको होइन तर त्यो आवाजलाई वस्तुनिष्ठ मान्न सकिँदैन । नारीहरुले देश, जनता र नेताहरुका बारेमा पनि यसैगरी आवाज बुलन्द गर्नु पर्दछ । किनकि नारी जातिमाथि घर, समाजमा जेजति थिचोमिचो, दमन, अत्याचार र शोषण भइरहेको छ, यसको मूल कारण भनेको यहाँको राज्य ब्यवस्था नै हो । राजनीति भनेको नीतिहरुको पनि मूल नीति हो । मूल नीति नै सही भएन भने अरु नीतिहरु झन सही हुनै सक्दैनन् । त्यसैले तीज गीतहरुमा नारीले घरभित्रको बेदनामात्र होइन देशको बेदना पनि समेट्नुलाइ कदापि अन्यथा मान्न सकिँदैन ।

जनगायिका निलिमा पुनले आफ्नो तीज गीत ‘गाउँ गाउँमा’ देशको मूल नीति राजनीतिभित्र देखिएका विकृतिहरुमाथि प्रहार गरेकी छिन् । गीतमा देशमा मौलाउँदै गएको भ्रष्टाचार र अनियमितताप्रति पनि तिखो प्रहार गरिएको छ ।
भ्रस्टाचार तस्करीलाई रोक्छौ भन्छन् नेताले
माफियाको खेल के छ बुझ जनताले
नयाँ नेपाल बन्छ अब भन्छन् हेर नेताले
कस्तो बन्ला नयाँ नेपाल हेरौ साराले…

देशमा भ्रष्टाचार, अनियमितता र तस्करीले जसरी संस्थागत विकास गर्दै गइरहेको छ, त्यो देख्दा नेताहरुले भन्ने गरेको नयाँ नेपाल उनीहरुको बोलीमा मात्र सीमित हुने हो कि भन्ने गम्भीर आशङ्का पनि उब्जिइरहेकै छ । देशमा माफियाको जालो कतिसम्म फैलिएको रहेछ भन्ने तथ्य अहिले कोरोना कहरका बेला स्वास्थ्य सामग्री खरिदमा समेत भ्रष्टाचार भएको समाचार हेर्दा थाहा हुन्छ । कहिलेकाहीँ त यस्तो लाग्छ यो राज्य संयन्त्र र सरकार यहाँका पार्टी र नेताहरुले होइन माफियाको सन्जालले नै चलाइरहेको छ । भ्रष्टाचारी र माफियाहरुको अगाडि सरकार र नेताहरु नै लाचार भएजस्तो देखिन्छ । यही पाराबाट नेताहरु अघि बढ्दै गए भने नयाँ नेपाल बन्नु त कता हो कता, भएको पुरानो नेपाल पनि मेटिने त होइन ? यो सन्त्रास पनि धेरै नेपालीहरुको मनमा छाइरहेको छ । जनमनको त्यही आवाज तीज गीत ‘गाउँ गाउँमा’भित्र समेटिएको देखिन्छ । गीतका शब्दहरु सरल तर गंभीर भाव बोकेका छन् । सङ्गीत र स्वर उस्तै मिठासपूर्ण छ । गीतको भाव अनुरुपका दृश्यहरु नै भिजुअलमा समेटिएका छन् । लिप्सिङ बाहेक गीतका लागि छुट्टै नाच र अभिनय छायांकन गरिएको छैन । यही गीतको अडियो बजाएर विगतको तीजमा विभिन्न ठाउँमा महिलाहरु नाचेका दृश्यहरुलाई नै यसमा समाबेश गरिएको छ । समग्रमा भन्नुपर्दा सीमित साधन र स्रोत एवं आर्थिक समस्याका बाबजुद पनि जुनरुपमा यो गीत आएको छ, त्यो उत्कृष्ट खालको नै मान्नु पर्दछ । आगामी दिनमा पनि गरिब दीनदुखी र झुपडीका ब्यथा एवं देशको कथा बोकेर यस्तै जनचेतनामूलक गीतहरु आइरहून् । ‘गाउँ गाउँमा’ तीज गीत एवं जनगायिका निलिमा पुनलाई समग्र जनगीति यात्रा सफलताको हार्दिक शुभकामना ।

 

आखिर कस्तो छ त जनगायिका निलिमा पुनको तीज गीत ‘गाउँ गाउँमा’ ? अब हेरौं र सुनौं यो भिडियोमा ।

प्रकाशित मिति : श्रावण ११, २०७७ आईतबार ( दैनिकअनलाइन बाट साभार )