व्यर्थैको रडाको

महासागरसँग निकटता जताइरहने अर्थात उसकै छेउछाउ एकजुट भएर दुम्किरहने ढुङ्गाका छेकवारको वास्ता महासागरले जति अरू कसले गर्ला ! हुनपनि त्यो स्वाभाविक मात्र हैन प्राकृतिक पनि हो । जो नजिक भैरहन्छ त्यसको वास्ता, मोलाहिजा नगरे नजिक हुनुको मतलब नैं के भयो र ! त्यसैले महासागरले बेलाबेलामा तिनमा जमेका धूलो पखाली दिन्छ, खोल्छातिर लगेर लुकाइदिन्छ भने बेलाबेलामा तिनलाई आकर्षक देखिने गरी टल्काइदिन्छ । अरूका आँखामा ती ढुङ्गाप्रति लोभ जगाइदिन्छ ।
जमिनकै कुरा गरौं न । ऊसको छातीमा जो जति भित्रसम्म गढेर रहेको हुन्छ त्यसैलाई उसले त्यही अनुरुप कम र बढी संरक्षण दिरहेको हुन्छ । त्यसैले त आँफूमा अतिनैं गढेर रहेका ठूला ठूला बनस्पतिलाई उसले साना बोट बिरुवाभन्दा बढी संरक्षण दिइरहेको हुन्छ । किनकि ती साना बिरुवाले त्यति धेरै जमिनमा गढ्न जानेका हुँदैनन् अथवा जाने पनि जमिनसँग धेरै गढेर रहने तिनको क्षमता नैं हुँदैन । अनि त सानो हावाको झोक्काले पनि तिनलाई तहस नहस पारिदिन्छ । त्यै जमिनसँगको झिनो सम्बन्धका कारण उसले पनि तिनलाई त्यति मतलव गर्दैन जबकि आँधीबेहरीमा पनि आँफूसँग गहिरो सम्बन्ध राख्ने वनस्पतिलाई जोगाउन जमिन भरमग्दूर प्रयत्न गर्छ । त्यो बेग्लै कुरा हो कहिलेकाही आफ्नो शक्तिले नैं

नभ्याएपछि निरिह बनेर त्यस्ता बनस्पतिलाई पनि थाम्न नसकी उसले छाती नै भिज्ने गरी आँशु बगाएर बस्नुपर्ने हुन्छ । जब प्राकृतिक महासागरको , प्राकृतिक भूमिको यो व्यवहार प्राकृतिक हुन्छ र हामी त्यसलाई स्वाभाविक मान्छौं आलोचना गर्दैनौं, विरोध गर्दैनौं भने प्राकृतिक मान्छेको यै व्यवहार किन प्राकृतिक हुँदैन ?
जसले निकटता जताइरहन्छ र जो छेउछाउ दुम्किरहन्छ त्यसका फोहर पुछिदिने, कतै खोल्छाखोल्छीमा लुकाइदिने र अरूको आँखामा त्यो व्यक्तिलाई टिलिक्क पारेर चम्काइदिने काम गर्नु मान्छेको पनि कर्तब्य हुँदैन त ? त्यसैगरी छातीमा भित्रैसम्म गढेर रहनेको लागि मरिमेट्नु भूमिको जस्तो मान्छेको आचरण हुनु हुँदैन त ? त्यस्तै काम गर्ने महासागरको र भूमिको प्रशंसा हुने मानिसको चैं आलोचना हुने कुरा त ठीक भएन नीं , कसो ? एउटै काम गर्ने एकथरीले वाह वाह पाउने अर्कोले चैं गाली ! यो कहाँसम्मको न्याय हो । कहाँसम्म उचित हो । मानिस हुनुको कत्रो बेफाइदा । मानिस हुनु कत्रो अभिशाप ।
केही मानिस भन्छन् “नचिनेका, नदेखेका मानिसहरूको समेत भलो होस् भनेर क्रियाशील हुने लेनिन , नेल्सन मन्डेला, ली कुआन यू आदिले कहिले टाँसिएका, गाँसिएका, लमतन्न परेकाहरूको निम्ति मरिमेटेनन, आफ्नो भनिनेहरूका लागि काम गरेनन् । हस हजूरमा विश्वास गरेनन् । “
ती व्यक्तिहरूलाई म एउटै प्रश्न सोध्छु “तपाईं हस हजूर नभन्ने , भनेको नटेढ्ने मानिसलाई आफ्नो घरमा काम गर्न राख्नु हुन्छ ?” मलाई थाह छ इमान्दारीपूर्वक जवाफ दिनुहुन्छ भने तपाईंले भन्नुहुनेछ “कदापि राख्दिन” । अब तपाईंको नीजी काममा त तपाईलाई “जी, हजूर, हस हजूर” चाहिन्छ भने राष्ट्रको

काम गर्नेलाई जवाफ लाउने, भनेको नटेढ्ने मानिस के काम ? राष्ट्रको काम चौपट हुँदैन ? अनि काम गरेन भनेर झन् ठूलो विरोध , आलोचनाको आक्रमण सहिरहने ? तपाईं भन्नुहोला घरमा काम गर्न राखेको मान्छे र कार्यकर्ता लाई एउटै श्रेणीमा राख्न मिल्छ त ? हो, तपाईंको नजरमा वा सोचमा मिल्दैन होला । तर तिनका नजरबाट हेर्नुस् त । ’काम गर्न राखेकालाई तलब दिएजस्तै मनपरेको कार्यकर्तालाई महातलब पाउने अवसर दिएपछि दुवै उस्तै हुन् ’ भनेर उनीहरूले सोच्न नपाउने ? त्यै अनुसार व्यवहार गर्न नपाउने ?
लेनिन , नेल्सन मन्डेला, ली कुआन यू आदिका कुरा इतिहासमा छदैछन् नीं । त्यहीं खोज्न जानु नीं । यहाँ कराएर हुन्छ ?