मानिस कस्तो हुन्छ ?

सुनिल कुमार पाैड्याल    

भनाइ छ “मानिस चेतनशील प्राणी हो । अरू जनावर र मानिसमा यही फरक हो ।” यस कुरालाई माने पनि नमाने पनि यो फरक छुट्ट्याउने काम मानिसको तर्फबाटै भएको हो । जनावरको तर्फबाट विश्लेषण गर्ने मानिसमा ज्ञान भएको भए वा कुनै वैज्ञानिक संयन्त्र आविष्कार भएको भए शायद यो चेतनाको सम्बन्धमा पनि को बढी चेतनशील हो भन्ने निर्क्योल हुन्थ्यो होला । हामीले सुनेका , देखेका छौं मानिस बाहेक अरूकतिपय प्राणीले गरेका केही काम हामी मानिसले गर्न सक्दैनौं , गर्न सकेका छैनौं । उदाहरणका लागि दक्षिण अफ्रिकाको नर्थ केप प्रान्तमा केन्द्रीत भएपनि नामिविया र बोत्स्वानामा समेत पाइने सोसल विभर वा पिÞmलेतेरिअस सोसिअस नामको १४ सेन्टिमिटर र २६ देखि ३२ ग्रामसम्म तौल हुने हामीकहाँ पाइने भंगेरा जत्रो चराहरूले एकै ठाउँमा एउटै ठूलो गुँडभित्र सबै मिलेर ५ देखि १०० वटा सम्म छुट्टाछुट्टै कोठा बनाउँछन र जसमा १० देखि ४०० चराहरू अटाउनें गरी आ(आफ्नैं कोठामा छुट्टाछुट्टै आफ्ना परिवारसित बस्ने गर्छन ।  मानिसहरूले त्योभन्दा धेरै ठूलो धेरै मानिस अटाउने गुँड त बनाएका छन् तर आँफू , आफ्ना सन्तान बाहेक त्यै गुँड बनाउन सहयोग गर्ने अरूलाई अटाउन अवसर दिएका छन् त ! यो मात्र एउटा उदाहरण हो । अझै अगाडि भन्ने हो भने हामीले बुझेअनुसार हामी मात्र चेतनशील प्राणी हौं ।

यो हामीले बनाएको परिभाषा हो । उनीहरूको परिभाषा छ कि छैन छ भने त्यो कस्तो छ हामीले अझै बुझ्न सकेका छैनौं । आँफू मात्र ठूलो , आँफू मात्र जान्नेसुन्ने , आँफू मात्र बुद्धिमान ठान्ने मानव स्वभावका कारण हामीले हामी मात्र चेतनशील प्राणी ठानेका त हैनौं ?
ल यो कुरालाई सरोकारवालाको हातमा छाडिदिऊँ । तीमध्ये कसै न कसैले अन्य प्राणीको चेतनाको विषयमा , तिनका सोच र मानवप्रति तिनका धारणा आदिका विषयमा अनुसन्धान गरेर आफ्नो तरिकाको हैन तिनका तरिकाको दृष्टिकोण पत्ता लगाउन सफलता पाउला । अहिले मानवको सोच अनुसार मानिएको मानव चेतनशील प्राणी हो भन्ने विषयतिर लागौं ।
मानव चेतनशील प्राणी हो त्यसैले सृष्टिका अन्य प्राणीभन्दा ऊ उत्तम जीव हो भन्ने कुरा मान्ने हो भने तपसिलमा अन्य कुराहरू पनि आउँछन् । पहिलो त भैहाल्यो ऊ चेतनशील प्राणी हो । त्यसैले उसको सोच्ने शक्ति भनौं वा सामर्थ्य अरू प्राणीभन्दा फरक छ । त्यै सोच्ने शक्तिका कारण कुन असल कुन खराब, कुन गर्न हुने कुन नहुने उसले सजिलै छुट्ट्याउन सक्छ । त्यस्तो भेद जान्ने कुनै व्यक्तिले (कुकर्म) खराब काम गर्छ भने ऊ पशुभन्दा फरक वा अन्य प्राणीभन्दा फरक कसरी भन्न सकिन्छ ? ऊ पशु नैं हैन र !
मानिस र अरू प्राणीवीच फरक आर्को कुरा छ आत्मकेंद्रीयताको । पशु लगायत अन्य प्राणी पूर्ण रूपमा आत्मकेन्द्रीत हुन्छन् भनिन्छ । ती आफ्नो भलोको निम्ति मात्र मरिमेट्छन् । मानिस अरूको भलो पनि चाहन्छ । आफ्नो विषयमा त्यति चासो नदिने अरूको भलाईको लागि मरिमेट्ने एकथरी मानिस पनि भेटिन्छन् । ती त महापुरुष भैहाले । औसत मानिस आफ्नो बिषयमा बढी सोच्छन् , आफ्नो

भलाईका लागि बढी काम गर्छन् । तर अरूको भलाई नचाहने चैं हैन । आफ्नोलागि गर्दागर्दै अरूको भलाईको लागि पनि हात बढाउँछन् । तर केही मानिस आत्मकेन्द्रीत हुन्छन् । अरूले तिनका लागि जतिसुकै मरिमेटे पनि आफ्नोलागि भएन , आपÞm्नोलागि कसैले गरेन भन्ने तिनका गुनासो रहन्छ । जतिगरे पनि ती सन्तुष्ट हुँदैनन् । तर अरूका लागि माखो मार्दैनन् । त्यस्ता आत्मकेन्द्रीतहरू पशु वा अन्य प्राणी सरह भएनन् त ? ती कसरी मानिसको श्रेणीमा गनिन्छन् ?
अब तेस्रो फरक हो विवेक । मानिसकै परिभाषा अनुसार मानिस विवेकशील प्राणी हो । यो गुणले गर्दा पनि ऊ पशु वा अन्य प्राणीभन्दा फरक हुन्छ । त्यै विवेकका कारणले उसले गलत काम गर्दैन । अन्याय, अत्याचार गर्नु हुँदैन उसले किनभने उसमा विवेक नामको एउटा गुण छ। तर त्यही मानिस भनिने जीव अविवेकी काम गर्छ, परपीडक बन्छ, अन्यायी र अत्याचारी हुन्छ भने त्यो मानिस पशु वा अन्य प्राणीभन्दा कसरी फरक हुनसक्छ ?
मानिस र पशुवीचको अर्को फरक हो(सद्भाव, एकार्काप्रति सहिष्णु । यै सद्भावले (जसमा सहिष्णु अन्तर्नि्हित छ) गर्दा ऊ एकार्काप्रति प्रेम दर्शाउँछ । अर्काको दुख, पीडामा मल्हम लगाउन तत्पर रहन्छ आफ्नो उन्नतिमा रमाउनुको साथै अरूको उन्नतिमा खुसी हुन्छ । यै सद्भावका कारण एकार्कालाई सघाउँछ । आफ्नो उन्नतिको लागि मेहनत गर्नुका साथै आवश्यक पर्दा अरूको सहयोगको अपेक्षा गर्छ भने आफूले पनि अरूको उन्नतिको लागि सक्दो सहयोग गर्छ । कसैको डाह गर्दैन । यसको विपरित केही मानिसमा सद्भावको भावना हुँदैन जसरी पशु वा अन्य प्राणीमा हुँदैन, तिनमा सद्भावको ज्ञान नैं हुँदैन । त्यस्ता मानिसहरू यो गुणको

अभावको अर्थमा कसरी पशु वा अन्य प्राणीभन्दा पृथक मान्न सकिन्छ ?
अब कुरा आउँछ संबेदनशील गुणको । स्वभावत मानिसमा यो गुण पनि हुनुपर्छ जुन पशु वा अन्य प्राणीमा अरूप्रति संवेदनशीलताको भावना जागृत हुँदैन । अरूको दुखमा मानिस दुखी हुन्छ । अरूलाई परेको दुखबाट मुक्ति दिलाउन सकेसम्म प्रयास गर्छ । त्यसैगरी अरूको पीडामा आँफू पीडित अनुभूत गर्छ र पीडा हटाउन प्रयत्न गर्छ । अरूलाई पीडित बनाएर बहादुर ठान्ने वा गौरवान्वित हुने प्रवृत्ति पशुमा हुन्छ । अरूलाई पीडा दिएर नैं पशु बाँचेको हुन्छ । केही मानिस भन्छन् “ऊ मेरो शत्रु हो , त्यसलाई पीडा भए क्या आनन्द आउँथ्यो ।” केहीले त भनेको सुनिएको पनि छ “मलाई सताएको थियो, त्यसको दुर्ग्ति भएछ ठिक्क पर्यो ।” अरूलाई सताउने वा अरूको दुर्ग्तिमा रमाउने प्रवृत्ति मानिसको हुँदै होइन । केहीले भनेको सुनिएको छ “त्यसको पतन भएको दिन खसी काटेर खानेछु ।” यो पनि मानिसजन्य प्रवृत्ति होइन । अर्कालाई पीडा दिएर गौरवान्वित हुने , अरूको पीडामा रमाउने प्रवृत्तिका प्राणी कसरी मानिस प्रवृत्तिका हुन्छन् ? त्यो त पशुजन्य प्रवृत्ति हैन र ? फेरि मानिसको शत्रु मानिस कहाँ हुन्छ र ! पशुको शत्रु पो पशु हुन्छ त ! अनि संवेदनाहीन मानिसलाई कसरी मानिस भन्नु ! त्यो त पशुको श्रेणीमा परेन र ?
हामी मानिस आँफैले मानिस र पशु वा अन्य प्राणीवीचको भिन्नताका यी परिभाषाहरू अरू प्राणीको पक्षबाट मिल्दोजुल्दो भएपनि वा नभएपनि मानिसवीच त पक्कै लागू हुनुपर्ने हो । अब यी परिभाषाभित्र अटाउने मानिस बाहेक अन्य रूपले चैं मानिस तर कर्म वा व्यवहारले चैं मानिस बाहेकका अन्य प्राणी भन्नुमा कुनै अपराध होला त ?