नेपालको अद्यावधिक नक्सा औपचारिक रुपमा सार्वजनिक
आज बिक्रम संवत २०७७ साल जेठ ७ गते बुधबार तदनुसार इ.सं २० मे २०२० का दिन नेपाल सरकारले लिम्पियाधुरा, लिपुलेक, कालापानी लगायतकाे भुभाग समेटिएकाे नेपालको राजनैतिक नक्सा औपचारिक रुपमा सार्वजनिक गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले बुधबार दिउँसो कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नयाँ राजनैतिक नक्सा औपचारिक रुपमा सार्वजनिक गरेकी हुन् ।
नयाँ नक्साअनुसार नेपालको कुल क्षेत्रफल १ लाख ४७ हजार ५ सय १६ वर्ग किलोमिटर कायम हुनेछ । अतिक्रमित भूभागको क्षेत्रफल ३३५ वर्गकिलोमिटर छ । अतिक्रमित भूभागबाहेकको नेपालको क्षेत्रफल १ लाख ४७ हजार १ सय ८१ वर्गकिलोमिटर छ ।
नक्सा सार्वजनिक गरेसँगै देशभर यसैलाई प्रयोगमा ल्याउने गरी आवश्यक कामकारबाहीसमेत अगाडि बढाइएको मन्त्रालयले बताएको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले अतिक्रमित भूमि समेटिएको नेपालको नयाँ नक्सा जारी गर्ने निर्णय गरेको थियो । गत जेठ २ गते सरकारले पेश गरेको नीति तथा कार्यक्रममा सरकारले भारतले अतिक्रमण गरेको लिपुलेक, लिम्पियाधुरा, कालापानीलगायत भू-भाग समेटेर नयाँ नक्सा जारी गर्ने घोषणा गरेको थियो।