ब्लाक होलको गुरुत्वाकर्षण शक्ति यति धेरै हुन्छ कि यसले सामर्थ्यले भ्याएसम्मको दूरीको हरेक वस्तुलाई ग्वामल्याङ्ग निलेर पचाइदिन सक्छ माटोले पानी पचाए जसरी । यो सधैं भोको भैरहने वस्तु होइन तैपनि यसले जति पनि निल्न सक्छ, जति पनि हसुर्न सक्छ । नजिक पर्नासाथ नजिक पर्नेको अस्तित्व समाप्त पारिदिन्छ । अथवा भनौं सगरमाथाको हिउँले त्यो विशाल डाँडाको अस्तित्व नैं समाप्त पारिदिएको जस्तो । अझै अर्को शब्दमा भन्ने हो भनें हाम्रो पौराणिक कथामा वर्णन गरिएको अगस्त्य ऋृषि जस्ता कहिल्यै नघाउने वा जे पनि निल्नसक्ने विद्वानले समुद्र नैं निलिदिए झैं छ यो ब्लाक होल पनि अगस्त्यले समुद्र मात्र निलेथे यसले त जे पनि निल्न सक्छ ।
त्यसो हो भने अगस्त्य ऋृषि जस्तै मान्छे वा ब्लाक होल जस्तै जे पनि हसुर्न वा पचाउन सक्ने सामर्थ्य भएको मान्छे जातमा पर्ने जीव अहिलेको यो दुनियाँमा पनि पाइन्छन त ? यो दुनियाँ विचित्रको छ । पहिले कहीं कतै नभएको कहीं कतै नदेखिएको कुरा यहाँ भेटिन्छ र यहाँ पाइन्छ भने अगस्त्य जस्ता वा त्यसभन्दा बढी ब्लाक होल जस्तो गुण भएको मान्छे यहाँ नपाइने कुरा अलि असम्भव हुन
जान्छ । उहिले राजा वीरेन्द्रले आफ्नो पुर्खा वा आफ्नो हकमा कहिल्यै नभएको नारायणहिटी दरवार नेपाल सरकारलाई बेचेर त्यसको रकम क्वाप्पै खाइदिए रे भन्ने हल्ला खुब चलेको थियो । दरवार हत्याकाण्डमा कुन चाहिं आततायीले वीरेन्द्रको वंश नैं खर्लप्प निलिदिए र पचाए । कसैले धमिजा पचाए, कसैले के ग्वाम्ल्याङ्ग हसुरेर पचाए कसैले के ! केही मान्छेहरू हसुरी नैं रहन्छन र हसुरे जति पचाइदिञ्छन । तर केही मान्छेले हसुरेको पचाउन नसकेको पनि हामीले देखेका छौं । न त पचाउन सक्नेले हसुर्न छाडेको छ न पचाउन नसक्नेले ।
कसैकसैले भन्छन् ( भोकाहरूले पाएभने जे पनि हसुर्छन , निमिट्यान्न पारेर सबै हसुर्छन । मलाई यो कुरामा सत्यता भएजस्तो लाग्दैन । यो कुरा सत्य भैदिएको भए ब्लाक होलले किन जे पनि जति पनि हसुर्थ्यो त । अगस्त्य ऋृषि भोका भएर समुद्र नैं निलिदिएका हुन् र ! त्यसैले भोकाहरूको सन्दर्भमा जोडिएका यस्ता कुरामा मलाई विश्वास लाग्दैन । मुख्य कुरा त नियतको हो । नियत उच्च छ भने न भोको न अघाएको । उच्च नियत भएको भोकोले पनि जे पायो त्यही हसुर्दैन । नियत नैं खोटयुक्त छ भने त्यस्ताले जे पनि खान्छन् । जस्तो फोहोर जहाँसुकैको होस जेसुकैको होस् जतिसुकै भेटोस कुकुरले खान छाड्दैन । तर बाघले जतिसुकै भोक लागेपनि घाँस खाँदैन । यो हामीले देखीजानीआएकै कुरा हो । खोटयुक्त नियतभित्र फेरि अपवित्र गठवन्धनको कुरा पनि आउँछ ।
नियत नैं प्रदूषित खोला जस्तो दुर्ग्न्धित अपवित्र गठ्वन्धनले जेलिएको छ भने खाने खुवाउने कुरा मात्र त्यहाँ हुन्छ र त्यो खाने खुवाउने कुरामा भोक वा टन्न पेटले
केही फरक पार्दैन । जति सक्यो बुत्याउने हो । भ्याएसम्म सोहोर्ने हो । जतिसुकै होस् जे सुकै होस् , फरक पर्दैन, हसुर्न पाए पुग्यो । कौडा जुवा को खेलमा च्याँखे थाप्दा यो बाद ऊ वा यति बाद भने जस्तो त्यहाँ हुँदैन । त्यहाँ त आएको बाद छैन भन्ने हुन्छ । यो अर्थमा त्यस्ता मान्छेहरू जुवाडेभन्दा पनि ज्यादै निम्न स्तरका हुन्छन् ।
जंगलको बाघ एकपल्ट अघाएपछि भोक नलागुन्जेल आर्को सिकार गर्दैन तर मान्छे बाघ सिकार गरिरहन्छ । मेरी आदरणीय पारिजात दिदीले यस्तै किसिमको अभिव्यक्ति आफ्नो उपन्यास शायद ’पर्खाल बाहिर पर्खाल भित्र’ मा दिनुभएको थियो । धेरै अगाडि पढेको हुनाले ठ्याक्कै भन्न सकिन । त्यसैले शायद भनेको हुँ । दिदीले अर्कै सन्दर्भमा भन्नुभएको थियो । म त यस्तालाई बाघसङ्ग पनि दाज्न सक्दिन । यी त हुँडार हुन् , हुँडार ! अर्काले मेहनत , बुद्धि , जाँगर चलाएर गरेको सिकार (फल) खाने बेलामा दच्किएर , डराए जस्तो गरेर श्याल र गिद्ध सँगको अपवित्र गठबन्धन बाट सिकार (फल) खाइदिने ।
हो , ती व्यक्तिहरू जो अपवित्र गठवन्धनका कारण भैंसीको गोबरले लोटाए जस्तै गरी लोटाइएका हुन्छन् , तिनका नियत नैं खोटयुक्त ब्हुन्छ र त्यसैले त्यस्ता व्यक्तिहरू ब्लाक होल हुन् जसले कुनैं बस्ति मात्र किन , गाउँ , शहर र देश मात्र हैन बिस्तारै यो पृथ्वी नैं ग्वाम्ल्यांग हसुरी दिन सक्छन् , पचाइदिन सक्छन् । सावधान !