एकान्तबास र मन 


                     निलिमा पुन 

 

 

एकदिन एकान्तबासबाट
मन उड्दै उड्दै मेरो अतीतसम्म पुग्यो
बालापनसँग खेल्यो
म हुर्केको पाखापखेरो चहार्यो
आमाको अघिपछि गर्दै मामाघर गएको
बाबाआमाले यानीमाया गाउँदा
आमाको काखमा निदाएको
घरपारीको सानो स्कुल गएर
कालो पाटीमा ढुंगाको खरीले
क ख लेखेको सम्झायो
पहिलोपटक नयाँ कपीकलम पाउँदा
खुशी भएको
एउटै स्कुलमा दस कक्षासम्म नहुँदा
बर्ष बर्षमा नयाँ स्कुल फेरेको
बच्चामा चकचक गरेको
घाँस काट्दा हात काटेको
एक खुट्टे खेल्दा नङ ठोक्किएको
पिङ खेल्दा माथिबाट झरेको
निदाएको मौका पारेर
दिदीले दाँत उखेल्दिएको
स्कुल जाँदा हावाहुरीमा परेको
भोक लाग्दा चुत्रो,एेसेलु टिपेर खाएको
बनमा गाई चराउदा असिना पानीले कुटेको
यी सबै अतित खोजेर मनले
मेरा आँखा अगाडि राखिदियो
म दर्शक बनेर दिनैभरी हेरिरहे
लाग्यो म जन्मेको धेरै बर्ष भइसकेछ

बरालिदै मन पुराना एल्बमतिर गयो
सँगीहरुसँगका फोटा देख्दा
हाईस्कुल पढ्दाको याद आयो
परिस्थितिबस टाढा भएका
सम्झनाहरु नजिकै ल्याइदियो
फेरि मन पुराना डायरीहरुमा डुल्यो
पचास सालमा लेखिएको एउटा दैनिकी पढेँ
पहिलोपटक घर छोडेर काठमाडौं
आउदाका दिनहरू सम्झेँ
अबोध,निश्छल,आफैलाई बालापनले
नछाडेको त्यो उमेर सम्झेँ
त्यतिबेलाका परिवेशहरु सम्झेँ
यी सबै श्रृङखलाहरुले मलाई धेरै टाढा पुरायो
सोचे,यो बेलामा मलाई कसैले नबोलाए हुन्थ्यो,
मन डायरीका पानाहरुमै डुब्यो
हेर्दै जाँदा धेरै पटक रोएँ
कतै खुशी पनि भएँ
जानीनजानी लेखिएकाका हरफहरु
पढ्दा थाहा पाएँ
अपरिपक्व अवस्थाबाटै सँघर्ष गर्न सिकेकोरहेछु
कठिन घडीहरुबाट गुज्रिएकोरहेछु
अप्ठ्याराहरुसँग जुधेकोरहेछु
साच्चै जिन्दगीमा धेरै गुमाएर
थोरै प्राप्त गरेकोरहेछु
ती यात्रा संस्मरणहरुबाट
एकपटक फेरि गाउँदेखि शहरसम्म,
देशदेखि परदेशसम्म घुमेको सम्झेँ
यात्रामा भोगेका ती कठिनाइहरुले नै
यो जीन्दगीलाई सुन्दर बनाएकोरहेछ
फर्केर हेर्दा वितेका समय
वर्तमानलाई प्रेरणादायी बन्दोरहेछ
मनले मलाई विगततिर फर्कायो
आफ्नै जीवन पढ्न लगायो
सबैसँग भेट गरायो,
म जहाँ जहाँ पुगेको थिए
फेरि त्यही पुरायो
प्रेरणा र हौसला बटुलेर
मलाई नै थपिदियो

घुम्दै घुम्दै मन फेरि
एकान्तमाबासमा
फर्कियो अनि सोच्यो,
यो महामारीले राम्रै पाठ सिकायो
मान्छेलाई आफ्नै नियन्त्रणमा राख्यो
घरघरमा बस्ने गरायो
आफै माथि भर पर्न लगायो
जीवन के हो रु मृत्यु के हो ?
सबैलाई सचेत बनायो
धनसम्पत्ति ठुलो ठान्नेलाई
जीवनको महत्त्व बुझायो
ठुलोसानो,धनिगरीबबिचको
विभेदकारी सोच बदलिदियो
मान्छे पहिले सबै हतारमा हुन्थे
अहिले सबै विश्राममा छन्
पहिले बस्ने समय थिएन
अहिले हिड्ने अनुमति छैन
पहिले हिडेर थाकिन्थ्यो
अहिले बसेर थाकिन्छ
पहिले काम नगरी बस्नु थिएन
अहिले बस्ने बाहेक अरु काम छैन
उल्टो भनौ कि सुल्टो भनौ ?
सुखको दिन कल्पनामा मात्र थियोे
बसेर हुन्न भन्ने सिद्धान्त मनमा थियोे
अहिले यस्तो विपना मै मिल्यो
यो मौका हो कि बाध्यता ?
नियमहरु एक्कासि परिवर्तन भए
कसैलाई बसिबसि खाने दिन आए
कसैलाई एकछाक नपाएर रुने दिन आए
साच्चै मनले एकान्तबासमा बसेर
जिन्दगीको हिसाबकिताब गरायो
मानवजातीकै भविष्य सोच्न बाध्य बनायो ।

IME Remittance