कुनै बेला बन्दुक बोकेका पूर्व नेकपा माओवादीका नेता एवं पूर्वमन्त्री लोकेन्द्र विष्टका हातमा अहिले विहान बेलुकै कुटो, कोदालो देखिन्छ । छपन्न वर्षीय विष्ट गएको चार वर्षदेखि कृषि पेशामा रमाउनुभएको छ । तुलसीपुर उपमहानगरपालिका–१८ को मैरवा गाउँमा उहाँले गरेको ड्रागन फलको खेती देखेपछि त्यो बाटो भएर हिँड्ने सबै दङ्ग पर्छन ।
ड्रागन फल सिउँडी जातको फल हो । नेपालमै उत्पादन शुरु भएको यो फल ठूला होटलहरूमा डेजट (खानापछिको फलफूल) का रूपमा प्रयोग गरिन्छ । यस फलबाट फेसवास, वाइन, जाम, चकलेट, बिस्कुट र पाउडर बनाउन पनि सकिने विष्टले बताउनु भयो । उहाँका अनुसार यो फल फल्न थालेपछि लगातार वर्षमा ५ देखि ७ पटक सम्म फल्ने गर्दछ । यो रातको समयमा फल्ने भएकाले यसलाई ‘रातकी रानी’ भनेर पनि चिन्ने गरिन्छ । यसको बकोटबाट हाँगा काटेर पनि रोप्न सकिन्छ । त्यस्तै यसको बिरुवा बलियो नहुने भएकाले यसलाई अडाउन सिमेन्टको सानो पोल त्यसमाथि मोटरसाइकलका पुराना टायर राख्ने राखिन्छ । यसको खेती तराइदेखि भित्रिमधेस तथा एक हजार ५ सय मिटर अग्लो स्थानमा पनि गर्न सकिन्छ । यो फल अहिले नेपालमा विदेशबाट ९५ प्रतिशत आउने गरेको छ । विष्टसमेत तीन जनाले रु एक करोड लगानीमा यो फलको खेती शुरु गर्नु भएको हो । मन्त्री विष्टले यस फलको खेतीमा फाइदा देख्नुभएको छ । भन्नुहुन्छ “ करिब १५ बर्षमा हामी जनही चार करोड रुपैयाँ फाइदा बाँड्न सक्ने अवस्थामा पुग्ने हामीहरूको लक्ष्य छ ।” उहाँले अब आफू राजनीतिमा नफर्किने पनि बताउनुभयो । आफू अब कृषकका रूपमा व्यवसाय शुरु गरेकोले बाँकी जीवन कृषिकर्ममा नै बिताउने बताउनु भयो । राजनीति छोड्नुको कारण राजनीतिमा फोहोरी कमा हुने, षडयन्त्र बढी हुने र महङगो हुँदै गएको उहाँको टिप्पणी छ । उहाँले पछिल्लो समय राजनीतिमा अपराध हुन थालेको पनि बताउनुभयो । नेपालमा कृषिकर्ममा नै राम्रो सम्भावना देखेको पूर्वमन्त्री विष्टको भनाई छ । त्यसमा पनि ड्रागन फलको खेती नेपालजस्तो देशका लागि कमाई हुने खेती हो उहाँले भन्नुभयो । यस्तो महँगो फलको खेती गरी विदेश निर्यात गर्न सकिएमा देशको गरिबी निवारणमा ठूलो सहयोग पुग्ने उहाँको सुझाव छ ।
ड्रागन खेती भित्री तराई–मधेश क्षेत्रमा उपयुक्त हुने गर्दछ । अहिले रोपेको विरुवाले २० देखि २५ वर्षसम्म फल दिने गर्दछ । यसको एक बोटबाट ३ देखि ५ किलोसम्म फल लाग्छ र एक मौसममा करिब ५० क्वीन्टलसम्म फल्ने गर्दछ । यो फल करिब १८ वर्षअघि नेपालमा भित्रिएको जानकारी दिँदै उहाँले विश्वका अरु कैयौँ देशमा यो फलको माग बढी मात्रामा रहने गरेको अनुभव सुनाउनुभयो । विष्ट भन्नुहुन्छ “अहिले संसार ड्रागन फ्रुटमय भएको छ, यो फलमा मानव शरीरमा रोगसँग लड्नसक्ने तत्व पाइने भएकाले पनि संसारमा यसको महत्व बढ्दै गएको उहाँले बताउनु भयो । नेपालमा कृषि क्षेत्रलाई पर्यटनसँग जोड्नका लागि ठूला कृषि फर्महरू सञ्चालन गर्नुपर्ने विष्टको सुझाव छ । उहाँ भन्नुहुन्छ “कृषि आफैमा पर्यटकीय गन्तब्य भएकाले नेपालको बाझो जमिनमा नयाँनयाँ खेती गर्नसके उत्पादकत्व बढ्ने मात्र नभएर पर्यटकीय गन्तब्यको पनि विकास हुने छ ।” धितो राख्ने जमिन नहुँदा ऋण नपाएको बताउने उहाँले नेपालमा खेती एवं कृषिकर्म गर्ने किसानलाई सरकारले विना धितो सस्तो व्याजदरमा ऋण उपलब्ध गराउनुपर्ने बताउनुभयो । यसरी सरकारले बिना धितो ऋण प्रवाह गर्नसके सानो तिनो जागिरका लागि युवा खाडीमा पुगेर दुःख गर्नै पर्दैन उहाँ भन्नुहुन्छ । देशको अर्थतन्त्रलाई मजबुत बनाउन पनि सरकारले कृषि कर्मलाई प्राथमिकतामा राख्नुपर्ने उहाँको सुझाव छ । RSS