१९ फागुन, काठमाडौं । पुनः मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री केपी शर्मा ओली त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन् ।
उनी सोमबार साँझ अस्पताल पुगेका हुन् र, बुधबार मिर्गौला प्रत्यारोपण गर्ने तयारी छ ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्न्त्री ओलीलाई भान्जीले मिर्गौला दिनेछिन् । उनी पनि सोमबार नै अस्पताल भर्ना भइसकेकी छन् ।
डा. ज्ञवाली नेतृत्वको टोलीले गर्नेछ प्रत्यारोपण
प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण त्रिवि शिक्षण अस्पतालकै युरोलोजी तथा ट्रान्सप्लान्ट सर्जन प्रा.डा. प्रेमराज ज्ञवाली नेतृत्वको टोलीले गर्नेछ । डाक्टर ज्ञवालीका अनुसार सुरु गरेको ३ देखि ५ घण्टामा प्रत्यारोपण सकिन्छ ।
प्रत्यारोपणपछि बिरामीको अवस्था हेरेर ५-७ दिनमा अस्पतालमा राखिन्छ ।
अस्पताल स्रोतकाअनुसार भारतस्थित अपोलो अस्पतालका एक डाक्टरलाई पनि ल्याउने तयारी छ, जो १२ वर्षअघि ओलीको मिर्गौला प्रत्यारोपणमा संलग्न थिए ।
ओलीले २०६४ साउनमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । त्यसले राम्रोसँग काम नगरेपछि गत कात्तिकदेखि नियमित डायलाइसिस गराउँदै आएका छन् ।
(अनलाइन खबरबाट ) ।