११ माघ, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले मुख्य शहर र राजमार्गहरुमा ५० चार्जिङ स्टेसन स्थापना गर्न ग्लोबल बोलपत्र (टेन्डर) निकालेको छ ।
विद्युतीय सवारीसाधनको प्रर्वद्धनमा जोड दिइरहेको प्राधिकरणले काठमाडौं, राजमार्ग क्षेत्र र मोफसलका शहरहरुमा गरी कुल ५० वटा चार्जिङ स्टेशन निर्माण गर्न टेन्डर गरको हो ।
यो चर्जिङ स्टेसनमा ठूला बस पनि चार्ज गर्न सकिनेछ । प्राधिकरणले उपत्यकाबाहिर शहरका मुख्य भागहरुमा स्टेसन निर्माणका लागि स्थान उपलब्ध गराउन व्यापारिक, कम्प्लेक्स, सिनेमा हल, सुपर मार्केट, पार्क, विश्वविद्यालय, सरकारी निकाय, होटल, अस्पताल लगायतसँग आवेदन लिइसकेको छ ।
बिशेषगरी सवारीसाधनको धेरै आवतजावत हुने स्थानमा छिटो चार्ज हुने खालको चार्जिङ स्टेसन राख्न लागिएको ऊर्जा दक्षता विभागका सहायक प्रवन्धक सागरमणि ज्ञवालीले जानकारी दिए ।
उनका अनुसार एक घण्टामा फूल चार्ज गर्न सकिने गरी डिसी बुस्ट चार्जिङ राख्न लागिएको हो । एकपटक फूल चार्ज भएपछि ३ सय किलोमिटरसम्म सवारी गुड्न सक्ने गरी स्टेसनहरु निर्माण गर्न लागिएको उनले भने ।
‘राजमार्गमा चिया खाजा खाने होटलमा पनि चार्जिङ स्टेसन राखिने छ,’ उनले भने, ‘गाडी रोकेर एकछिन फ्रेस हुन बस्दा पनि ५०-६० किलोमिटर गुड्ने गरी सवारी चार्ज गर्न सकिन्छ । राजमार्गका विभिन्न ठाउँमा यस्ता चार्जिङ स्टेसन राख्न ठाउँ मागेका हौं ।’
यसले ती होटलमा ग्राहक बढ्ने यात्रुले सुविधा पनि पाउने भनिएको छ । यस्ता चार्जिङ स्टेसनमा तीनवटा गाडी एकैपटक चार्ज गर्न सकिने छ । उपयुक्त पार्किङको सुविधा भएका ठाउँलाई चार्जिङ स्टेसनका लागि छनोटमा प्रथमिकता दिइने प्राधिरकणले जनाएको छ ।
‘यो ब्यापारिक मोडल हो, हामीले चार्जिङ स्टेसन राखेका होटल, पसलहरुमा ग्राहक बढ्छन्,’ ज्ञवालीले भने, ‘चार्जिङ स्टेसनले ब्यापारिक भवनको प्रतिष्ठा र ब्यापार पनि बढ्छ । टेन्डरबाट कम्पनी छनिएको ६ महिनामा चार्जिङ स्टेसन खालिसक्ने योजना बनेको छ ।’
कस्ता हुन्छन् चार्जिङ स्टेसन ?
हाल काठमाडौंमा ६ देखि ७ सय वटा विद्युतीय सवारीसाधन रहेको अनुमान छ । ती सवारीलाई घरमै निकै समय लगाएर चार्ज गरी चलाइन्छ ।
अब भने छिटो चार्ज हुने गरी साना सवारीका लागि प्राधिकरणले उपत्यका, राजमार्गहरु र विभिन्न शहरहरुमा सुविधा दिन लागेको हो । यो सुविधापछि विद्युतीय सवारीको प्रयोगकर्तामा आत्मविश्वास बढ्ने र थप विजुली गाडी प्रयोगमा आउन सुरु हुने विश्वास प्राधिकरणको छ ।
अहिले स्थापना गर्न लागिएको एउटा चार्जिङ स्टेसनमा फरक-फरक पोर्टमा लाग्ने खालका तीनवटा चार्जर हुनेछन् । चार्जिङ स्टेसन १४२ किलोवाटको हुनेछ । एउटा चार्जिङ स्टेसनमा एकैपटक तीनवटा सवारीले चार्ज गर्न सक्छन् ।
यस्तो चार्जिङ स्टेसनलाई एउटै स्मार्ट कन्ट्रोल सिस्टममा आवद्ध गरिनेछ । कन्ट्रोल सबैलाई रुमबाट सञ्चालन र व्यवस्थापन गर्न सकिने गरी स्टेसन निर्माण हुनेछ ।
सरकारले विहान, बेलुकी दिउँसो र रातका लागि चार्जिङको शुल्क फरक-फरक तोक्ने तयारी गरेको छ । साँझमा चार्ज गर्दा केही महंगो पर्न जान्छ भने रातमा सस्तो हुनेछ ।
यस्ता चार्जिङ स्टेसनमा जाँदा मोबाइल एपबाटै समय बुक गर्न सकिने प्रवन्ध पनि गरिने ज्ञवालीले बताए । आफूले बुक गरेको समयमा स्टेसन पुगेर चार्ज गराउन सकिनेछ ।
विजुली खपतको योजना
चालु आवको अन्त्यसम्म माथिल्लो ४५६ मेगावाटको तामाकोसी जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन शुरु हुने हुँदा देशमा विद्युतको खपत बढाउनुपर्ने अवस्था छ । यसका लागि विद्युतीय सवारीसाधनको प्रयोग बढाउनैपर्ने प्राधिकरण बताउँछ । अब देशभित्रै बिजुलीको खपत बढाउन आवश्यक हुने भएकाले त्यसका लागि विजुली गाडीको प्रवर्द्धन योजना बनेको छ ।
माथिल्लो तामाकोसी जलविद्युत् आयोजना निर्माण सम्पन्न भएपछि रातको समयमा विजुली बढी हुने भएकाले विद्युतीय सवारी साधन प्रयोगमा नागरिकलाई अभ्यस्त बनाउन आफूहरुले पहल गर्न लागेको प्राधिकरणको भनाइ छ ।
हाल माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको निर्माणको काम करिब ९९ प्रतिशत सकिएको छ ।
विद्युतभार कटौती अन्त्य गरेको प्राधिकरणले पेट्रोलियम पदार्थको विकल्पमा विद्युतीय सवारी साधनको खरिद तथा प्रयोगमा राज्य तथा नागरिकस्तरबाट पहल हुनुपर्नेमा जोड दिँदै आएको छ । प्राधिकरणले पहिलोचरणमा काठमाडौंका विभिन्न स्थानमा विद्युतीय सवारीका लागि चार्जिङ स्टेसन खडा गर्नेछ ।
पोखरा, चितवन, विराटनगर, नेपालगन्ज लगायतका स्थानमा पनि स्टेसन जडान गर्ने योजना छ । साना सवारीका लागि स्टेसन बनाएलगत्तै उपत्याकाभित्र बसहरुका लागि पनि ठूला स्टेसन बनाउने योजना छ ।
पेट्रोलियम पदार्थ आयातमा मात्रै मुलुकको ठूलो धनराशी वर्षेनी खर्च भइरहेको अवस्थामा विद्युतीय सवारी साधनको प्रयोगलाई विशेष ध्यान दिन लागिएको हो ।
-अनलाइन खबरबाट ।