ऋणकाे पासाे

रामबाबुको ऋणले शान्तिदेवीको जीवनमा मच्चाएको अशान्ति : न जमिन रह्यो, न श्रीमान ।

२३ पुस, काठमाडौं ।

सर्लाही मुर्तिया–५, की शान्तिदेवी कुशहवासँग न अहिले न जमिन छ न उनका श्रीमान । सेतै कपाल फुलेकी शान्तिदेवीले भन्दैछिन्, ‘३५ हजार रुपैयाँ ऋण लिएको थिएँ । चार कठ्ठा चार धुर जमिन साहुले खाइदियो । श्रीमान पनि गायव हुनुभयो ।’

साहु थिए – बरहथवाका साहु रामबाबु राय यादव ।

शान्तिदेवीका श्रीमानका तीन भाइ थिए । दाजुभाइमा जग्गाको किचलो भयो । उनले मुद्दा लड्नुपर्ने भयो । कहाँको पैसाले मुद्दा लड्ने ? शान्तिदेवी र उनका श्रीमान गाउँका साहु रामबाबुका शरणमा पुगे ।

तर रामबाबुले ऋण दिँदा एउटा शर्त राख्थे, पहिला तपाईँको जग्गा मेरो नाममा नामसारी गरिदिनुस् । ऋण चुक्ता गरेपछि जग्गा फिर्ता गरिदिन्छु ।

शान्तिदेवीले पनि त्यसै गरिन् ।

मुद्दा छिनोफानो भयो । आठ कोठाको काठको घरको दुई कोठामा शान्तिदेवीको परिवार बस्न थाल्यो ।

अब त साहुको पैसा बुझाएर जग्गा फिर्ता लिनुप¥यो ! अर्को ठाउँबाट ऋण जुटाएर उनीहरु रामबाबुकहाँ पुगे । जग्गा त रामबाबुकी श्रीमती उर्मिलादेवीको नाममा पो पास भइसकेको रहेछ । जहाँ शान्तिदेवीका श्रीमानले सहिछाप ठोकिसकेका थिए । ‘त्यतिबेलै एक कट्टा जग्गाको ५०/६० हजार पथ्र्यौ’, शान्तिदेवी भन्छिन्, ‘अहिले त २५/३० लाख रुपैयाँ पर्छ ।’

कसरी छोड्न सकिन्छ र आफ्नो माटो ? शान्तिदेवी मलंगवा गएर बुझिन्, ‘किन यस्तो भयो ? यो जग्गा मेरो हो ।’

वकिलले भने – हुँदैन । वकसपत्र भइसकेको छ ।

उर्मिलाले केही सोच्नै सकिनन् । काखमा १२ वर्ष र चार वर्षको छोरा छन् । सम्पत्ति केही छैन । एउटा बलियो सम्पत्ति उनका श्रीमान थिए । तर उनी पनि जुन दिन जग्गा पास भयो, त्यही दिनदेखि गायव भएका थिए ।

शान्तिदेवी श्रीमानको बाटो हेरेर बसिन । अह ! छ महिना वित्दासम्म पनि संघार टेक्न आइपुगेनन् । बरु रामबाबु दैलोमा आए हम्काए – घर खाली गरिहाल्नू ।

माओवादीको द्वन्द्वको समय थियो । कहाँ जाने ? कसो गर्ने ? शान्तिदेवी एकदमै अशान्त थिइन् । त्यही बेला काठमाडौंमा इट्टाको काम गर्ने छिमेकी घर फिरेकी थिइन् । शान्तिदेवी पनि उनैको साथ लागिन् र दुई छारा काखमा च्यापेर काठमाडौं आइपुगिन्, इट्टा भट्टामा पुगिन् ।

भट्टाकै छेउमा झुप्रो बनाइन् । धमाधम इट्टाको काम गर्न थालिन् । भन्छिन्, ‘दुई छोरा हुर्काउन मैले सानो दुःख गर्नु परेन । दिनमै हजार इट्टा पोल्थेँ ।’

त्यसपछि पनि उनसँग आफ्नो जग्गा माग्न जाने हिम्मत थिएन । किनकी रामबाबुसँग ठाडो शिर लगाएर बोल्न सक्ने कोही थिएनन् गाउँमा ।

शान्तिदेवी काठमाडौं छोडेर फेरि गाउँ फर्किइन् । बरथवामा कोठा भाडा लिएर बस्न थालिन् । भन्छिन्, ‘अहिले जेठो छोरा ससुराल गएर बसेको छ । कान्छो मलेसियामा छ । कोदालो चलाएर हुर्काएँ छोराहरुलाई ।’

अहिले पनि कोठा भाडामा लिएकी छिन्, भाडा २ हजार । अहिले पनि श्रीमानको सम्झना आइरहन्छ । उनलाई शंका छ, जग्गा पासपछि साहुले नै श्रीमानलाई गायव बनायो । तर उनीसँग न यो भन्ने आँट छ, न प्रमाण ।

उनीजस्तै ४० जनाभन्दा बढी पीडित न्याय माग्नका लागि काठमाडौं आएका छन् । रामबाबु मात्र होइन, ब्रहमपुरीका सञ्जय रौनियारबाट ठगिएकाहरु काठमाडौं आएका छन् । कसैलाई ऋण तिरिसक्दा पनि जग्गा फिर्ता नदिएर विल्लीबाठ बनाइएको छ भने कतिको करोडभन्दा बढी ठगी गरेका छन् ।

रामबाबुबाट एक लाख पचास हजार ऋण लिएका सिंगेश्वर सहली भन्छन्, ‘त्यो मान्छेको काम नै पहिला जग्गा पास गराउने, अनि ऋण दिने हो । ऋण तिरेपनि दोव्वर तिर्न बाँकी रहेको हिसाव देखाएर जग्गा अर्कैलाई पास गरिदिन्छ ।’

उनले ०६८ सालमा एक लाख पचास हजार ऋण लिएका थिए । ५१ हजार बुझाए । तर अर्को किस्ता रकम लिएर जाँदा उनको अढाई कट्ठा जमिन अर्कैलाई सहुले बेचिसकेको थियो । उनी भन्छन्, ‘पिच रोडको जमीन थियो । कट्ठाको लाखौं रुपैयाँ पर्ने जमिन थियो हजुर ।’

शान्तिदेवी र सिंगेश्वरहरु चिसो काठमाडौंमा न्याय माग गर्न आएका छन् । बुधबार दिउँसो पेरिसडाँडामा भेटिएका उनीहरु भन्दै थिए, ‘काठमाडौं आएपछि धम्की आइसकेको छ । अब घर पनि कसरी फर्कने खोई ।’

अनलाइनखबरबाट । विश्वास खड्काथोकी (२०७६ पुष २३ गते २३:३९ मा प्रकाशित )

IME Remittance