१६ पुस, काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल भ्रमणमा आउन पर्यटकहरुलाई अपील गरेका छन् ।
नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भ समारोहलाई सम्बोधन गर्दै भट्टराईले भने, ‘नेपाल प्रकृतिको अनुपम सिर्जना हो । यहाँका अनुपम एवं अद्वितीय प्राकृतिक सौन्दर्यसँग रमाउन नेपाल आउनुहोस् । जिन्दगीभरिका लागि मिठो अनुभव लिएर जानुहोस् ।’
उनले अघि भने, ‘नेपाल यो धर्तीकै मौलिक संस्कृतिको केन्द्र हो, विविधतापूर्ण संस्कृतिमा रमाएर जिन्दगीभरिका लागि अद्भुत अनुभुति सँगालेर जानुहोस् ।’
नेपाल संसारमै एक अद्वितीय पर्यटकीय गन्तव्य भएको र अथिति सत्कार विश्वमै उत्कृष्ट भएको उनले बताए । ‘नेपाल यस्तो मुलुक हो, हामी सहजै भन्न सक्छौं, ‘यहाँ के छैन ? सबथोक छ’ मन्त्री भट्टराईले भने, ‘हाम्रा प्राकृतिक सुन्दरता, सांस्कृतिक सम्पदा, भौगोलिक विविधता र धार्मिक केन्द्रहरूको आधारमा हामी भन्न सक्छौं, ‘सबैका लागि नेपाल जाने ।’
पर्यटकहरूको लागि नेपाल आफैंमा एउटा पूर्ण प्याकेज भएको मन्त्री भट्टराईले बताए । (अनलाइन खबर)