पर्वतमा भव्य सांगीतिक कार्यक्रम


२०७६ कात्तिक २३ गते, पर्वत । जनगायक जीवन शर्माका माइला छोरा अमृत यतिबेला काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा छन्। गत दसैंमा खाना खाने क्रममा घाँटीमा हड्डी अड्किएर अमृतको अन्न नलीमा जटिल समस्या देखिएको थियो। उनको उपचारमा लाखाै रूपीयाँ खर्च हुने बताइएको छ। अमृतको यो अवस्था देखेपछि उनलाई बचाउन देशभित्र र बाहिरबाट आर्थिक सहयोग गर्ने क्रम रोकिएको छैन। अमृतको अवस्था यस्तो रहँदा बाबु जीवन शर्मा के गरिरहेका होलान? हामी सहजै अनुमान गर्न सक्छौँ, उनी अस्पतालमै छोराको साथमै होलान्। औषधि खुवाउँदै होलान, छोराको स्याहार गरिरहेका होलान्।

All-focus

जनताका गीत गाउँदै जीवन बिताएका शर्मा भने अनुमानविपरीत बिरामी छोराको साथमा छैनन्। भारतले नेपालको सीमा मिचेर नयाँ भौगोलिक नक्सा सार्वजनिक गरेपछि नेपालीहरू यतिबेला सडकमा छन्। भारतले जमिन मिचेकोमा नेपालीहरू सडकमा आइरहेको बेलामा जनगायक शर्मा पनि गीतमार्फत् सीमा जोगाउन आह्वान गर्दै स्टेजमा देखिएका छन्। लायन्स क्लब अफ शिवालय कुस्माले जिल्ला अस्पताल पर्वतमा नवजात शिशुहरूलाई अनुकूल हुने गरी वातावरण निर्माण गर्न आवश्यक उपकरण जिल्ला अस्पताल पर्वतमा जडान गर्ने, आँखा उपचार केन्द्रलाई अस्पतालको रूपमा विकास गर्ने र ग्रामीण क्षेत्रमा स्वास्थ्य शिविर राख्ने उद्धेश्यसहित अर्थ संकलन गर्न शनिबार ‘जनगायक जीवन शर्माको सांगीतिक साँझ’ आयोजना गरेको थियो। टिकट काटेर कार्यक्रम हेर्न पुगेहरूले सोचेका थिए, शर्माले छोराको अवस्थाबारे केही बोल्नेछन्। तर, दर्शकहरूले अपेक्षा गरेअनुसार उनले केही बोलेनन्, बोले त केबल देशको सीमा मिचिँदा भइरहेको पीडाको कथा। गीत सुनेर रमाइलो गर्ने ‘मुड’ मा पुगेका दर्शकलाई शर्माले राष्ट्रियताको जालोमा बाँधेर भावुक बनाए। ‘एउटा सानो पारिवारिक चोट परेको छ, त्यसलाई छोडौँ, त्योभन्दा ठूलो पीर देशलाई परेको छ’ उनले भने, ‘परिवारको पीरभन्दा राष्ट्रको पीर र चोट कयौँ गुणा संवेदनशील र पीडादायी हुने रहेछ।’ उनले यसो भनिरहँदा दर्शकहरूले भरिएको हलमा सन्नाटा छायो।

‘एकल साँझमा त वरिपरि मादल, भायोलिन, तबलाहरूले भरिएका हुन्छन्। हेर्नुहोस् त यहाँ त एउटा मादल र एउटा हार्मोनियम मात्रै छ’ त्यही सन्नाटाबीचमा गायक शर्माले भने, ‘हाम्रो देशको अवस्था जस्तो छ, मैले पनि त्यही गरेको हुँ। हिजो गाउँमा एउटा मादल पाउन पनि त्यति सहज थिएन । राम रमिता र झ्याउरेका खालमा मादलका शान्ति झगडा मच्चिन्थ्याे । अाज मलाइ ती दिनकाे संझना अाइरहेकाे छ । जनताका गीत गाउँदा गीतार, भायोलिन र तबलाको भीड चाहिँदैन।’

गीत प्रस्तुत गर्नु पहिले उनले जतिबेर बोले त्यो अवधिमा सीमाको सुरक्षामा जुट्न सबैलाई अनुरोध गरे। देशका विभिन्न भागमा विद्यार्थी संगठनहरूले गरिरहेका प्रदर्शनपति ऐक्यबद्धता जनाउँदै उनले यसमा खुलेर सघाउन सबै राजनीतिक दल तथा तिनका भ्रातृ संगठनहरूलाई अनुरोध गरे। सीमा रक्षा गर्न सकेमा मात्रै नेपालीको पहिचान रहने जनगायक शर्माको भनाइ छ। ६० वर्ष पुगिसकेका गायक शर्माले अहिलेसम्म झन्डै २ हजार गीतहरू गाएको र लेखेको बताउँदै आफूले जहाँ जाँदा पनि एउटै गीतबाट कार्यक्रम सुरु गर्ने बताए। अनि उनले मधेसी, पहाडी र हिमाली जो जे भए पनि सबै नेपाली भएकोमा गर्व गर्दै, ‘मधेसी, पहाडी, हिमालका हिमाली, तराई हो मुटु हाम्रो, पहाड हो छाती …’ भन्ने राष्ट्रय एकताकाे भावना समेटिएकाे गीत प्रस्तुत गरे। एकल साँझमा उनले आफूले तयार पारेका तथा देशभक्तिले भरिएका जनता प्रति समर्पित दर्जनभन्दा बढी गीतहरू गाएका थिए। ( थाहाखबरबाट साभार )
-संजय रेग्मी रेग्मी, थाहाखबर , पर्वत सम्वाददाता ।
Read more at: https://thahakhabar.com/news/83460

IME Remittance