भाेलिदेखि विद्युतीय बस सन्चालनमा

२२ भदौ, काठमाडौं । वायू प्रदुषण र ध्वनी प्रदुषणले आहत बनाइरहेको काठमाडौंको सार्वजनिक यातायातमा सोमबार(भोली)बाट विद्युतीय बसको पुनरागमन हुँदैछ । सरकारी स्वामित्वको ट्रली बस बन्द भएको एक दशकपछि निजी क्षेत्रको सुन्दर यातायातले पहिलो चरणमा दुई वटा विद्युतीय बसबाट सेवा थाल्न लागेको हो । सुन्दर यातायात प्रालिले चीनबाट १८ वटा लामा आकारका विद्युतीय बस भित्र्याउँदै छ । तत्कालै ७ वटा बसमार्फत सेवा थाल्ने योजना कम्पनीको छ । केही दिनभित्रै ५ वटा बस काठमाडौं आइपुग्दैछन् । ट्रली बसपछि काठमाडौंमा पहिलो पटक सार्वजनिक प्रयोजनमा बिजुली बस चलाउन कम्पनीले रिंगरोडको रुट पाएको कम्पनीका अध्यक्ष भेषबहादुर थापाले जानकारी दिए । कम्पनीले थप ११ वटा बस ल्याउन चिनियाँ कम्पनीसँग सम्झौता गरिसकेको छ । यो वर्षभित्रै २५ वटा बस काठमाडौंमा चलाउनका लागि ल्याइने अध्यक्ष थापाले बताए । कम्पनीले प्रति बस एक करोड ६२ लाख मूल्य खर्चिएको छ । सुन्दर यातायातले भित्र्याएका बस नेपालको सडक मैत्री रहेको दाबी कम्पनीको छ । सुन्दरले चिनियाँ प्राविधिकलाई नेपालमै ल्याएर नेपाली सडकको अवस्था अध्ययन गराउँदै बसको डिजाइन गराएको थियो । त्यही स्वीकृत डिजाइन अनुरुप राम्रो ‘ग्राउन्ड क्लेयरेन्स’ राखेर बस निर्माण भएको हो । चीनमा हाल प्रयोग भइरहेका बसहरुका ग्राउन्ड क्लेयरेन्स कम हुन्छन्, किन कि त्यहाँ सडकको अवस्था निकै राम्रो छ । तर, नेपालमा त्यही बस ल्याउँदा गुडाउन समस्या हुने भएपछि नेपालका लागि छुट्टै प्राविधिक डिजाइन गरिएको हो । खाल्डाखुल्डीमा अगाडि नठोक्कियोस् भनेर नेपाल आउने बसलाई छुट्टै तवरले डिजाइन गरिएको छ । काठमाडौंमा गुडिरहेका बसहरुभन्दा फरक लाग्ने यी बसका पछाडिको भागलाई पनि खाल्डाखुल्डी युक्त सडकमा जान सकिने गरी बनाइएको थापाले बताए । सुन्दरले ल्याउने बस ४० सिट क्षमतासम्मका छन् । कम्पनीले फरक–फरक रुटमा चलाउन सकिने गरी ३ किसिमका बसहरु ल्याउने छ । यसमा १०.५ मिटर, ८.५ मिटर र ७.५ मिटरका बसहरु हुनेछन् । यी बसहरु काठमाडौंको चक्रपथसहितका शहरभित्रका प्रायः सबै रुटहरुमा चलाउन सकिने अध्यक्ष थापा बताउँछन् । कम्पनीले विद्युतीय बसलाई ४० मिनेटमा चार्ज गर्न सकिने बताएको छ । काठमाडौंमा लामो समय बस एकै स्थानमा ‘होल्ड’ गरेर चार्ज गर्न नसकिने अवस्था भएकाले कम्पनीले सुपर फास्ट चार्जिङ मेसिन पनि ल्याउन लागेको छ । हाल कम्पनीसँग २ घन्टामा फूल चार्ज गर्न सक्ने चार्जिङ मेसिन आइसकेको छ । ‘काठमाडौंमा चार्जिङ स्टेशनका लागि धेरै जग्गा उपलब्ध हुन सक्दैन, त्यसैले जतिसक्दो छिटो चार्ज हुने र एउटै मेसिनबाट फरक–फरक गाडीमा पनि चार्ज गर्न सकिने प्रविधि चिनियाँ कम्पनीले नेपालकै लागि विकास गर्दैछन्,’ उनले भने । कम्पनीले गत हप्ता नै आफ्नो चार्जिङ स्टेसनको उद्घाटन गरिसकेको छ । यो बसमा यात्र गर्नेले स्मार्ट यात्रा कार्डमार्फत भाडा तिर्न सक्नेछन् । मोबाइलबाट ‘क्युआर कोड’ स्क्यान गरेर पनि रकम भुक्तानी गर्न सकिनेछ । अहिले कम्पनीले यो प्रणालीको परीक्षण गरिरहेको छ । बसमा नै आधुनिक तवरको स्मार्ट पेमेन्ट सिस्टम जोडिएको छ । जसमा यात्रुले कार्ड राखेर आफ्नो तोकिएको भाडा भुक्तानी गर्न सक्नेछन् । बसको भित्री बनोट पनि मजबुत तवरको रहेको कम्पनीका अध्यक्ष थापा बताउँछन् । आधुनिक ‘सस्पेन्सन सिस्टम’ सहितको यो बसमा यात्रा गर्न आरामदायी पनि हुने उनको भनाइ छ । ( अनलाइन खबर )

IME Remittance