प्रगतिशील पत्रकार संघ, नेपालको राष्ट्रिय सम्मेलन हुने


काठमाडाैं, भदाै ८ गते । प्रगतिशील पत्रकार संघ नेपालकाे प्रथम सम्मेलन अर्काे साल जेठ महिनाभित्र हुने भएकाे छ । संघका अध्यक्ष नारायण शर्माकाे नामबाट पठाइएकाे विज्ञप्ति अनुसार यही भदाै महिना देखी चैत्र महिना सम्म देशव्यापी रूपमा संगठनात्मक अभियान सन्चालन गरिने छ । विज्ञप्तिकाे पूर्ण विवरण यस प्रकार छ ।

प्रेस विज्ञप्ति

“प्रगतिशील पत्रकार संघ, नेपालको प्रथम ऐतिहासिक राष्ट्रिय सम्मेलन आगामी २०७७ साल जेठभित्र सम्पन्न गर्ने निर्णय गरिएको छ । राष्ट्रिय सम्मेलनलाई लक्ष्यित गरी यही २०७६ भदौदेखि चैतसम्म देशव्यापी संगठनात्मक अभियान सञ्चालन गर्ने निर्णय गरिएको छ । जसअनुसार २०७६ असोज मसान्तभित्र सबै जिल्ला समितिहरुको बैठक बसाली आआफ्नो जिल्लाको अनुकूलतामा जिल्ला भेला र जिल्ला सम्मेलनको मिति तय गर्ने निर्णय गरिएको छ ।
त्यस्तै, २०७६ मंसिर महिनासम्ममा प्रगतिशील पत्रकार संघ नेपालका प्रदेशस्तरीय भेला/अन्तक्र्रिया गर्ने निर्णय गरिएको छ । जसअनुसार प्रदेश नं. १ मा असोज पहिलो सातामा, प्रदेश नं. ३ मा भदौको अन्तिम सातामा, प्रदेश ४ (गण्डकी) मा असोजको अन्तिम साता, प्रदेश नं. ५ मा मंसिरको पहिलो साता, कर्णाली प्रदेशमा मंसिरको दोस्रो साता र सुदूरपश्चिममा कार्तिकको अन्तिम सातामा प्रदेशस्तरीय भेला, अन्तक्र्रिया गर्ने निर्णय गरिएको छ । प्रदेशस्तरीय अन्तक्र्रियाका लागि ‘‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकार रक्षाको प्रश्न’’ विषय तय गरिएको छ ।
सरकारले ल्याएका प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरोधी विधेयकहरु तत्काल फिर्ता गरी सरोकारवाला पक्षहरुसङ्ग छलफल गरेर मात्र अगाडि बढाउन सरकारसङ्ग जोडदार माग गर्दछौ । साथै, नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा सञ्चालन गरेका आन्दोलनहरुलाई हाम्रो संगठनले विगतमा सक्रियतापूर्वक समर्थन गरेकोमा बैठकले अनुमोदन गर्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरोधी विधेयकहरु फिर्ता गराउनका लागि महासंघलाई अझै दवाव दिने निर्णय गरियो ।
मुलुकमा क्रियाशील अन्य सञ्चार संगठनहरुसँग विगतमा गरिएका गठबन्धन र सहकार्यलाई अनुमोदन गर्दै आगामी दिनमा पनि आवश्यकताअनुसार सहकार्य गर्ने निर्णय गरिएको छ ।
त्यस्तै, पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा न्यूज२४ को कार्यालयमै गएर कार्यक्रम प्रस्तोता रवि लामिछाने र पत्रकार युवराज कँडेललाई पक्राउ गर्ने प्रहरीको कार्यशैलीलाई विरोध गर्ने निर्णय गरियो । उक्त प्रकरणमा घटनाको निष्पक्ष र न्यायिक छानविन गरी सत्यतथ्य सार्वजनिक गर्न सम्बन्धित पक्षसँग आग्रह गर्दछौं । कुनै प्रकारको आग्रह/पूर्वाग्रह नराखी उक्त घटनाका दोषी नउम्किने र निर्दोष नफस्ने गरी अनुसन्धान अगाडि बढाउन सम्बन्धित निकायसँग जोडदार माग गर्दछौं ।
यसैगरी रुपन्देहीका पत्रकार डायलसन अधिकारीको सडक दुर्घटनामा परी असामयिक निधन भएकोमा शोक प्रस्ताव पारित गरियो । मृतक अधिकारीप्रति भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गर्दै शोकाकूल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछौ ।”

२०७६ भदौ ८
नारायण शर्मा 
(अध्यक्ष)

IME Remittance