सारङ्गी रेट्दै नयाँ पुस्ता

कुनै समय थियो, गन्धर्व समुदायका व्यक्तिहरु सारंगी लिएर घरघरै पुगेर गीतसंगीत सुनाउँथे । गीत र सांरगी नै उनीहरुको जिविकोपार्जनको मुख्य आधार मानिन्थ्यो ।

तर, अहिले न त उनीहरुसारंगी रेट्दै हिँड्छन् न त अहिलेको पुस्ता नै सारंगीबारे जानकारी राख्छ । गन्धर्व समुदायकै पछिल्लो पुस्ताले यो पेशा अंगाल्न नचाहँदा आफ्नो पुर्ख्यौली संस्कार लोप हुँदै गएको उनीहरु स्वयं स्वीकार्छन् ।

पोखराको बाटुलेचौरमा गन्धर्व समुदायको बाक्लो बसोबास छ । गन्धर्व समुदायबाटै सारंगी र मादललगायत वाद्यवादन हराउँदै गएपछि अहिले त्यहाँ पछिल्लो पुस्तालाई पुख्र्यौली संगीत सिकाउन पाठशाला नै खुलेको छ । यो पाठशाला २०६६ सालदेखि सञ्चालनमा छ ।

पाठशालामा ५/६ वर्षदेखि माथिका बालबालिकाले सारंगी रेट्न तथा मादल बजाउन सिकिरहेका छन् । बाटुलेचौरमै निशान्त गायक (१७) ले मादल बजाउन सिक्न थालेको ५ वर्षभन्दा बढी भइसकेको छ । सुरुमा मादलबाट वाद्यवादन सिक्न सुरु गरेका उनले अहिले सारंगी पनि राम्रै बजाउँछन् ।

विन्ध्यवासिनी स्कुलमा कक्षा १० मा पढिरहेका गायकको गायन क्षेत्र नै बढी रुचि छ । ‘सानैदेखि संगीतमै रुचि छ । हाम्रो संस्कृति नै यही हो भनेपछि त्यसलाई बचाउन पनि सिक्न जरुरी थानेको हुँ,’ उनी भन्छन्, ‘हामीलाई बाजेले नै सिकाउने भएकाले झनै सजिलो भएको छ ।’

गायकका बाजे अर्थात ‘यो दाजुको मिरमिरे आँखा.., फूल मायामा नभुल..’ लगायत गीतका सर्जक धनबहादुर गायक । गायककै सक्रियतामा पहिलो पटक बाटुलेचौरमा ‘झलकमान गन्धर्व सारंगी पाठशाला’ खुलेको थियो । धनबहादुर पछिलो पुस्ताले आफ्नो मौलिक संस्कृति बिर्सदैं गएकाले त्यसलाई निरन्तरता दिन पनि पाठशाला खोलेको सुनाउँछन् ।

‘गन्धर्व संस्कृति खाली गन्धर्वहरुको मात्रै संस्कृति होइन । यो त राष्ट्रकै संस्कृति हो,’ धनबहादुर भन्छन्, ‘राष्ट्रकै संस्कृति लोप हुँदै जानु राम्रो होइन । त्यसलाई संरक्षण गर्नुपर्छ भनेरै पाठशाला खोलेर सिकाइराखेको छु ।’ पाठशालामा उनका छोरा दीलिप गायकले पनि संगीत सिकाइरहेका छन् ।

९ वर्षीय युनिश गायक पनि ३ वर्षदेखि पाठशालामा संगीत सिकिरहेका छन् । सुरुमै सारंगी सिक्दा गाह्रो हुने भएकाले अहिले मादल बजाउनमात्रै सिकिरहेको उनी बताउँछन् । भन्छन्, ‘अहिले बाजेले मादल बजाउन सिकाइराख्नु भाछ । अलि अलि बजाउन जानिसकेको छु । अब सारंगी बजाउन पनि सिकाउने भन्नु भाछ ।’ अहिले त्यहाँ २५ जनाभन्दा बढी बालबालिकाले सारंगी, मादललगायत बाजागाजा बजाउन सिकिरहेका छन् ।

मझेरीपाटनका सरगम गायक (१५) को पनि गीतसंगीतमा लगाव छ । ‘मैले सारंगी, मादल, हार्मोनियम, गितार, ड्रमसेट सबै बजाउन आउँछ । पाठशालामा नजानेका कुरा आफैं पनि सिक्ने गरेको छु,’ उनी भन्छन्, ‘सारंगी हाम्रो संस्कृति हो भन्ने थाहा पाएपछि अझै सिकेर राम्रो गर्न मन छ ।’

पाठशाला पुग्दा कोही मादल बजाइरहेका भेटिन्छन् त कोही सारंगी रेटिरहेका । विभिन्न गीतका धुनमा उनीहरु लिप्त भेटिन्छन् । पाठशालामा नेपालीमात्रै होइन विदेशीलेसमेत सारंगी रेट्न सिक्न आउने गरेका छन् । ‘अहिलेसम्म ५/६ जना विदेशीले सारंगी सिकिसके । नेपालीभन्दा उनीहरु हाम्रा बाजाप्रति बढी आकर्षित हुन्छन्,’ धनबहादुरले अनुभव सुनाउँछन्, ‘पाठशालामा सारंगी सिक्न जापान, कोलम्बियालगायत देशका संगीतप्रेमी आउँछन् ।’

पाठशालामा गन्धर्वबाहेकका पनि संगीत सिकिरहेका छन् । धनहादुरले लोप हुँदै गए पनि गन्धर्व संस्कृतिप्रति अन्य जातजातिको पनि उत्तिकै आकर्षण रहेको बताउँछन् । भन्छन्, ‘पाठशालाबाट अहिलेसम्म २ सय जनाभन्दा बढीले वाद्यवादन तालिम लिइसके । त्यसमा गन्धर्वमात्रै होइन, अरु जातिको पनि उत्तिकै उपस्थिति छ ।’

चिप्लेढुंगामा खुलेको मेलोडी क्याफे एन्ड लाउन्ज बारले आइतबार आफ्नो ‘औपचारिक’ सुरुआत गर्दै पाठशालालाई सारंगी तथा मादल हस्तान्तरण गरेको छ । क्याफेले पाठशालाका अध्यक्ष धनबहादुर गायकलाई ८ वटा मादल र सारंगी हस्तान्तरण गरेको हो ।(अनलाइन खबरबाट )

IME Remittance