महानताभित्रको संघर्षको विभिषिका

This image has an empty alt attribute; its file name is at-rastrapati2-759x1024.jpg
-जीवन शर्मा

ज्वालामुखी विष्फोट हुनु पूर्व भूगर्भमा आग्नेय समुद्रको उद्विघ्न ज्वारभाटा उर्लेको हुन्छ । कुनै पनि व्यक्तित्वको महानताको गर्भभित्र पनि सङ्घर्षको त्यस्तै भीषण कथा गतिमान हुन्छ । समुद्रका लहर जस्तै उचालिँदै पछारिँदै अघि बढिरहेको हुन्छ, उच्च व्यक्तित्वको जीवनगाथा । वास्तविक अर्थका महान् व्यक्तिहरूका जीवनीले संसारलाई सही बाटाे देखाइदिएकाे हुन्छ र यथार्थ कुरा सिकाइदिएको हुन्छ । महान् बन्ने अभिलाषाले काल्पनिक योजनामा तरङ्गिएर हिँड्दैमा कुनै व्यक्ति महान् बन्ने हैैन । अरूलाई गालीगलौज गरेर होच्याउँदैमा आफ्नाे कद अग्लो बन्ने पनि हैन । के गर्दा महान् भइएला भनेर सोच्दासोच्दै र महान् व्यक्तिहरूका कथा पढेर आफुलाई जोख्दाजोख्दै उमेरको समयसीमा सकिएर जान्छ । महान् व्यक्तिहरू आफूलाई बिर्सेर यथार्थलाई सुन्दरतम बनाउने महावेदीमा होमिएका हुन्छन् ।
महानताले सच्चाइलाई अन्तर्यमा सजाएको हुन्छ । जहाँ अहङ्कार हुन्छ, व्यक्तिगत या पारिवारिक स्वार्थ हुन्छ, सत्ता या पदीय लोलुपता हुन्छ, त्यहाँ महानताको कुनै नामोनिशाना हुँदैन । कुनै चिज बाह्य आवरणमा भ्रमवश कतै त्यस्तो सुन्दर देखा परे पनि अन्ततः त्यो साफ हुन्छ र यथार्थ प्रकट भएर सबैका अगाडि देखा पर्दै जान्छ । लुकाएर अभ्यास गरिरहेको गलत संस्कार कतै न कतैबाट पर्दाफास हुन्छ । अरूलाई झुक्याएर मुर्ख बनाउन खोज्नेहरूको हालत अन्ततः चराहरूको सौन्दर्य प्रतियोगितामा नाच्दै गरेको कागको जस्तै हुन्छ । महानताभित्र झुटको खेति सप्लाएकाे हुँदैन । आफ्नो व्यक्तिगत मनोकाङ्क्षा, पदमा टाँसिइरहने लुब्ध मनोवृत्ति र जहानियाँ स्वार्थका लागि मरिहत्ते गर्ने प्रवृत्तिभित्र महानता हैन, क्षुद्रता सन्निहित हुन्छ । महानता त व्यक्तिगत स्वार्थभन्दा पर रहेर मानव समाजको सर्वोत्तम हितका निम्ति सङ्घर्षको प्रचण्ड अग्निकुण्डमा होमिँदा विकसित हुने चरित्र हो । त्यहाँ घमण्ड हुँदैन; पारिवारिक समृद्धिको आकाङ्क्षा हुँदैन; पद, पैसा र प्रतिष्ठाको लोभ हुँदैन र बेइमानी हुँदैन । निस्वार्थ चरित्रमा त केवल समस्त मानव समाजको सर्वोत्तम हितका निम्ति त्याग, समर्पण र बलिदानको भावना छचल्किइरहेको हुन्छ । महानताको एउटा पाटोमा राम्रो कामका निम्ति त्याग, तपस्या बलिदान आदि रहेको हुन्छ भने अर्को पाटोमा इमान र सच्चाइको पहाड उभिएको हुनछ । यस्तो चरित्र विकसित हुने सिलसिलामा अनगिन्ती सङ्घर्षका कथा स्वाभाविक रूपमा उब्जिँदै र विकसित हुँदै जान्छन् । यिनै कथा र जीवनीले भावी पुस्तालाई मानव समाजको सर्वोत्तम हितका निम्ति निस्वार्थ भएर जीवन समर्पित गर्न असीम उर्जा र प्रेरणा प्रदान गर्दछन । यस लेखमा भिन्न भिन्न दृष्टिकाेणका जगमा उभिएका केही महान् चरित्रका अन्तर्कथाका बारेमा छाेटाे चर्चा गर्न खोजिएको छ ।
हकिन्स
विश्वयुद्धको भयावह विभिषिकाबाट सारा मानव समाज तड्पिरहेका बेला उत्तरी बेलायतको अक्सफोर्ड भन्ने ठाउँमा ८ जनवरी १९४२ सालमा हकिन्सको जन्म भएको होे । ग्यालिलियोको मृत्यु भएको ठिक सय वर्षपछि हकिन्सको जन्म भएको थियो । बाबु र आमा दुवै शिक्षित र सम्पन्न भएकाले हकिन्सले पढाइको राम्रो अवसर पाए । उनका सुरुवाती दिनहरू निकै सहज र आनन्दमय थिए । स्कुले पढाइ सकेर उनी उच्च शिक्षाका लागि अक्सफोर्ड युनिभर्सिटीमा भर्ना भए । त्यहाँबाट भौतिकशास्त्रमा डिग्री पुरा गरेर उनले क्याम्ब्रिज विश्वविद्यालयमा एप्लाइड म्याथ र सैद्धान्तिक भौतिकशास्त्रमा स्नातकोत्तर गरे । उनको रिसर्चको शिर्षक थियो– ब्रह्माण्डको खोज गर ।
हकिन्सको वैज्ञानिक खोज औपचारिक तवरमा यहीँबाट सुरु भयो । मेधावी अनुसन्धानकर्ता, खगोलविद् र भौतिक शास्त्रका वैज्ञानिक हकिन्सलाई ब्ल्याक होलका अद्वितीय शोधकर्ताको रूपमा पनि संसारभरि सम्मानित गरिन्छ । पहिलो पुस्तक “समयको सङ्क्षिप्त इतिहास” प्रकाशित भएपछि उनको चर्चा विश्वभरि फैलिँदै गयो ।

This image has an empty alt attribute; its file name is image-1024x762.png
स्टेफन हकिन्स


यसपछिका उनका दिन अति कष्टकर हुँदै गए । उनको वैवाहिक जीवन पनि सन्तोषजनक देखिँदैन । पहिलो श्रीमतीले बुढेसकालमा आएर विवाह भएको २५ वर्षपछि सम्बन्धविच्छेद गरिन् । उपचार हुनै नसक्ने बिमारीका कारणले उनको शरीर क्षीणभन्दा क्षीण हुँदै गयो । स्वास्थ्य झन् झन् दिन–प्रतिदिन बिग्रँदै गयो । उनको जिउ न्युरोपेसीको समस्याले गाल्दै गयो । मोटर न्युरोन नामक रोगले उनको शारीरिक गतिविधि बन्द हुँदै गयो । जिउ पुरै हलनचल भएर मुढो जस्तो हुन थाल्यो । काम गर्न र लेखपढ गर्न निकै कठिन हुँदै गयो । बोलीचाली पनि बन्द हुँदै गयो । मनको कुरा कसरी व्यक्त गर्ने र सोचाइ र चिन्तनधाराबाट उठेका महइभ्वपूर्ण वैज्ञानिक विचार कसरी बाहिर ल्याउने ? ठुलो समस्या पैदा भयो । धेरै वर्ष बाँच्ने सम्भावना कम हुँदै गयो । डाक्टरहरूले अब तीन वर्षजति बचाउन सकिएला कि भनेर अनुमान लगाउन थाले । महारोगी जीवन साथमा लिएर उनी आफूभित्रको साहस र सङ्कल्प बटुलेर रोगव्याधीसँग जुधिरहे । यस्तो हालतमा पनि उनले आफ्नो खोज, अनुसन्धान र आविष्कारको सिलसिला जारी राखिरहे । आफ्नो सार्वजनिक सकृय जीवनमा पनि उनले कमी ल्याएनन् । यस अवधिमा उनले विश्व प्रशिद्ध पुस्तक “समयको सङ्क्षिप्त इतिहास” नामक खोज–अनुसन्धानमूलक कृति लेखेर संसारलाई चकित पारिदिए । ब्रह्माण्ड, कालो छिद्र र महाभण्डारको प्रकृतिको गहन अध्ययन गरेर उनले मानव समाजलाई ठुलो विरासत छोडेका छन् । यसले विश्व ब्रह्माण्ड र समग्र प्रकृतिको अध्ययन गर्न ठुलो ढोका उघारिदिएको छ । अन्ततः उनको मानसिक गतिविधि पनि बन्द भयो । यसरी संसार प्रसिद्ध भौतिकशास्त्री एवं महान् वैज्ञानिक स्टेफेन हकिन्सको ७६ वर्षको उमेरमा १४ मार्च २०१८ का दिन आफ्नै घरमा निधन भयो ।
वैज्ञानिक खोज र अनुसन्धानको महावेदीमा आफूलाई होमेर अद्वितीय वैज्ञानिकका रूपमा विकसित भएको व्यक्तित्व हो– हकिन्स । आजको विश्वको वैज्ञानिक धारा हकिन्सको जीवनगाथा र योगदानबाट कृतज्ञ र स्तब्ध छ । आफ्नो कर्मप्रति घनीभूत भएर जीवनका सबै सामथ्र्य प्रयोग गर्ने हो भने शारीरिक रूपमा कमजोर भए पनि एक जना मानिसले कतिसम्म उन्नति, प्रगति, अध्ययन, अनुसन्धान र समस्त मानव समाजको भलाइ गर्न सक्छ र त्यो कुन हदसम्म उचाइमा उठ्न सक्छ भन्ने कुराका ज्वलन्त उदाहरण हुन्, स्टेफन हकिन्स ।
टोल्सटोय
यस्तै सङ्घर्षमय जीवनबाट सौन्दर्य चेतनाको सर्वोच्चतामा उत्रेका शिखर व्यक्तित्व हुन्, लियो टोल्सटोय । रुसको मास्को शहरदेखि २०० किलोमिटर दक्षिणमा पर्ने यास्नाया पोल्याना भन्ने ठाउँमा १८२८ सेप्टेम्बर ९ तारिखमा लियो टोल्सटोयको जन्म भएको थियो । उनी उन्नाइसौँ शताब्दीका सबभन्दा सम्मानित लेखक हुन् । रुसको एउटा सम्पन्न परिवारमा टोल्सटोयको जन्म भएको थियो । उनी रुसी सेनामा भर्ती भएर क्रिमियाको लडाइँमा सामेल भएका थिए । तर छिट्टै उनले सेनाबाट राजीनामा दिएर लेखपढ र साहित्यको सिर्जनामा आफूलाई समर्पित गरे । उनको जीवन सङ्घर्षको कथा अति नै भयानक छ । उनी दुई वर्षको हुँदा उनकी आमाको मृत्यु भयो । फेरि नौ वर्षको उमेरमा बाबु पनि बिते । उनी आफन्तको घरमा हुकर्,े बढे र पढे । सामाजिक, आर्थिक र पारिवारिक प्रतिकूलताका बाबजुद उनले कठिन अध्ययन गरे । १९४४ मा कजान विश्वविद्यालयमा भर्ना भएर उनले पूर्वीय भाषा र कानुन विषयको अध्ययन गर्न थाले । तर युनिभर्सिटीका प्रोफेसरहरूले उनलाई पढ्न नसक्ने लद्दु भनेर हतोत्साही बनाएपछि पढाइलाई बिचैमा छाडेर घर फर्के । यसपछि उनी साहित्यको साधना र तपस्यामा होमिए ।

लियाे टाेल्सटाेय

संसारमा विरलै टोल्सटोय जस्ता जुझारु व्यक्ति भेटिन्छन् । महान् बन्छु भनेर मात्र कोही व्यक्तिले त्यत्तिकै उचाइ प्राप्त गर्न सक्दैन । निस्र्वाथ भावले मानव समाज, जीवन जगत र समाजको सेवाको निम्ति जसले जति योगदान दिन सक्छ, त्यसले नै उसको उचाइको मापन गर्छ । लियो टोल्सटोय उन्नाइसौँ शताब्दीका सबैभन्दा धेरै सम्मानित र जनप्रिय लेखक हुन् । “युद्ध र शान्ति” नामक पुस्तक उनको सर्वाधिक चर्चित उपन्यास हो । यो १८६९ मा प्रकाशित भएको थियो । उनको यो महान् कृतिका लागि विश्वप्रशिद्ध नोबल पुरस्कार प्रदान गरिएको थियो । टोल्सटोयको जीवन र सङ्घर्षको कथा मानव समाजका लागि ठुलो प्रेरणाको श्रोत बनेको छ ।
सेक्सपियर
सङ्घर्षका अर्का अनुपम उदाहरण हुन्,सेक्सपियर । सेक्सपियरको जन्म २३ अप्रिल १५६४ मा भएको थियो । उनका बाबु जोहन सेक्सपियर र आमा मेरी अर्डेन हुन् । लन्डनको उत्तर–पश्चिममा रहेको स्ट्राटफोर्ड भन्ने ठाउँमा उनको जन्म भएको थियो । सुरुमा उनको पढाइ स्थानीय स्कुलमा केही वर्ष चल्यो । तर परिवारको कठिन आर्थिक अवस्थाका कारण बिचैमा उनले पढाइ स्थगित गरेर सानोतिनो जीविकाको काम गर्न थाले । उनलाई स्थानीय जमिनदारको बगैँचाको हरिण चोरेको आरोप पनि लाग्यो । त्यही आरोपमा प्रहरीका फन्दामा परिन्छ कि भन्ने सन्त्रासले उनले गाउँ छाडेर जाने विचार गरे । हरेक परिस्थितिले गाउँमा बस्न नसक्ने भएपछि कामको खोजीमा उनी लन्डन पुगे । त्यहाँ उनले एउटा नाटकघरमा कामदार र सहयोगीका रूपमा सानोतिनो काम पाए । यो सानो काम नै उनको जिन्दगीको ठुलो कोशेढुङ्गा बन्न गयो । उनले त्यस नाटकघरमा व्यस्त भएर काम गर्न थाले । बाँकी समयमा पढ्न, लेख्न र नाटकका विषयमा अध्ययन गर्दै गए । पछि उनले त्यही थिएटरमा कलाकारको भूमिकामा पनि काम गर्न थाले । यसबाट उनमा नाटक सम्बन्धी प्रत्यक्ष ज्ञान र अवधारणा विकसित हुँदै गयो । विस्तारै उनले नाटक लेख्ने प्रयास अघि बढाए । विचार, भाव र अभिव्यक्तिको हिसाबले उनका नाटक क्रमशः उच्चाइमा उठ्दैजान थाले ।

शेक्सपीयर

सुरुमा उनले मञ्चन गर्ने अभिप्रायले मात्र नाटक लेख्ने गर्थे । पछि उनका नाटकहरू विश्व समुदायका लागि उत्कृष्ट पाठ्य सामग्री बन्दै गए । अहिले विश्वका सबै विश्वविद्यालयमा उनका कृतिहरू पाठ्य सामग्रीको रूपमा प्रतिष्ठित छन । उनको साहित्यिक प्रतिभाबारे कार्ल माक्र्स, लेनिन आदि महान् दार्शनिकहरूले ठाउँठाउँमा मुक्तकण्ठले प्रशंसा गरेका छन् । सेक्सपियर अङ्ग्रेजी साहित्यका महान् नाटककार, कवि र कलाकार थिए । उनी विचारक र उपदेशक पनि मानिन्छन् । उनमा अति उच्चकोटीको प्रतिभा र सृजनात्मक क्षमता थियो । योे क्षमता विकसित हुनुका पृष्ठभूमिमा उनको भीषण जीवन सङ्घर्ष र कठिनतम यात्राको विभिषिका देख्न सकिन्छ ।

पारिजात
वि.सं. १९९४ मा दार्जिलिङको चिया बगानमा पारिजातको जन्म भएको थियो । जवानीमै उनलाई बाथको रोगले ग्रस्त पा¥यो । यसले उनको औपचारिक शिक्षामा पनि नकारात्मक असर पा¥यो । अङ्ग्रेजी साहित्यमा एम.ए. भर्ना भएता पनि शारीरिक अशक्तताका कारण उनी नियमित रूपमा विश्वविद्यालय जान पाइनन् । उनी अति नै सङ्घर्षशील र अध्ययनशील नारी भएकाले घरमै दर्शनशास्त्र र साहित्यको गहन अध्ययन गरिन् । सानै उमेरमा आमाको काख छुट्यो । दाजु पनि सानै उमेरमा बिते । बाबुको आर्थिक अवस्था साह«ै कमजोर थियो । त्यसैले उनको बालजीवन अभावैअभावमा बित्यो । बाबुको मृत्युपछि उनलाई झन् समस्या र अभावले तड्पाइरह्यो ।
यस्तो प्रतिकूल अवस्थामा पनि उनले साहित्यिक यात्रा निरन्तर अगाडि बढाइरहिन् । २०१३ सालदेखि नै उनले आफ्ना कृति प्रकाशित गर्न सुरु गरेकी थिइन् । समय बित्दै जाँदा उनको स्वास्थ्य झन् झन् बिग्रँदै गयो । हाडजोर्नीको रोग, क्षयरोग, अल्सर, दम आदि रोगले उनलाई एकैचोटी हमला गरे । तैपनि साहसका साथ उनले नेपालको जनवादी सांस्कृतिक आन्दोलनको नेतृत्व गरिरहिन् ।
कडा शारीरिक र सामाजिक सङ्घर्षका बीचबाट उनले नेपाली समाज र विश्व समुदायलाई दर्जनौँ साहित्यिक कृति दिएकी छिन् । उनको “शिरिसको फूल” नामक उपन्यास संसार प्रसिद्ध छ । यो अङ्ग्रेजी भाषामा अनुवाद भएर विश्वका ठुला ठुला युनिभर्सिटीहरूमा पाठ्यपुस्तकका रूपमा अध्ययन गराइन्छ । यस बाहेक “अनिँदो पहाडसँगै”, “तोरीबारी, बाटा र सपना”, “साल्गीको बलात्कृत आँशु”, “उसले रोजेको बाटो”, “पर्खालभित्र पर्खालबाहिर” जस्ता अनेकौँ कृतिहरू लेखेर उनले नेपाली साहित्यलाई समृद्ध पारेकी छिन् । उनीप्रति नेपाली समाज र विश्व समुदाय समेत सदा कृतज्ञ छ ।

पारिजात


माथि उल्लेख गरिएका महानताका केही उदाहरणहरू मात्र हुन् । यी बाहेक नेपाल या अन्य देशका कैयौँ महान् व्यक्तिहरूको जीवन कहानी अध्ययन गर्दा प्रायः भीषण सङ्घर्षको बीचबाट उनीहरूको जीवनदशा गुज्रेको पाइन्छ । त्याग तपस्या, सङ्घर्ष, अभाव, रोगव्याधी जेलनेल आदि अनेकौँ कष्टसाध्य जीवनको बीचबाट महानताको जन्म भएको हुन्छ । महानताको गर्भभित्र सच्चाइ, त्याग, समर्पण, इमान, निस्वार्थ र सङ्घर्षका पानैपानाको चाङ भेटाउन सकिन्छ । ००

IME Remittance