राताे लालटिन बर्ष २०, अंक १

सम्पादकीय

आस्था र विचारमाथि हमला

आस्था र विचारका आधारमा सजाय भोग्नु परेका अनगिन्ती कहानी इतिहासमा भेटिन्छन । यथास्थितिवादी अधिरचनाका विरुद्ध नयाँ विचार ल्याउनेले कठिनतम सङ्घर्षको बाटोबाट गुज्रनै परेको हुन्छ । सुकरात, यसस क्राइस्ट, गौतम बुद्ध, स्पार्टाकस आदि यसका ज्वलन्त ऐतिहासिक उदाहरण हुन् । नेपालमा राणाहरूको शासन कालमा गङ्गालालहरू झुण्डाइए । पञ्चायती शासन व्यवस्थामा कैयौँ अभियन्ताहरू चरम यातनाका शिकार भए । कैयौँ सहिद भए । आफ्नो संविधान र कानुनप्रति सशक्त विरोध प्रकट गर्ने शक्तिका विरुद्ध सजायका लट्ठी उठाउनु राज्यको स्वाभाविक कर्म हो । त्यो राज्य जनताका पक्षमा छ भने जनविरोधी शक्तिहरू त्यसका विरुद्ध उठ्ने र्गदछन र तिनीहरूमाथि दमन गरिन्छ ।
तर जनविरोधी शासन व्यवस्था चलिरहेको अवस्थामा प्रगतिशील शक्तिहरू त्यसका विरुद्ध धावा बोल्ने गर्दछन र राज्यले उनीहरूमाथि हमला गर्छ । दलगत संरचनाभित्र पनि यस्तै नियमहरूले काम गरिरहेका छन । सामूहिक प्रयत्नमा निर्मित विचार, नीति र नियमका आधारमा सङ्गठन सञ्चालन हुनु उत्तम तरिका हो । त्यसका विपीरत सर्वोच्च नेतृत्वको व्यक्तिगत इच्छाका आधारमा पार्टी या सङ्घसंस्था सञ्चालन गर्ने प्रवृत्ति सामन्ती अधिनायकवादी प्रवृत्ति हो । प्रजातान्त्रिक खेमा होस् या वामपन्थी वृत्त, नेपालका प्रायः सबै पार्टीभित्र धेरथोर यही प्रवृत्ति हावी भएको देखिन्छ । ठुला पार्टीहरूमा याे समस्या झन विकराल छ । ती पार्टीभित्र नेतृत्वले जे गरे पनि अन्धसमर्थन गर्ने केही कार्यकर्ता तयार परिन्छ । उनीहरू जतिसुकै अयोग्य या निकृष्ट भए पनि पार्टीभित्र प्रोत्साहित र पदोन्नत गरिन्छ । तर सङ्गठनको हितका निम्ति निस्वार्थ भएर समर्पित हुने, त्यहाँ मौलाएका विकृतिका विरुद्ध लडेर सङ्गठनलाई चुस्त बनाउन चाहने, नेतृत्वका खराबीलाई समेत औल्याइदिने र सच्चाइको पक्षमा उभिने कार्यकर्तालाई तिरष्कृत गर्दै किनारा लगाइन्छ । यो प्रकृया सर्वत्र तीव्र रूपमा विकसित भएको पाइन्छ । यसरी ठुला दल हुन् या साना, प्रायः सबै दलभित्र यही सामन्ती संस्कारको अभ्यास चलिरहेको छ ।
नयाँ या फरक विचारमाथि हमला गरेर आफ्नो सत्ता या पद टिकाइराख्न सकिन्छ भन्ने दृष्टिकोण गलत हो । नयाँ नयाँ प्रविधिको विकास र वैज्ञानिक आविष्कार भइरहेको वर्तमान युगमा राजनीतिक दल या सामाजिक सांकृतिक संस्थाहरूमा तदनुकूलको नीति, नियम र विचारको विकास हुन सकेन भने
त्यसले समाज र राष्ट्रलाई अघि बढाउन र नेतृत्व दिन सक्दैन । पुराना शक्तिले नयाँ प्रगतिशील विचारलाई दमन गरेर या दण्डित गरेर कुनै पनि हालतमा आफ्नो अस्तित्व सधैँभरि टिकाइराख्न सक्दैनन । बरू ती अाँफै इतिहासको पानामा सीमित हुन पुग्दछन् । तसर्थ नेपालका प्रगतिशील शक्तिहरूले समयमै आफूलाई वैज्ञानिक दृष्टिकोणका आधारमा समयानुकूल परिमार्जन र परिष्कृत गर्दै लैजानु अनिवार्य छ । अन्यथा देश, काल र परिस्थिति सापेक्ष वैज्ञानिक विचारधारा, विधान र नियम
बोकेका प्रगतिशील शक्तिको प्रादुर्भाव हुनेछ । त्यसले नयाँ पुस्तालाई नेतृत्व गर्दै राष्ट्र र समाजलाई प्रगतिको दिशामा अघि बढाउँदै जानेछ ।
अरूको आस्था र विचारमाथि हमला गरेर हैन, आफैभित्रको विचार, दृष्टिकोण र चिन्तनमा सौन्दर्य भरेर मात्र कुनै पनि व्यक्ति या संस्था सही दिशामा
गतिमान हुन सम्भव हुन्छ ।

IME Remittance