नेपाली भुउपग्रहले पृथ्वीकाे परिक्रमा सुरु गरेको छ । सोमबार अपरान्ह ४ बजेर १९ मिनेटबाट सो उपग्रह अन्तरिक्षमा रिलिज हुँदै पृथ्वीलाइ घुम्न थालेकाे हो ।जापानमा संयुक्त राष्ट्रसंघको फेलोसिपमा क्युशु इन्स्टीच्युट अफ टेक्नोलोजी (क्युटेक) मा भूउपग्रह प्रविधिमा पढ्दै गरेका नेपाली विद्यार्थीले तयार गरेको यो स्याटेलाइट अाकारमा सानाे भएपनि अहिलेसम्म कुनै उपग्रह नभएकाे अवस्थामा नेपालकाे लागि गाैरवकाे विषय मानिएकाे ।
अमेरिकाको भर्जिनियामा अवस्थित वल्लोप्स द्वीपस्थित प्रक्षेपण केन्द्रबाट नेपालको स्याटेलाइट प्रक्षेपण भएको थियो ।स्पेश इन्जिनियरिङको पीएचडीका विद्यार्थी आभाष मास्के र स्नातकोत्तर तहका विद्यार्थी हरिराम श्रेष्ठले तयार गरेको याे उपग्रह अन्तरिक्षमा पठाइएको हो ।यो स्याटेलाइट १० सेन्टिमिटर लम्बाई, चौडाई र उचाई भएको छ । स्याटेलाइटमा नेपालको झण्डा छ भने नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको लोगोसहित विद्यार्थीहरुको नाम पनि छ ।
यो एक किलो तीन सय ग्राम तौलको छ । यसमा सरकारले एक करोड ८२ लाख रुपैयाँ खर्चेको छ ।अन्तरिक्षमा रिलिज भएपछि यसले अन्तरिक्षबाट तस्वीरसहितका डाटाहरु पठाउन थाल्नेछ । यसले मौसमी सूचनाहरु पनि दिन सक्छ ।स्याटेलाइट अन्तरिक्षमा पुगेपछि नेपालले पनि अध्ययन अनुसन्धान थाल्न सक्ने दावी सरकारी अधिकारीहरुको छ । स्पेश इन्जिनियरिङको अध्ययन गर्ने विद्यार्थीलाई पनि यसले निकै सहयोग पुग्नेछ । उनीहरूलाई नेपालमै बसेर स्पेशबारे जानकारी लिने अवसर मिल्नेछ ।नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान को भनाइ अनुसार यो स्याटेलाइटबाट नेपालले भविष्यमा पठाउने ठूलो स्याटेलाइटको सञ्चालन कसरी गर्न सकिन्छ भनेर अनुभव पनि प्रदान गर्ने छ ।
नेपाली स्याटेलाइट-वानले प्रत्येक ९० मिनेटमा पृथ्वीको एक चक्कर लगाउनेछ । हरेक दिन यो चारपटक नेपालको आकाशमा आउनेछ ।भविष्यमा नेपालले ठूला क्षमताका आफ्नै भूउपग्रह पठाउने गरी बनाएका योजनामा पनि यसले सहयोग पुग्ने दावी गरिएको छ । यो भूउपग्रको प्रक्षेपणपछि नेपाली इन्जिनियरहरुको क्षमता पनि विकास हुने र त्यसले राष्ट्रलाई नै लाभ दिने नाष्टको भनाइ छ ।