सल्काए जीवन शर्माले चेतनाको दियो : कालो धन थुपारेर ढल्की हिँड्नु भन्दा, हलो जोत्नु, गिट्टी कुट्नु होला राम्रो धन्दा
चाहिँदैन मलाई शिशाको महल
चाहिँदैन मलाई चमेलीको बास
चाहिँदैन मलाई सम्पत्तिको राश… ।
यो जनगायक जीवन शर्माले गाएको पछिल्लो गीत हो । यस गीतमा जीवन शर्माले नेपाली समाजमा भएको बिकृतिबारे असहमति जनाउँदै बिरोध गरेका छन् । मानिसहरु शिशाका महलमा बसेको, चमेलीको बस्नादार तेल घसेर व्यक्तिगत सम्पत्तिको लागि मरिहत्ते गरेको बर्णन गर्दैै त्यसको बिरोध गरेका छन् ।
हो, नेपाली समाजमा क्रियाशील सबैजसो क्षेत्र पहिलाको तुलनामा थप भ्रष्ट बन्दै गएको छ । यहाँ अmझै विभेद छ । कलो धन थुपार्नेहरु र राष्ट्रको ढुकुटीबाट लुट्नेहरु ठूला ठूला राष्ट्रवादी भाषण गर्दै हिँडिरकेका छन् । उनीहरु आफैं भ्रष्टाचार उन्मुलन गर्ने भनी खोक्रा आश्वासन बाँड्दै हिँड्ने गरेको हामी सबैले देख्दै र सुन्दै आएका छौं ।
जीवन शर्माले समाजमा जकडिएर बसेको यो व्यथा, मर्म र समस्यालाई कति मिठो शैलीमा गीतमार्फत चेतना छरेका छन् । उनले गएका गीतमा न त कसैले बिरोध गरेको छ न उनी गीतकै कारण विवादमा आएका छन् । उनका गीतले भन्छन् ः
कालो धन थुपारेर ढल्की हिँड्नु भन्दा
हलो जोत्नु, गिट्टी कुट्नु होला राम्रो धन्दा
होला बरु झुपडीमा भोकै सुत्नु राम्रो… ।
समाजमा अझै कहीँ न कहीँ समस्या छ । राज्य सञ्चालकहरुसँग कही न कहीँ व्यक्तिगत स्वार्थ लुकेको छ । कालो धन थुपार्ने होडबाजीले गर्दा गरिव दिनदिनै गरिवीको चपेटामा चेपिदै गएको छ र धनी दिनदिनै धनको राशमा रजाईँ गर्दै छ । यही कुरा, यही विषयबस्तुलाई जीवनले कति जीवन्त पाराले स्वर र शव्दमा उनेर चेतनाको दियो बाल्दैछन् ।
यता लोक गायक पुशपति शर्माको लुट्न सके लुट कान्छा… गीत जति चर्चामा छ, त्यो गीत आफैमा दिनानुदिन विवादित पनि भएको छ । गायक आफैले युट्युवबाट हटाएको यो गीत आलोचकहरुका लागि त झन चासोको विषय बन्दै गएको छ । युट्युवबाट हटाइए पनि यो गीतको चर्चा चलिरहेको छ । आखिर किन त ? किनकि यो गितमा कम्युनिष्ट पार्टीको झण्डालाई दुरुपयोग गरिएको छ, अहिलेको शासनलाई यमराजको शासन र कार्यकर्ताहरुलाई कुकुरको संज्ञा दिइएको छ ।
हुन त उनले पनि समाजकै समस्या गीतमा दर्शाउन खोजेका होलान् । तर उनले किन ताली भन्दा पनि बढी गाली पाइरहेका छन् ? तिनै गायक पुशपति होइनन् ? जसले मलाई मलेशिया यहीँ, अमेरिका यहीँ, अष्ट्रेलिया यहीँ भनेर गीत गाउँदै स्वदेशैमै केही उद्यम गरेर बसौँ भन्दै नेपालीहरुलाई आग्रह गरे ।
गीत संगीत भनेको समाजमा भएका बिकृति विसंगतिको चर्चा गर्ने र त्यसको समाधान गर्न सम्बन्धित निकायलाई झकझक्याउने माध्यम पनि हो । तर गीतले कुनै व्यक्ति, समुदाय विशेषलाई तोकेर गाली गर्ने, कुनै एक राजनीतिक दलको झण्डालाई दुरुपयोग गर्ने र ठाडो शव्दमा कसैलाई गाली गलौज गर्ने दुस्प्रयास ग¥यो भने के हुन्छ ? सायद पशुपतिले यसको जवाफ उनका दर्शकबाट पाइसकेका छन् ।
त्यसैले गीत संगीत तथा साहित्यले समाजमा भएका बिसङ्गतिलाई दर्शाउनका लागि ठाडो भाषा नभई घुमाउरो, प्रतिकात्मक, साङ्केतिक, र आफूलाई उक्त विषयको पात्रका रुपमा प्रयोग गरेर अभिव्यक्त गर्न सकेको खण्डमा कुनै पनि गीत संगीत तथा साहित्यले सही मार्गदिशा प्रदान गर्छ ।
कुनै पनि कृति सिर्जना गरिसकेपछि त्यसले समाज सुधारका लागि केही न केही योगदान गर्न सक्नु पर्छ । खालि सस्तो लोकप्रियताका लागि सिर्जना गरिएका गीत संगीत कालजयी हुन सक्दैनन् । जात÷जाति, समुदायबीच भड्काउ सिर्जना गर्ने, हुलदंगा हुन प्रेरित गर्ने, राष्ट्र र राष्ट्रियतामा अहित हुने कार्यमा कुनै पनि कलाकार र उसको कलाकारिता कदापी दुरुपयोग हुनु हुँदैन ।