मनाइयो आदिकविको जन्मजयन्ती

गण्डकी, ३० असार । शुक्रबार २१०औँ भानु जयन्ती । नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यलाई यहाँका वाङ्मयप्रेमीले पनि सम्झिए । कसैले भानुभक्तको चित्र कोरे । कसैले कविता सुनाए । कसैले उनको योगदानबारे चर्चा गरे ।

‘न बिर्से पुराना अदा टाँसिएछ
कथा लेख्छु घाँसी कुँवा नासिएछ
बुझायौँ सबैमा उतारेर भाषा
सुनायौँ खुसी भई कथा रामगाथा …..’

विद्यामन्दिर पुस्तकालय र धौलागिरि साहित्य प्रतिष्ठान बागलुङद्वारा संयुक्तरुपमा आयोजित भानु जयन्ती समारोहमा सर्जक रामचन्द्र शर्माले सुनाउनुभएको कवितांश हो यो । आदिकविको सम्झनामा उनी अगाडि थप्नुभयो –

‘चरा मिर्मिरेमा गरी चिर्रचिर्र
मीठो गीतको बोल गाए विचित्र
छ रिस्ती बगेको सफा स्वस्थ ठाउँ
रहेको छ हाँसी उहीँ रम्घा गाउँ….’

सर्जकले राष्ट्रिय विभूतिसमेत रहेका भानुभक्तको प्रशंसामा गहकिला शब्द खर्चिए । घाँस बेचेर कुवा खन्ने घाँसीबाट भानुभक्त प्रेरित भएको प्रसङ्गलाई सर्जक विष्णुनाथ गौतमले कवितामार्फत सुनाए –

‘केही धन बचाएर कुवा खनाउँछु
यात्रा गर्ने बटुवालाई पानी पिलाउँछु
यस्तै कुरा भानुज्यूले घाँसीसँग गर्दा
मनभित्रै बत्ती बल्यो, खुल्यो ज्ञानको पर्दा ….’

भानुभक्तप्रतिको सद्धाभावले ओतप्रोत कवितामा सर्जक कोपिला कँडेल यसरी अभिव्यक्त हुनुभयो –

‘भानु तिम्रो कर्मपथमा पाइला त्यतै बढाउँछु
आज तिम्रो जन्मदिनमा श्रद्धासुमन चढाउँछु….’

समारोहमा सर्जक शर्मा, गौतम, कँडेल, गोविन्द सुवेदी, पुष्पिका सुवेदीलगायतले कविता पाठ गरेका थिए । सर्जक धनराज सापकोटा ‘जिज्ञासू’ले भानुभक्तकृत रामायण वाचन गरेर सुनाउनुभएको थियो । कलाकार टेकबहादुर क्षेत्री ‘सङ्गम’ले रामायणकालीन कथा÷प्रसङ्गबारे चर्चा गरेका थिए । उनले भानुभक्तीय रामायणका श्लोक कण्ठस्थ सुनाए ।

धौलागिरि बहुमुखी क्याम्पसका उपप्राध्यापक हरिप्रसाद पाण्डेयले भानुभक्त प्राथमिक कालको पहिलो महाकाव्यकारसमेत भएको बताए । भानुभक्तको व्यक्तित्व र योगदानमाथि प्रकाश पार्दै उनले भानुभक्तले नेपालको सांस्कृतिक र भाषिक एकता गरेको बताए ।

“नेपाल मात्र होइन भारतलगायत देशमा रहेका नेपालीभाषीले पनि उत्तिकै सम्मानसहित भानु जयन्ती मनाउँछन्, नेपाली भाषा र संस्कृतिलाई जोड्ने काम भानुभक्तले गरे”, उनले भने, “भानुभक्तले नेपालीमा भावानुवाद गरेको ब्यासको अध्यात्म रामायणलगायतका कृतिमा समाज सुधारको दर्शन छ । ”

भानुभक्तका कतिपय रचनामा तत्कालीन समाजका विकृति र विसङ्गतिमाथि व्यङ्ग गरिएको उपप्राध्यापक पाण्डेयले उल्लेख गरे । भानुभक्तका हरेक कृतिको एतिहासिक मूल्यका आधारमा विवेचना गर्नुपर्ने उनको भनाइ थियो ।

साहित्यकार प्रेम छोटाले नेपाली साहित्यको विशिष्ट प्रतिभाका रुपमा भानुभक्तलाई चित्रित गरे । उनले भानुभक्तका रचनामा जीवन दर्शन, समयको मूल्यबोध, सामाजिक जागरण र बेथितिविरुद्धको आवाज मुखरित भएको बताए ।

भानुभक्तका साहित्यिक कृतिलाई प्रकाशमा ल्याउने र आदिकविको पगरी दिने काम युवाकवि मोतीराम भट्टले गरेको साहित्यकार छोटाले उल्लेख गरे । साहित्यप्रेमी विश्वनाथ रेग्मीले भानुभक्तले बागलुङको मूल्पानीमा आई पण्डित बद्रीनाथ पन्तसँग गुरुकुल विद्या आर्जन गरेको प्रमाण भेटिएको जिकिर गरे ।

पुस्तकालयका कार्यवाहक प्रमुख संरक्षक लालचन्द्र राजभण्डारीले भानुभक्तको साहित्यिक देनबाट नयाँ पुस्ताले शिक्षा लिनुपर्ने धारणा राख्नुभयो । उनले पछिल्लो समय रामायणलगायत पौराणिक ग्रन्थको अध्ययन संस्कृति हराउँदै गएको बताए ।

जयन्तीका अवसरमा काव्य गोष्ठी, भानुभक्तको योगदानबारे विमर्श र भानु चित्र लेखनको आयोजना गरिएको पुस्तकालयका उपाध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए ।

उनका अनुसार भानु चित्र लेखनमा १३ जना कलाकारले सहभागिता जनाएकामा प्रार्थना वंझा उत्कृष्ट घोषित भई पुरस्कृत भएका थिए । पुस्तकालय र प्रतिष्ठानले दशकौँअघिदेखि भानु जयन्तीलाई विशेषरुपमा मनाउँदै आएको छन् । पुस्तकालयले भानुभक्तसहित, महाकवि लक्ष्मीप्रसाद देवकोटा, यगकवि सिद्धिचरण श्रेष्ठलगायत साहित्यकारको जन्मजयन्ती मनाउँदै आएको छ ।

विसं १८७१ असार २९ मा तनहुँको चुँदी रम्घामा जन्मनुभएका भानुभक्तले व्यासको अध्यात्म रामायणलाई नेपाली भाषामा भावानुवाद गरेका थिए । नेपालसहित दार्जिलिङ, सिक्किम, बर्मालगायत नेपालीभाषीको बसोबास रहेको ठाउँमा श्रद्धापूर्वक भानुभक्तको सम्झना गरिन्छ । नेपालमा भाषिक एकताको श्रेय उनलाई नै दिने गरिन्छ ।

भानुभक्तका ‘बधुशिक्षा’, ‘प्रश्नोत्तर’, ‘भक्तमाला’लगायत रचना प्रसिद्ध छन् । घाँसीबाट प्रेरणा पाएर भानुभक्तले लेखेको ‘घाँसी’ कविताको अशं यस्तो छ –

‘भर्जन्म घाँसतिर मन् दिई धन् कमायो
नाम् क्यै रहोस् पछि भनेर कुवा खनायो
घाँसी दरिद्र घरको तर बुद्धि कस्तो
म भानुभक्त धनी भैकन आज यस्तो …..’ – रामबहादुर थापा

IME Remittance