अवकाशपछि कालिजपालन

तुलसीपुर उपमहानगरपालिका–६ का विष्णुमणि आचार्यले व्यवसायिक रूपमा कालिजपालन गर्दै आएका छन्। उपमहानगरको १० नम्बर वडास्थित नयाँ गाउँमा उनले कालिज फार्म सञ्चालन गरेका छन्।

आचार्य अवकाशप्राप्त राष्ट्रसेवक हुन्। आजकाल कालिजलाई दानापानी खुवाउने र रेखदेख गर्ने उनको दैनिकी बनेको छ। ‘अवकाश भएपछि चार महिनासम्म घरमै बसें । दिनभर घरपरिवार, साथीभाईसँग घुमफिर र आफन्तसँग भेटघाट गरेर समय बिताउँथे,’ अर्यालले भने।

तीस वर्षसम्म जागिरमा व्यस्त रहेका आचार्यलाई अवकाशपछि केही नगरी बस्ने मन नै भएन। त्यसपछि कालिजपालनबारे बुझ्न थाले।  कालिजपालनबारे सुरूमा उनले युट्युबलगायतका सामाजिक सञ्जालबाट जानकारी लिएका थिए। ‘युट्युबमा कालिजपालनको भिडियो हेरेँ। त्यसपछि कालिजपालन गरिएका दुई जिल्ला पुगेँ। घर फर्केपछि उत्साहित भएर यो व्यवसाय सुरू गरेँ,’ उनले भने।

उनले चाणक्य मल्टी प्रपोज एग्रो फार्म एन्ड रिसर्च सेन्टर प्रालि खोले। र, २५ लाख लगानीमा कालिजपालन सुरू गरे। ह्याचिङ गरी उत्पादन गरिएको एक दिन उमेर पुगेका १८१ बचेरा ५५० रूपैयाँका दरले किनेर फार्ममा हालेका थिए।

आचार्यले अहिलेसम्म तीनसय भन्दा बढी कालिज बिक्री गरिसकेँ। ‘अझै पाँच सयवटा बिक्रीका लागि तयारी अवस्थामा छन्,’ उनले भने। आचार्यले आफ्नो फार्ममा एक जनालाई रोजगारी समेत दिएका छन्।

आचार्यले सुरूसुरूमा एउटा कालिजलाई २५ सय रूपैयाँसम्म बिक्री गरे। अहिले दुई हजारसम्ममा दिने गरेका छन्। कालिजमात्रै होइन अहिले अन्डा पनि बिक्री हुन्छ, त्यसैले धेरै नाफाको अपेक्षा गर्दिनँ,’ उनले भने। कालिजको एउटा अन्डा सय रुपैयाँमा बिक्री गर्दै आएको उनले बताए।

६ महिना पुगेपछि कालिज वयस्क हुने र मासुका लागि उपयुक्त हुने आचार्य बताउँछन्। त्यस अवधिसम्म भाले कालिज एकदेखि डेढ किलो र पोथी कालिज ८ सय ग्रामसम्म हुने उनी सुनाउँछन्।

कालिजलाई सामान्यतया घाँस, मकै खुवाउने गरेको उनले बताए। अन्डा दिने भएकाले पोथी कालिजलाई भने दाना पनि दिनुपर्ने उनको भनाइ छ। फार्म सञ्चालन गरेदेखि अहिलेसम्म कालिजलाई कुनैपनि रोग लागेको छैन। आचार्यले फार्म अवलोकन र खरिदका लागि आउनेहरूलाई जुत्ताचप्पल खोलेर खुट्टामा औषधि छर्केपछि मात्रै फार्मभित्र जान दिने गरेका छन्।

फार्ममा उनले भाले र पोथी कालिजलाई छुट्टाछुट्टै राखेका छन्। अहिले पोथी बिक्री नगरी अण्डालाई ह्याचिङ गरी बचेरा निकाल्नका लागि तयारी गरिएको उनको भनाइ छ । उनले यो वर्ष  पोथी कालिज र चल्लाहरु एउटा पनि नबेच्ने र अर्को वर्ष धेरै बनाउने बताए। बजारमा माग त धेरै छ । तर, यो वर्ष पोथी कालिज र चल्ला एउटा पनि बेच्दिनँ,’ उनले भने।

IME Remittance