जनता जगाउँदै राजनीतिक नेतृत्वलाई खबरदारी

घोराही । दाङ जिल्ला उद्योग वाणिज्य संघको सभाहलमा स्रोता र दर्शकहरुको खचाखच उपस्थितिका बीच राष्ट्रका लागि संगीत अभियात्रा जनसांगीतिक प्रस्तुति सम्पन्न भएको छ । सांगीतिक माहोलका बीच वरिष्ठ जनवादी गीतकार एवं गायक जीवन शर्मासहित दर्जनबढी कलाकारहरुले विभिन्न गीतहरुमार्फत कम्युनिष्ट पार्टीका नेताहरुलाई जनतातर्फ फर्किएर एक ठाउँमा उभिन आग्रह गरे ।

कलाकारहरुले सामूहिकरुपमा ‘टुटफुट खण्डित कुरा नगर, आत्मसमर्पणको कुरा नगर, एक ढिक्का एकताको कुरा गर, वीरताको कुरा गर’ बोलको गीतमार्फत वामपन्थी राजनीतिक पार्टीहरु एक ठाउँमा उभिएको हेर्न चाहेको सन्देश दिएका थिए । कलाकारहरुले नेताहरुलाई टुटफुटमा नलाग्न र एकतावद्ध भई इमानदारिताका साथ देश र जनताको हितमा लाग्न आग्रह गर्दै प्रस्तुति राखिरहँदा दर्शकदीर्घाबाट उठेर धेरैले साथ दिएका थिए ।

जनवादी गीत संगीत लिएर देशव्यापी अभियात्रामा निस्किएका कलाकारहरुले क्रान्ति र परिवर्तनपछि नयाँ वर्ग जन्मेकोमा चिन्ता र आक्रोश व्यक्त गर्दै अझै क्रान्ति नसकिएको र अझ राम्रो व्यवस्था ल्याउन संघर्ष गर्नुपर्नेमा जोड दिए ।

वरिष्ठ जनवादी गायक जीवन शर्माले राष्ट्र संकटमा पर्न लागेको देखेर सांगीतिक यात्रा शुरु गर्नुपरेको बताउनुभयो । उहाँसहितका कलाकारहरुको टोलीले चिनियाँ सांस्कृतिक क्रान्तिको गीत ‘हाम्रो रातो लालटिन’ प्रस्तुत गर्दा दर्शकहरु उठेर गीत गाउँदै नाचेर हल गुञ्जायमान बनाएका थिए ।

सुकेर जाँदैन, रोकेर रोकिदैन…..

भारी बोक्ने खेतालाको यही हो जिन्दगानी….

झरनाको चिसो पानी………..

जीवन शर्माको सिमली छायाँमा बसी भरिया गीत गाउँदा दर्शकहरु उत्साहित देखिन्थे । यसैगरी जनवादी गायक उदय श्रेष्ठले गीतमार्फत कम्युनिष्ट आन्दोलनको टुटफुटप्रति चिन्ता व्यक्त गर्दै नेताहरुलाई फेरि सच्चिएर एकठाउँमा उभिन आग्रह गर्नुभयो । अर्का कलाकार उदय रिजालले वर्तमानप्रति असन्तुष्टि व्यक्त गर्दै शासकहरुप्रति व्यंग्य गर्नुभयो ।

लेकै फुल्यो लालिगुराँस बेशी सुनाखरी

शासनको रुप एउटै हो शासक आए थरीथरी

मुलुकमा अझै पनि छुवाछुतजन्य विभेद अन्त्य नभएको भन्दै अर्का कलाकार कर्ण विद्रोहीले यसरी गाउनुभयो–

ए राज्य भन तिमीले अझै के के गर्नुपर्छ

पानी चल्ने देश बनाउन अझै कति लड्नुपर्छ ? 

जनवादी गायक निलिमा पुनले गीतमार्फत आधा जनसंख्या ढाक्ने महिलाहरुको स्वाभिमान, पौरख र वीरताको गाथा गाउनुभयो । अर्का गायक चिरन सीले आस्थाको ज्योति बल्दैछ उज्यालो छरेर भन्दै क्रान्तिको दियो ननिभ्ने उद्घोष गर्नुभएको थियो । यसैगरी कुस्मिता दर्लामीले ‘ए हो माझी दाइ, छेउमै छ भुमरी डुंगा तर्काऊ है’ भनेर नेतृत्व सम्हालेका नेताहरुलाई खबरदारी गर्नुभयो ।

सांगीतिक कार्यक्रममा कलाकार नारायण शर्माको अभिनयजीवन्त रहेको थियो भने विभिन्न कलाकार गायकहरुले प्रस्तुति राख्नुभएको थियो । सो अवसरमा प्रगति महरा, लक्ष्मण पाख्रिन, मोहित श्रेष्ठलगायत सबैले दर्शकको मन जित्नुभएको थियो । कार्यक्रमको प्रारम्भमा जनवादी गायक तथा साहित्यकार मणि थापाले सत्तामा रहेका र बाहिर रहेका दलहरुबाट आधारभूत वर्गका जनता सन्तुष्ट नभएको बताउनुभयो । उहाँले जनता जगाउन नेतृत्ववर्गको बुद्धि फिराउन सांगीतिक यात्रा गर्नुपरेको बताउनुभयो ।

चैत ४ गते धनगढीबाट शुरु भएको वामपन्थी धाराका जनवादी कलाकारहरुको देशव्यापी अभियान राष्ट्रका लागि संगीत अभियात्रा विभिन्न ठाउँमा जनवादी सांस्कृतिक कार्यक्रम गर्दै वैशाख ५ गते काठमाडौं पुगेर सम्पन्न हुनेछ । कार्यक्रममा जनवादी गायक गीतकार चरन सिको जनवादी गीतहरुको लेखन तथा संकलन सपनाका यात्री पुस्तक विमोचन गरिएको थियो । नयाँ युगबाेध बाट साभार

IME Remittance